
मंगलवार , फाल्गुण २७, २०८१
भैरहवा, २७ फागुन । स्थानीय तहका उद्योग शाखामा काम गर्ने कर्मचारी तथा अन्य सरोकारवाला निकायहरुबीच सेवा प्रवाह सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख शारदा भट्टराईको अध्यक्षता, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्य तथा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण हित निर्देशनालयका निर्देशक कृष्ण प्रसाद गौतमको विशिष्ट आतिथ्यमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
स्थानीय तहका उद्योग शाखामा काम गर्ने कर्मचारी तथा अन्य सरोकारबाला निकायहरुबीच सेवा प्रवाह सबलीकरण सम्बन्धी अन्तक्रियामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले स्थानीय तहले गर्नुपर्ने काम कार्यविधि नबनेको कारण समस्या देखिएको र यस कार्यक्रमबाट कम गर्न सहजता आउने बताए । उनले स्थानीय पालिकाले उद्योग दर्ता गर्दा गर्ने उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताए । त्यस्तै प्रमुख चपाईले स्थानीय प्रदेश र संघको कर तिर्न ठाउँठाउँमा जाने समस्या भएको बताउदै एकीकृत कर लागू गर्नुपर्ने बताए ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, भैरहवा निर्देशक कृष्ण प्रसाद गौतमले प्रदेश स्थानीय र संघको नीति फरक रहेको भए पनि सहजीकरणबाट समस्या समाधानतर्फ लाग्नुपर्ने बताए ।
उक्त कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख शारदा भट्टराई, मायादेवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, भैरहवाका शाखा अधिकृत नारायण न्यौपानेले तीनवटा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यलयका वरिष्ठ उद्योग अधिकृत लोक कुमार कार्की, वरिष्ठ उद्योग अधिकृत मोहन परियारले सहभागीबाट उठेको सवालहरूको समाधान गरेका थिए । अन्तरक्रियामा विभिन्न स्थानीय तहको उद्योग शाखामा कार्यरत कर्मचारी तथा सम्बन्धित कार्यालयका प्रमुखहरुले धारणा राखेका थिए ।
वरिष्ठ उद्योग अधिकृत लोक कुमार कार्कीको स्वागत तथा उद्यम विकास सहजकर्ता अनन्त पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तीनै तहका सरकारका नीतिनियम फरकफरक रहेको र स्थानीय तहमा काम गर्न केही अलमल भएपछि यसलाई सहजीकरण गर्ने उद्देश्यका साथ घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले कार्यक्रम आयोजना गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij