
बुधवार , फाल्गुण २८, २०८१
बुटवल, २८ फागुन । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले दोस्रो चौमासिकसम्म नगरबासीलाई प्रदान गरेको सार्वजनिक सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । बुटवल–१५ सेमलारस्थित नवरत्न माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा उपमहानगरको कार्यसम्पादन, भौतिक पुर्वाधार विकास, योजना कार्यान्वयन, सुशासन प्रबद्र्धन लगायत विषयमा चर्चा गरिएको थियो ।
सार्वजनिक सुनुवाईमा सहभागीहरुले उपमहानगरपालिकाले साविकको सेमलार गावबसमा पर्ने वडाहरुलाई योजना तर्जुमा, बजेट बिनियोजन, भौतिक पूर्वाधार विकास लगायतका विषयमा उपेक्षा गरेको भन्दै गुनासो गरेका छन् । वडा नम्बर १४, १५ र १६ कृषि क्षेत्र भएकोले कृषि क्षेत्रमा राखेर विकास गर्नुपर्ने धारणा राख्दै कार्यक्रममा सहभागी स्थानीयहरुले आवास क्षेत्रका रुपमा लिइएको कर हटाउन माग गरेका छन् ।
भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगार, सुकुम्बासी समस्या समाधान र सार्वजनिक सम्पत्ति संरक्षण लगाएतका विषयमा पनि चासो राख्दै मानव संसाधन विकासको आवश्यकतामा उनीहरुले जोड दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले स्थानीयको माग र स्थानीयस्तरमा आवश्यकता हेरेर मात्र विकासका योजना छनौट र बजेट विनियोजन गरिएको बताए । समग्र भौतिक पुर्वाधारका साथै उज्यालो शहर, हरियाली प्रवद्र्धन, छाडा चौपाया व्यवस्थापन, कृषि उत्पादनमा अनुदान लगायतका विषयमा भएका कार्यप्रगति उल्लेख गर्दै नगरप्रमुख पाण्डेयले योजना कार्यान्वयनका बारेमा उपमहानगर तदारुकताका साथ अघि बढिरहेको बताए ।
शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड दिदै प्रमुख पाण्डेयले उपमहानगरको समग्र विकासमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको र सिंचाईं, बिउ मल, उत्पादनमा अनुदान लगायतका असल अभ्यासको थालनी गरिएको उल्लेख गरे ।
उपप्रमुख सावित्रा देवी अर्यालले बुटवललाई समृद्ध बनाउन उपमहानगरपालिका कार्यालयले भौतिक पूर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएर अघि बढेको जानकारी दिइन् । विकास निर्माणका साथै नगरमा थुप्रै समस्या रहेकोले क्रमशः समाधान गर्दै जाने भन्दै उपप्रमुख अर्यालले लक्षित समुदायको विकास र सुशासन प्रबद्र्धनलाई पनि नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दावी गरिन् ।
नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष महेन्द्र भुसाल, नेकपा (एमाले) का नगर सचिव दिनानाथ भङ्गराई, जनमुक्ति पार्टीका अध्यक्ष भेकबहादुर थापा, नेकपा बहुमतका अध्यक्ष बिरु थापा लगायतले उपमहानगरपालिकाले गरेका गतिविधिहरु सकारात्मक रहेको बताए । यद्यपी जनमुखी योजना र कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिँदै पक्षपात नगरी समग्र नगरबासीको हितमा काम गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा सहजीकरण गर्दै पत्रकार हरिश ढकालले नागरिक मत—अभिमत सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार सुरेश परियारले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij