
बिहिवार , फाल्गुण २९, २०८१
बुटवल, २९ फागुन । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर १ क्षेत्रीय समितिले वडा, पालिका, प्रदेश क्षेत्रीय समिति र क्षेत्रीय समितिको सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टीको क्षेत्रीय समिति मातहतका समितिका सम्मेलनहरु सभ्य र भव्य रुपमा सम्पन्न गर्ने गरी तालिका बनाउन बसेको क्षेत्रीय समितिको बैठकले क्रियाशील नविकरणको मिति समेत टुंगाएको क्षेत्रीय सभापति हिरा बहादुर खत्रीले जानकारी दिए ।
सभापति खत्रीका अनुसार निर्धारित समयमै वडा सम्मेलन र पालिका सम्पन्न गरेका रोहिणी गाउँ समिति र ओमसतिया गाउँ समितिलाई बधाई दिदै अन्यको मिति समेत सार्वजनिक गरिएको छ । त्यस्तै क्रियाशील सदस्यता नविकरणका लागि क्षेत्र मातहत रहेका हरेक वडाले यही चैत ७ गतेभित्र, पालिकाले ११ गतेभित्र, प्रदेश क्षेत्रीय समितिले १६ गतेभित्र र क्षेत्रीय समितिले २५ गतेभित्र आफूभन्दा माथिल्लो निकायमा बुझाउने गरी निर्णय गरिएको सभापति खत्रीले बताए । उनले पार्टीको विधान अनुरुप सम्पन्न गर्नुपर्ने सम्मेलन चैत ९ गतेभित्र पालिका र मातहत रहेका सबै वडा, चैत १६ गतेभित्र प्रदेश क्षेत्रीय समिति र चैत २३ गतेभित्र क्षेत्रीय समितिको सम्मेलन्न सम्पन्न गर्नुपर्ने बताए ।
बैठकमा काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले नेतृत्व गरेको तिलोत्तमा नगर सरसफाई र हरियाली प्रवद्र्धनमा नागरिक सहभागीताको असल अभ्यासमा विश्वमै ४० औं उत्कृष्ट पालिका हुन सफल भएकोमा क्षेत्रीय समितिले बधाई तथा शुभकामना व्यक्त गरेको छ । क्षेत्रीय समितिले तोकिएको मितिमा क्षेत्रीय समिति मातहतका सबै समितिहरुले बैठकहरु र सम्मेलन सम्पन्न गर्न आग्रह समेत गरेको छ ।
बैठकमा काँग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाकले पछिल्लो घटना क्रमले धमिलो पानीमा माछा मार्न खोज्नेहरु सक्रिय हुन खोजेको उल्लेख गरे । उनले यस्तो अवस्थामा काँग्रेस र काँग्रेसका सदस्यले थप संगठित भएर काम गर्नुपर्ने बताए । उनले क्षेत्रीय समितिको निर्णयले तोकेको समयसीमाभित्र क्रियाशील सदस्यता नविकरण र विधानबमोजिम सम्पन्न गर्नपर्ने सम्मेलन सम्पन्न गर्न समेत निर्देशन दिए ।
बैठकमा पार्टीको जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले काँग्रेसलाई सबैको पार्टी बनाउन आवश्यक भएकाले तल्लो तहसम्मका क्रियाशिल सदस्यको मन जित्ने गरी काम गर्न सुझाव दिए । काँग्रेसले नागरिकको भावना बुझ्न सक्ने भएकाले पार्टीको मर्म र भावनाअनुसार काम गर्न क्षेत्रीय, नगर र वडा सभापतिहरुलाई आग्रह गरे ।
बैठकमा काँग्रेस जिल्ला सह–सचिव बासुदेव रिमाल, जिल्ला सदस्य डिल्लीराज मरासिनी, नेता विश्वनाथ यादव, तिलोत्तमा नगर सभापति हरीलाल पाण्डे, देवदह नगर उपसभापति अमर लामिछाने, रोहिणी सभापति पारसनाथ योगी, ओमसतिया सभापति भगवान प्रसाद चौधरी, जिल्ला सहसचिब बासुदेव रिमाल लगायतले पार्टीलाई अझ मजबुत बनाउनु आजको आवश्यकता रहेको उल्लेख गरे । क्षेत्रीय समितिले तोकेको मितिमै मातहतका समितिले निर्वाचन सम्पन्न गर्न नेताहरुले आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij