
शुक्रवार , फाल्गुण ३०, २०८१
बुटवल, १ चैत । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा सार्वजनिक सुनुवाईसम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा मिसन लुम्बिनी मिडिया प्रा.लि.को सहकार्यमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहीमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५, मानपकडीमा सम्पन्न भएको हो । कार्यक्रममा सहभागी स्थानीय र सरोकारवालाहरुले सेवा प्रवाह र विकास निर्माणमा चासो राखेका थिए ।
सरोकारवालाहरुले गाउँपालिकामा अझै कृषि, सडक, सिंचाई कुलो, सुकुम्बासी समस्या जस्ता विषयमा गम्भीर भएर लाग्नुपर्ने सुझाएका थिए । उनीहरुले भौतिक निर्माणको गुणस्तरीयता, विद्यालय र शिक्षकको सुधार गरी शिक्षामा परिवर्तन, शान्ति सुरक्षा, स्वास्थ्य चौकीमा कर्मचारी र डाक्टरको नियमित उपस्थिति नहुनु, नदीजन्य पदार्थ उत्खनन्बाट हुने आम्दानीबारे स्थानीयहरुलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी निर बहादुर राना मगरले पालिकाका केही स्थानमा जंगली जनावर, छाडा चौपायाका कारण बालीनालीमा क्षति पुर्याएकाले नियन्त्रण गर्नुपर्ने, सवारीमा नबुझिने नम्बर प्लेट राखेर चलाउने, सार्वजनिक जग्गा र भवनको संरक्षण, प्लाष्टिक मुक्त पालिका बनाएर फाइवर उद्योगमा जोड दिएर स्वास्थ्य र वातावरणमैत्री गर्नुपर्ने सुझाव दिए ।
त्यस्तै रंगप्रसाद न्यौपानेले युवा जनशक्तिलाई पलायनबाट रोक्न युवा उद्यमशीलता र सहुलियत कर्जा प्रवाहका लागि कार्यक्रम र समन्वय पालिकाले नगरेकाले त्यतातिर ध्यानदिन आग्रह गरे । स्थानीय गोविन्द चौधरीले पालिकाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पुँजीगत खर्च हुन नसकेकोमा प्रश्न गरेका थिए । चौधरीले बजेटलाई सदुपयोग गर्न विकास निर्माणमा जोड दिनुपर्ने जिकिर गरे ।
कृष्ण डुम्रेले विगतमा सोधिएका प्रश्न र गरिएका वाचा पूरा नभएको आरोप लगाउँदै पालिकामा शैक्षिक बेरोजगार संख्याको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए । कार्यक्रममा बौद्धलाल शर्मा, बलराम कँडेल, पुन्यराम गौतम, विष्णु प्रसाल चापागाई, छविलाल क्षेत्री, पुर्ण गिरी, छविलाल शर्मा, उक्ति रसाइली, तैलेश्वर लोम, बुद्धिबहादुर बगाले लगायतले विभिन्न समस्याहरु र समाधानका विषयमा औल्याएका थिए ।
सहभागीहरुले राखेका जिज्ञासाहरुका विषयमा शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीे, प्रवक्ता केशव प्रसाद अधिकारी लगायतले जवाफ दिदै नमुना गाउँपालिकाको रुपमा विकास गराउन विभिन्न किसिमका योजनाहरु सञ्चालन र निर्माण भइरहेका योजनाहरुमा सबै नागरिकहरु समेत आ–आफनो तर्फबाट जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रम पालिका अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षता तथा उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij