
शनिवार , चैत्र १, २०८१
भैरहवा, २ चैत । पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लले देशको आर्थिक स्थिति सुधार्न सबै आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिएका छन् । उनले सबै एकजुट भएर नलागेसम्म यो विकराल समस्याको समाधान हुन नसक्ने जिकिर गरे ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीले भैरहवामा आयोजना गरेको होली मिलन तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्री शुक्लले देशलाई भ्रष्टाचारबाट बचाउनुपर्ने बताए । ‘भ्रष्टाचार रोक्न आत्मकेन्द्रीत हुनुभन्दा राष्ट्रकेन्द्रीत हुनलाई नेताहरुलाई दबाब दिऔं’ उनले भने–‘जनताको जागरुकता बढाउनुपर्छ ।’
यथेष्ट प्रयास हुँदाहुँदै पनि विभिन्न तहमा भएका चुहावट र भ्रष्टाचारका कारण देश अघि बढ्न नसकेको उनको भनाइ छ । बाहिरबाट लगानी भित्र्याउन सरकारले धेरै प्रयास गरे पनि किन अगाडि बढ्न सकेन भन्ने मूल प्रश्न भएको उनले बताए ।
‘कोभिडपछि देश आर्थिक संकटमा छ । किन हाम्रो आर्थिक स्थिति माथि बढ्न सकेको छैन ? नेपाल किन ग्रे लिस्टमा पर्यो ? उनले भने–‘भ्रष्टाचार नियन्त्रण नहुँदासम्म देश यही कछुवा गतिमा अघि बढ्छ ।’
रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका नेता शुक्लले देशको संकट सबैको सामूहिक समस्या भएको बताए । उनले स्थानीय सरकारमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न संयन्त्र बनाउनुपर्ने बताए । ‘भ्रष्टाचारसम्बन्धि मुद्दा हेर्ने अख्तियार छ । तर, यस्ता जिल्ला पनि छन् जहाँबाट एकै महिनामा ८–१० हजार उजुरी अख्तियारमा पर्छन् । अख्तियारले पनि कसरी सबै मुद्दा फर्छयौट गर्न सक्छ ? यसका लागि संयन्त्र बनाउनुपर्छ । उनले भने–‘यसो भनिरहदा माथि दुई तहका सरकार बहुतै पवित्र छ भनेको होइन ।’
उनले भ्रष्टाचार गर्दैनौं, नियन्त्रण गर्छौं, शून्य सहनशीलता अपनाउँछौं जस्ता प्रतिवद्धता बारम्बार आए पनि परिणाम भने नआएको बताए । नेता शुक्लले होली पर्वले विविधिताको रंगलाई समेट्ने गरेको बताए । उनले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक मुलुक भएकाले पनि होली नेपालीका लागि महत्वपूर्ण पर्व भएको बताए ।
त्यस्तै पूर्व गृहमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले होली मिलन भनेकै मिल्नु भएको बताए । उनले भने–‘सबै कुरा हुँदैहुँदै हामी चिन्तित छौं ।’
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरी, हेमा बेल्बासे के.सी., रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद् सदस्य राजेश महोत्रा, नेकपा (एमाले) रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, संघकी कार्यसमिति सदस्य मीना पन्थी, बह्माकुमारी ईश्वरी विश्विद्यालयकी क्षेत्रीय प्रमुख शान्ति सुवेदी, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना लगायतले भनाइ राखेका थिए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षता, पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक एवं क्लबका सचिव शशि पन्थीको स्वागत तथा महासचिव प्रकाश न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij