२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मुख्यमन्त्री कप भलिबल प्रतियोगिताले अर्घाखाँचीमा थप्यो उत्साह

बिहिवार , चैत्र ६, २०८१

अर्घाखाँची, ७ चैत । अर्घाखाँचीको सन्धिखर्कस्थित टुडिखेलमा यतिबेला दर्शकको घुइँचो लागेको छ । बजारमा बेग्लै चहलपहल देखिन्छ । गाउँगाउँबाट दर्शकहरू सन्धिखर्कतर्फ आकर्षित भएका छन् । अहिले सन्धिखर्कमा एक विशेष उत्सवको माहोल छ, जसलाई मुख्यमन्त्री कप भलिबल प्रतियोगिताले अझ रोमाञ्चक बनाएको छ ।

खचाखच भरिएको टुडिखेलले खेलप्रेमीहरूलाई मात्र नभइ व्यवसायीहरूलाई पनि उत्साहित बनाएको छ । प्रतियोगिताले स्थानीय व्यापार प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पारेको छ  । उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदीप मिश्रका अनुसार, यसअघि बजार केही सुस्त थियो । तर, प्रतियोगिताका कारण चहलपहल बढेको छ । यस्ता प्रतियोगिताहरू नियमित रूपमा आयोजना गरिदा व्यापार व्यवसायमा उत्साह थपिएको छ । यस्तै यातायात क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको लंका यातायात प्रा.लि.का अध्यक्ष कृष्णबहादुर भुसालले बताए । उनका अनुसार गाउँबाट शहर आउने र शहरबाट गाउँ फिर्ता हुने यात्रुले गर्दा व्यवसायमा समेत वृद्धि भएको छ । 

खेलमैदान वरपर विभिन्न व्यापारिक गतिविधि सञ्चालनमा आएका छन् । स्थानीय उद्यमीहरूले आफ्ना उत्पादन विक्री–वितरण गर्ने अवसर पाएका छन् । प्रतियोगिताले खेल क्षेत्रलाई मात्र नभइ अन्य क्षेत्रहरूलाई पनि प्रत्यक्ष रूपमा लाभ पुर्याएको मुख्यमन्त्रीका स्वकीय अधिकृत प्रदीप नेपालीले बताए । उनका अनुसार यो प्रतियोगिताले खेलाडी, स्थानीय उद्यमी, व्यवसायी तथा निजी क्षेत्रका व्यक्तिहरूमा नयाँ उर्जा भरेको छ ।

WhatsApp Image 2025-03-20 at 5.08.55 PM (1).jpeg

चैत ५ गतेदेखि सुरु भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा ११ जिल्लाका खेलाडीहरूले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ । द्वितीय हुने टोलीले ६५ हजार, तृतीय हुनेले ३५ हजार र सान्त्वना पुरस्कारस्वरूप १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, उत्कृष्ट ६ विधाका खेलाडीहरूले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताले स्थानीय तहमा खेलप्रतिको जागरूकता बढाउनुका साथै खेलाडीहरूलाई नयाँ अवसर प्रदान गरेको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले बताए । प्रतियोगिताको लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तथा सरकारका प्रवक्ता दिनेश पन्थीले उद्घाटन गरेका थिए ।

WhatsApp Image 2025-03-20 at 5.08.54 PM.jpeg