२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देही घरजग्गा व्यवसायी संघको तेस्रो साधारणसभा तथा अधिवेशन हुँदै

शुक्रवार , चैत्र ७, २०८१

भैरहवा, ८ चैत । रुपन्देहीमा घरजग्गा व्यवसायीहरु भेला हुने भएका छन् । घरजग्गा कारोबारमा विगत केही वर्षयता आएको मन्दीका कारण व्यवसाय नै संकटमा परेको बेला घरजग्गा व्यवसायी तथा लगानीकर्ताहरुको जमघट भैरहवामा हुन लागेको हो ।

रुपन्देही घरजग्गा व्यवसायी संघको तेस्रो साधारणसभा तथा अधिवेशन यही चैत ९ गते शनिबार (भोली) भैरहवामा हुँदैछ । संघले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी रुपन्देहीमा लगानी गर्न चाहने घरजग्गा व्यवसायी र लगानीकर्ता भैरहवा आउन लागेको जानकारी दिएको छ ।

संघका अध्यक्ष दशरथ पौडेलले रुपन्देही र जिल्ला बाहिरका गरी २ सय २५ जना बढी घरजग्गा व्यवसायी साधारणसभामा आउन लागेको जानकारी दिए । भैरहवास्थित सिद्धार्थ भिलासामा संघको साधारण सभा तथा अधिवेशन हुँदैछ । ‘यो साधारणसभा तथा अधिवेशनले रुपन्देही लगानीका लागि उत्कृष्ट जिल्ला हो भन्ने मुलुकभर सन्देश समेत दिनेछ’, अध्यक्ष पौडेलले भने, ‘यही कारण पनि हामीले ठूला लगानीकर्ताहरुलाई जमघट गराउने प्रयास गरेका छौं ।’

रुपन्देहीमा लगानीको वातावरण बनाउन सम्मेलन आयोजना गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । शिक्षा, स्वास्थ्य, उद्योग–व्यवसाय, कृषि, पर्यटन लगायत क्षेत्रमा रुपन्देही लगानीयोग्य जिल्ला भएको बताउँदै पौडेलले भने–‘विगतको इतिहासले रुपन्देहीमा गरिएको लगानी खेर जाँदैन भन्ने प्रमाणित गरेको छ । पछिल्लो समय आर्थिक मन्दीले अर्थतन्त्रमा केही सिथिलता देखिएकाले चिन्ता बढेको तर, प्रशस्तै सम्भावना भएको जिल्ला भएकाले यहाँ गरिएको लगानीले प्रतिफल दिन्छ र दिदै आएको छ ।’

उनले आफूहरुले साधारणसभामा सहभागी ठूला लगानीकर्ताहरुलाई रुपन्देहीमा आएर लगानी गर्न आग्रह गर्ने जनाए । ‘लगानीकर्ताहरुलाई यहाँको सम्भावना, वस्तुस्थिति र लगानीयोग्य क्षेत्रबारे जानकारी दिन्छौं’, उनले भने, ‘यसले पक्कै पनि जिल्लामा लगानी भित्राउन टेवा पुग्नेछ ।’ पौडेलले घरजग्गाको कारोबार बढ्दा रोजगारी वृद्धि हुने, राजस्व वृद्धि हुने, बजार चलायमान हुने र विस्तारै यसले मुलुकको आर्थिक मन्दीलाई गतिशिल बनाउने दावी गरे ।

उनले पछिल्लो समय सरकारी नीतिले लगानीको वातावरण बन्न नसकेको जनाए । ‘यो कुरा अहिले आएर सरकारले बुझेको हामीले महसुस गरेका छौं’, उनले भने, ‘अहिलेको मन्दी धेरै रहँदैन । सरकारी नीति पनि परिवर्तन हुन्छ । अब, बजार चलायमान बन्छ ।’ उनले स्थानीय सरकारले समेत जग्गा वगीकरण गर्न नसक्दा समस्या भएको जनाए । 

घरजग्गा व्यवसायी चन्द्रमणि अधिकारी (रामु) ले राज्यले लगानीको वातावरण बनाउन नसकेको बताए । उनले निजी क्षेत्रबाट लगानी भित्र्याउन प्रयास भए पनि सरकारी नीति नियमले केही उल्झनहरु आइरहेको जनाए । उनले आफूहरुको उद्देश्य रुपन्देहीलाई शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग लगायत क्षेत्रमा अब्बल बनाउने रहेको जनाए । ‘अब हामीले १० धुर प्लटिङ गरेर बेच्ने होइन्, कम्तीमा पाँच–सात सय विघा प्लटिङ गरेर बेच्ने हो । देश–विदेशका लगानीकर्तालाई रुपन्देहीमा लगानी गर्न प्रोत्साहन गर्ने हो’, उनले भने, ‘यसका लागि संघले काम गर्नेछ । अब, रुपन्देही चलायमान हुन्छ र हुनुपर्छ ।’

रुपन्देहीमा घरजग्गा व्यवसायी संघ सिद्धार्थनगरका धिरज घिमिरेले कोरोनापछि महंगी बढ्नुपर्नेमा अर्थतन्त्र सिथिल बनेको भन्दै यसमा राज्यको कमजोरी रहेको बताए । ‘राज्यले पटकपटक विभिन्न क्षेत्रहरुलाई निषेध गर्दै गएको अवस्था छ । विगतदेखि हेर्यौ भने कहिले गिटी–बालुवा निकासी बन्द गर्छ, कहिले वनमा काठ निकासी रोक्छ, कहिले मुलुक रहेका सरकारी लगानीका उद्योगधन्दा बन्द गर्छ’, उनले भने, ‘पछिल्लो समय कित्ताकाट रोक्यो । यसले अर्थतन्त्रमा नराम्रो प्रभाव पार्यो ।’ उनले लाइसेन्स वितरणदेखि हरेक कुरामा सरकारले प्रष्ट नीति नल्याउँदा वर्तमान अवस्था आएको जनाए । घिमिरेले अहिले कित्ताकाट खोले पनि नीति सही नभएको बताए ।

उनले तीन तहका सरकारले जग्गाको वर्गीकरण गर्न नसकेको जनाउँदै यसमा ध्यान दिनुपर्ने बताए । लगानीमैत्री वातावरण बनाउन आफूहरुले निरन्तर प्रयास गरिरहेको घिमिरेको भनाइ छ । संघका अनुसार साधारण सभा तथा अधिवेशनमा रुपन्देही बाहिरका २५ जना ठूला लगानीकर्ताहरु आउँदैछन् । यसमा विनोद चौधरीदेखि दीपक महलोत्रासम्म छन् । यस्तै, काठमाडौं, पोखरा, चितवन, हेटौंडा, वीरगंज, विराटनगरसम्मबाट लगानीकर्ता आउनेछन् । साधारण तथा अधिवेशनको प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्ने आयोजकले जनाएका छन् ।

त्यस्तै जिल्लाभित्रका २ सय घरजग्गा कारोबारमा संलग्न व्यवसायी सहभागी हुनेछन् । रुपन्देहीमा लगानीको वातावरण बनाउनु र लगानी भित्र्याउनु आफूहरुको उद्देश्य रहेको संघले जनाएको छ । संघले घरजग्गा कारोबार गर्ने सबै व्यवसायी दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरेको छ । 

संघका अनुसार जिल्लामा घरजग्गामा खर्ब बढी लगानी छ । १ सय बढी रियल स्टेट कम्पनी दर्ता भएर व्यवसाय गर्दै आएका छन् । साधारणसभा तथा अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । कार्यक्रममा रुपन्देहीको सम्भावना र लगानीयोग्य क्षेत्रबारे वृत्तचित्र (डकुमेन्ट्री) प्रस्तुतीकरण समेत गरिनेछ