
आइतवार , चैत्र ९, २०८१
भैरहवा, १० चैत । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र लायन्स क्लब अफ सिद्धार्थनगरबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले यो सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।
लायन्स क्लब अफ सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका पाष्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले सिद्धार्थ उवासंघको नेतृत्व लिनु चानचुने कुरा नभएको बताए । ‘नेत्रजी मनको धनी हुनुहुन्छ, उहाँको संघमा धेरै योगदान छ’न्यौपानेले भने–संघले उर्जावान नेतृत्व पाएको छ । यस्तो अध्यक्षको सल्लाहकार हुनुमा गर्वको अनुभुति भएको छ ।’ संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका आचार्यले आफ्नो कार्यकाललाई उर्जावान र ऐतिहासिक बनाउनुपर्नेमा उनले जोड दिए । उनले लायन्समा जोडिदा नेतृत्व र व्यक्तित्व क्षमताको विकास हुने बताए । लायन्स क्लबले समाजमा रहेका कम भाग्यशालीलाई सहयोग गर्दै आएको उनको भनाइ छ ।
त्यस्तै सिद्धार्थ उवासंघका अध्यक्ष नेत्र प्रसाद आचार्यले संघको २२ औं अध्यक्षको रुपमा आफूले नेतृत्व गर्ने अवसर पाएको बताए । उनले नेतृत्व तथा व्यक्तित्व क्षमताको विकासका लागि लायन्स, जेसीज लगायतका संस्थामा जोडिनुपर्ने बताए ।
‘सिद्धार्थ उवासंघले सधै उद्योगी–व्यवसायीको पक्षमा लबिङ गर्दै आएको छ, उनले भने–‘पहिला श्रमिक र विद्यार्थी विदेश जाने गरेकोमा अहिले उद्योगी–व्यवसायी समेत विदेश पलायन हुने अवस्थामा छन् । पलायन हुन नदिन युवा शक्तिलाई स्वदेशमै रोजगारी दिन आवान उठाउँछौं ।’
लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष समेत रहेका आचार्यले सिउवासंघ र लायन्स सिद्धार्थनगरबीच नङ र मासुको सम्बन्ध रहेको बताए । उनले अहिले संघको कार्यसमितिमा निर्वाचित लायन्स सिद्धार्थनगरमा आबद्ध धेरै सदस्यहरु रहेको बताए । ‘सिउवासंघ निजी क्षेत्रको संस्था हो’उनले भने–‘यसले उद्योग–व्यवसाय क्षेत्रमा देखिएका समस्याकोे समाधानका लागि पहल गर्दै आएको छ ।’
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष अर्जुन पौडेलले आर्थिक मन्दीको समस्या समाधान गर्दै बजारलाई चलायमान बनाउन पहल गर्नुपर्ने बताए । उनले मेडिकल टुरिजम र एजुकेशन टुरिजमलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘भैरहवा क्षेत्र यसका लागि सक्षम छ’उनले भने–‘यसतर्फ हामी सबैले ध्यान दिनुपर्छ ।’
उद्योगी तथा लायन्स क्लब अफ सिद्धार्थनगरका संस्थापक सदस्य नारायण प्रसाद अग्रवालले पर्यटन क्षेत्रको विकासका लागि धेरै भन्दा धेरै पर्यटक भित्र्याउने वातावरण बनाउनुपर्ने बताए । उद्योग–व्यापारको स्थिति नाजुक छ’अग्रवालले भने–‘यस्तो अवस्थामा सरकारलाई झकझकाउनुपर्छ । सिउवासंघको भूमिका महत्वपूर्ण छ ।’
लायन्स सिद्धार्थनगरका प्रथम उपाध्यक्ष धर्मराज आचार्यले लायन्स सिद्धार्थनगर र सिउवासंघको कार्यालय नजिक भए जस्तै दुवै संस्थाबीच पनि नङ र मासुको सम्बन्ध रहेको बताए । दुवै संस्थाको आफ्नै इतिहास रहेको बताए ।
लायन्स सिद्धार्थनगरका सचिव तथा सिउवासंघका कार्यसमिति सदस्य कमल ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सिउवासंघका वाणिज्य उपाध्यक्ष हरि बहादुर थापाले लायन्स सिद्धार्थनगरको सदस्यता लिनुभएको क्लबका द्वितीय उपाध्यक्ष उमेश थापा लाटोमगरले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij