२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राजनीतिमा युवाहरूको बढ्दो चासो

आइतवार , चैत्र ९, २०८१

युवा र राजनीति एक–अर्काका परिपूरक हुन् । युवा बिनाको राजनीति सम्भव छैन । जसलाई विगतदेखि वर्तमानसम्मका विभिन्न राजनीतिक घटनाक्रमहरुले थप पुष्टी गर्छ । नेपालको राजनीतिक परिवेशलाई हेर्ने हो भने केन्द्रिय राजनीतिमा पुरानै पुस्ताको बर्चस्व देखिन्छ । तर, पनि पछिल्लो समय युवाहरु नेतृत्व तहमा पुगेका छन् । स्थानीय, प्रदेश र संघका विभिन्न पदहरुमा युवाहरुको प्रतिनिधित्व बढिरहेको छ ।

राजनीतिक दलहरुले युवाहरुलाई नेतृत्व दिनुपर्छ भन्ने कुराको जोडदार रुपमा बेलाबेलामा बहसको विषय हुने गरेको छ । जसलाई पछिल्लो आम निर्वाचनले थप पुष्टी गरेको छ । गत निर्वाचनमा पनि अधिकांश युवा उम्मेदवारहरु निर्वाचित भए । राजनीतिक दलले युवाहरुलाई उम्मेदवार बनाउनु र निर्वाचित हुनु केवल संयोग मात्र होइन । यो आवश्यकता पनि हो । नेपालको राजनीतिमा युवाहरुको आकर्षण बढ्नु नै आवश्यकता हो । यथार्थमा भन्नुपर्दा राजनीतिप्रति युवाहरुमा देखिएको वितृष्णालाई हटाउनकै लागि पनि प्रोत्साहनको जरुरी छ । पार्टी नेतृत्व र जनताबीच जोड्ने पुलको काम युवाहरुले नै गर्ने गरेका छन् । भोलीको असल नेतृत्वका लागि आजैदेखि तयारी गर्नुपर्छ । यसर्थ पनि युवा र राजनीति भनेको देश विकासको लागि अपरिहार्य आवश्यकता हो ।

नेतृत्व हस्तान्तरण र पुस्ता हस्तान्तरण 
कुनै पनि नेतृत्व एकैपटक प्राप्त हुने र अकस्मात प्राप्त हुने होइन । यो सम्भव पनि हँुदैन ।  आम जनताको भावना र देशको आवश्यकता अनुसार नेतृत्व तयार हुनुपर्छ । नेतृत्व तयार गर्नका लागि राजनीतिक दलहरुले विभिन्न किसिमका सांगठनिक कार्यहरु गर्दै आइरहेका छन् । विभिन्न भातृ संगठन निर्माण, पार्टी संगठन (संरचना) निर्माण र सदस्यता वृद्धिका कार्यहरुले दलको कार्यकुशलतालाई इंगित गर्छ । पदकै लागि पार्टी खोल्ने र आफ्नो चाहना पूरा हुदाँ वा नहँुदा बाहिरिने प्रवृति केही राजनीतिक दलका नेतृत्वहरुमा देखिन्छ, वास्तवमा यो प्रवृति गलत हो । संगठनले सक्षम नेतृत्व खोजीरहेको हुन्छ । राजनीतिमा युवाहरुको नेतृत्व हस्तान्तरणको दृष्टिले हेर्दा पुस्ता हस्तान्तरणको संकेतको रुपमा पनि लिन सकिन्छ । यतिबेला विश्व जगत शिक्षा र प्रविधिको युगमा अगाडी बढेको छ । यो प्रतिष्पर्धाको युग हो । प्रतिष्पर्धाका लागि नयाँ सोच, नयाँ ज्ञान र नयाँ नेतृत्वको आवश्यकता छ । यसर्थमा पनि युवा वर्गको सोच, ज्ञान र उर्जालाई सही रुपमा परिचालन गर्नका लागि अहिलेको राजनैतिक नेतृत्वले अहम भूमिका खेल्नुपर्छ ।

राजनीतिमा मेरो यात्रा
विद्यार्थीकालदेखि नै मेरो राजनीतिप्रति एक प्रकारको उत्साह थियो । राजनीतिप्रति उत्सुकताका कारण नै म राजनीतिक धारमा आउन पे्ररित भए । अग्रजहरुको प्रेरणा, सहयोग र मेरो निरन्तरताका कारण अहिले म राजनीतिको एक सदस्यको रुपमा रहेको छु । वि.सं. २०६६ सालदेखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा आबद्ध भइ २०७२ सालमा पार्टीको सदस्यता लिएर राजनीतिमा पाइला चालेको हँु । २०७४ सालमा मदन भण्डारी स्पोटर््स् एकेडेमी सिद्धार्थनगरको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाले । त्यस्तै २०७८ सालमा एमाले सिद्धार्थनगर नगर कमिटीको सदस्य, दोस्रोपटक २०८१ सालमा नगर कमिटी सदस्यमा पुनः निर्वाचित भइ युवा इञ्चार्जको जिम्मेवारी सम्हालिरहेको छु ।

नेकपा एमालेप्रति युवाहरुको आकर्षण
राजनीतिप्रति युवाहरुको चासो बढ्दै जाँदा नेकपा एमालेप्रति युवाहरुको चासो झन् बढ्दै गएको मैले पाएको छु । पार्टीका विभिन्न कार्यक्रमहरुमा युवाहरु पार्टी प्रवेश गर्नुले पनि यसलाई थप पुष्टी गरेको छ । हालै मात्र सिद्धार्थनगर नगर कमिटीको पूर्ण बैठकमा पार्टी प्रवेश गर्नेहरुमध्ये अधिकांश युवाहरु नै थिए । जसमा केही अन्य पार्टी परित्याग गरि आएका थिए भने कोही नयाँ सदस्यहरु थिए । एमालेको युवा, विद्यार्थी, जनसंगठन, महिला र खेलाडीहरुमा युवाहरुको आकर्षण बढ्दो रहेको मैले पाएको छु । पार्टीले विकास, खेलकुद लगायत युवाहरुको मुद्वालाई बोकेको भएर पनि एमालेप्रति युवाहरु आबद्ध भएको अनौपचारिक छलफल र औपचारिक कार्यक्रममा पनि उनीहरुले बताउने गरेका छन् । वास्तवमा युवा परिचालनका लागि एमालेले गर्ने हरेक क्रियाकलाप सराहनीय नै छ ।

आम युवामा अपिल
अहिलेको अवस्थामा आम युवाहरुमा राजनीतिक ज्ञानको आवश्यकता छ । राजनीतिक ज्ञान युवाको लागि अपरिहार्य पनि हो । देश विकासमा युवाहरुको योगदान जति छ त्यति नै उनीहरुमा राजनीतिक ज्ञानको आवश्यकता पनि छ । बढ्दो प्रविधि र विकासका लागि पनि हरेक क्षेत्रमा युवा वर्गको प्रतिनिधित्व हुनु जरुरी छ । विश्व परिवेशमा नयाँनयाँ खोज, आविष्कारहरु भइरहेका छन् । ती सबै कुराहरुको अध्ययन, अनुसन्धानमा युवाहरुले ठूलो योगदान दिन सक्छन् । युवाहरुलाई सैद्वान्तिक ज्ञान मात्र होइन व्यवहारिक ज्ञानको पनि उत्तिकै आवश्यकता छ । कुनै पनि देशको विकासका लागि राजनीतिक विकास हुन जरुरी छ । असल राजनीतिज्ञले नै विश्व सामु प्रतिष्पर्धा गर्न सक्दछ । यसर्थमा पनि आजका आम युवाहरुको उत्तिकै ज्ञान, सीप र अनुभवको आवश्यकता हुन्छ । राजनीतिमा लाग्ने व्यक्तिले केही ज्ञान र अनुभव राजनीतिबाट पनि लिन सक्छ ।

अन्तमा,  देशका आम युवाहरुमा राजनीतिप्रति बढेको वितृष्णालाई हटाउनकै लागि पनि आम युवाहरुले राजनीतिक ज्ञान लिनु आवश्यक छ । हल्लैहल्ला र अल्पज्ञानको पछि लाग्दा राम्रो भन्दा पनि नराम्रो नतिजा दिन सक्छ । क्षणिक रुपमा होइन युवाहरु पूर्ण रुपमा राजनीतिमा सक्षम हुनु अहिलेको आवश्यकता हो । 
(न्यौपाने नेकपा एमाले सिद्धार्थनगर कमिटी सदस्य तथा नगर युवा इञ्चार्ज हुन् ।)