
मंगलवार , चैत्र ११, २०८१
काठमाडौं, १२ चैत । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च वृद्धिका लागि प्रो- एक्टिभ भएर लाग्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।
‘अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको सुरुदेखि नै गर्नुपर्ने काम र सहजीकरण गरेको छ । विषयगत मन्त्रालयहरु पनि प्रो एक्टिभ रुपमा प्रस्तुत हुनुहोस्, अर्थमन्त्री पौडेलले भने–स्रोतको व्यवस्थापन र सहजीकरण अर्थले गर्ने हो । आउनुपर्ने परिणाम र गर्नुपर्ने काम सम्बन्धित मन्त्रालयको हो ।‘ उनले बजेट निर्माण, बजेटको विनियोजन र कार्यान्वयनमा कुशलता प्रदर्शन गर्न जरुरी रहेको बताए ।
अर्थ सचिव घनश्याम उपाध्यायले खर्च गर्ने क्षमता अनुसार आगामी वर्षको बजेटका लागि कार्यक्रम तथा योजना पेश गर्न आग्रह गरे । राजस्व सचिव दिनेश कुमार घिमिरेले बजेटको सिलिङ बाँड्दा पुगेन भन्ने र खर्च नगर्ने शैलीमा सुधार हुनुपर्ने बताए ।अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट खर्च गर्न नसक्ने भए समयमै सरेन्डर गर्न पनि विषयगत मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।
छलफलमा सहभागी विषयगत मन्त्रालयका सचिवहरुले बजेटमा समावेश कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै पूँजीगत खर्च वृद्धिका लागि अन्तर मन्त्रालयबीच समन्वय, रकमान्तर, भुक्तानी प्रक्रिया, नीतिगत स्पष्टता गर्दै अघि बढिरहेको र चालू आर्थिक वर्षको अन्त्यसम्ममा गत वर्षको भन्दा बढी पूँजीगत खर्च हुने बताएका थिए ।
अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत ११ गतेसम्म पूँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij