
मंगलवार , चैत्र १८, २०८१
भैरहवा, १९ चैत । रुपन्देहीको मर्चवारमा सहकारीकर्मी तथा संचारकर्मीबीच संवाद कार्यक्रम सम्पन्न भएको छ । देशको विभिन्न स्थानमा सहकारीहरुले बचतकर्ताको बचत समेत फिर्ता गर्न नसकेको अवस्थामा मर्चवारमा भने बचतकर्तालाई विभिन्न सुविधाहरु समेत प्रदान गरिरहेको र यहाँका सहकारीहरुमा विवाद नरहेको कार्यक्रमका वक्ताहरुको भनाइ छ ।
६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवामा भएको कार्यक्रममा वक्ताहरुले मर्चवारका सहकारी अहिलेको समस्याबाट मुक्त रहेको दावी गरेका छन् ।
श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मधेशी पत्रकार समाज, नेपाल रुपन्देही शाखा तथा मर्चवार प्रेस क्लबको संयुक्त सहकार्यमा सम्पन्न कार्यक्रममा सहकारीका असल प्रयासहरु संचारकर्मीले उठान गरिदिनुपर्ने सहकारीका संचालकहरुको आग्रह थियो ।
जिल्ला सहकारी संघ रुपन्देहीका सल्लाहकार अशोक कुमार त्रिपाठीले सामाजिक संजालमा अहिले सहकारीहरुप्रति विभिन्न नकारात्मक सन्देश फैलाइने कार्य भइरहेकाले संचारकर्मीहरुले यसलाई चिर्न सम्बन्धित सहकारी संस्थामा पुगेर सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्नपर्ने बताए ।
भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अशोक कुमार तिवारीले मर्चवारमा अझै पनि सहकारी शिक्षाको कमी रहेकोले ‘एक घर एक सहकारी शिक्षा’ आवश्यक रहेको औल्याए । उनले नियमअनुसार नै समुदायस्तरमै सहकारी सञ्चालन हुनु मर्चवारका सहकारीको दिगो सञ्चालनको आधार रहेको बताए । उनले २०५७ साल माघको २२, २३ र २४ गते मर्चवारमा १४ वटा स्वावलम्बनहरुको दर्ता गरिएको उनले बताए ।
हाल १४ वटा सहकारीमा १० करोड ४२ लाख १३ हजार ५ सय रुपैयाँ शेयर पूँजी रहेको उनले जानकारी दिए । सहकारीमा ९० करोड ९२ लाख १२ हजार रुपैयाँ बचत रहेको उनले जानकारी दिए । ८५ करोड ७५ लाख १५ हजार रुपैयाँ ऋण लगानी रहेको १४ वटै सहकारीहरुको कुल सम्पत्ति १ अर्ब ११ करोड बढी रहेको छ । १४ वटा सहकारीमा गरी कुल १५ हजार ७ सय २० सदस्यमध्ये ८ हजार ३ सय ७२ जना महिला रहेको तिवारीले जानकारी दिए ।
मधेशी पत्रकार समाज लुम्बिनी प्रदेश अध्यक्ष राम विकास चौधरीले समुन्नत समाज निर्माणका लागि सहकारीकर्मी र संचारकर्मीबीच सहकार्य आवश्यक रहेको बताए । उनले पत्रकार समाजको ऐना भएको ऐनाले जस्ताको त्यस्तै देखाउने भएकोले यसलाइ नकारात्मक रुपमा नबुझ्न आग्रह गरे ।
भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष जयराम गडेरियाको अध्यक्षता जिल्ला सहकारी संघ रुपन्देहीका सलाहकार अशोक कुमार त्रिपाठीको प्रमुख आतिथ्यता, मधेशी पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष राम विकास चौधरी तथा मर्चवारी सहकारी सन्जालका संयोजक फूलमन केवटको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका व्यवस्थापक अशोक कुमार तिवारी लगायत मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्मा, मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ता, बिन्दवासिनी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक दिलिप सहानी, श्री कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक महन्थ प्रसाद लोध, ओम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक विरेन्द्र पाल लगायतले बोलेका थिए ।
कार्यक्रम सहकारीका कर्मचारी राम अनुज प्रताप नारायण त्रिपाठीको सञ्चालन र स्वावलम्बनको कोषाध्यक्ष राम केवल यादवको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij