२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सांसद् बोहराको निधनमा बुधबार सिद्धार्थनगरमा शोक बिदा

मंगलवार , चैत्र १८, २०८१

भैरहवा, १९ चैत । रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद्) तथा पूर्वमन्त्री दीपक बोहराको निधनमा सिद्धार्थनगर नगरपालिकाले चैत २० गते बुधबार (भोली) शोक बिदा दिएको छ ।

नगर कार्यपालिकाको मंगलबार (आज) बसेको बैठकले बुधबार (एक दिन) बिदा दिने निर्णय गरेको नगरप्रमुख इश्तियाक अहमद खाँले बताए ।  ‘बुधबार शोक मनाउने कार्यक्रम रहेको हुँदा सिद्धार्थनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सो मातहतको वडा कार्यालयहरु, आधारभूत स्वास्थ्य केन्द्रहरु, सामूदायिक तथा संस्थागत विद्यालयहरु सो दिन सेवा प्रवाह र पठनपाठन स्थगित गर्ने तथा पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रमहरु यथावत सञ्चालन हुनेछ, ’नगरप्रमुख खाँले भने ।

बोहराको निधनले सिद्धार्थनगर नगरपालिका परिवार अत्यन्तै स्तब्ध मर्माहत र दुःखित भएको उनले बताए । ‘उहाँको असामयिक निधनले राष्ट्रले एक समर्पित जनप्रतिनिधि गुमाएको छ,’नगरप्रमुख खाँले भने ‘उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा शुभचिन्तकहरुप्रति गहिरो समवेदना प्रकट गर्दछौं, शोकाकुल परिवारजनलाई यो कठिन घडीमा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता समेत रहेका बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो ।