२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सहकारीमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड

बुधवार , चैत्र १९, २०८१

भैरहवा, २० चैत । सहकारीमा देखिएका समस्या समाधान गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले समस्याको समाधान भए सहकारी क्षेत्रमा नयाँ अध्यायको सुरुवात हुने विश्वास व्यक्त गरेका छन् ।

६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा सिद्धार्थनगर सहकारी सञ्जाल सिद्धार्थनगर, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले सहकारीमा देखिएका समस्या समाधान गर्नैपर्ने जिकिर गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लेखा सुपरीवेक्षण समितिका संयोजक भीम तुलाचनले सहकारीको नाममा केही व्यक्तिले व्यक्तिगत स्वार्थपूर्ति गर्न लाग्दा बचतकर्ता पीडित भएको र सहकारी अभियानलाई दोष दिइएको बताए । ‘हामी संयमित हुनुपर्छ, आर्थिक अनुशासन हुनुपर्छ, ’उनले भने–‘सहकारी ऐनले धेरै बाटो देखाएको छ । सकारात्मक बुँदालाई कार्यान्वयन गर्न नसक्नुमा सहकारी अभियान दोषी छैन ।’ 

जिल्ला सहकारी संघ लि. रुपन्देहीका अध्यक्ष समेत रहेका तुलाचनले सहकारी संस्थामा आबद्ध सदस्यहरु हरेक किसिमबाट समृद्ध हुनुपर्छ भन्ने मान्यता बोक्नुपर्ने बताए । उनले सहकारी अभियानलाई चुस्तदुरुस्त, परिस्कृत र समय सान्दर्भिक बनाउन नीति, विधि र प्रविधिको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए । ‘सहकारी ऐन, २०७४ लाई निकै लामो कसरत गरेर सहकारीमय बनाउने प्रयत्न गरेका छौं, ’उनले भने ।
त्यस्तै लुम्बिनी विशिष्टीकृत सहकारी संघ लि.(लुस्कुन) की अध्यक्ष ज्ञानु पौड्यालले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले सहकारीको मर्म बुझेर यसलाई मर्यादित बनाएर समुन्नत समाज निर्माण गर्न सकिने बताइन् । 

‘विगतमा समस्या नदेखेपछि सरकारले सहकारीलाई प्राथमिकतामा राखेको थिएन, त्यसले गर्दा कार्यान्वयनमा समस्या थियो, ’उनले भनिन्–‘पछि आएर संकटमा परेपछि बचत फिर्ता गर्न नसक्ने, रकम अपलचन गर्ने, सुशासनमा नहिंड्ने केही सहकारीहरुले गर्दा धेरै सहकारीमा आक्षेप आएको अवस्था छ ।’

अध्यक्ष पौड्यालले सिद्धार्थनगर नगरपालिकामा सामाजिक संस्थामा योगदान दिने व्यक्तिहरुले सहकारीको नेतृत्व गरेको बताइन् । उनले अब अझ बढी चनाखो हुनुपर्ने र सहकारीमा वित्तीय सूचकहरु ठीकठाक गर्नुपर्ने अवसर आएकोमा जोड दिइन् । उनले लुस्कुनमा हाल १४५ वटा सहकारीहरु आबद्ध रहेको र सहकारीले तिलोत्तमा नगरपालिका–६ स्थित पश्चिम पहुनीमा दुधजन्य प्रशोधन केन्द्र (उद्योग) सञ्चालन गरेको बताइन् ।

सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले एकतामा विश्वास गर्छौं भन्ने सन्देश दिन ६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ मूल समारोह आयोजना गरिएको बताए । उनले सहकारी संस्थालाई व्यवस्थित गर्दै सहकारीप्रति देखिएको नकारात्मक कुरालाई चिर्नुपर्नेमा जोड दिए ।

सिद्धार्थनगर सहकारी सञ्जालका अध्यक्ष कुल प्रसाद न्यौपानेले सञ्जालले नगरपालिका र सहकारी संस्थाहरुसँग मिलेर गोष्ठी, तालिम लगायत सहकारी सम्बन्धी विभिन्न कार्यक्रम गरेको बताए । उनले सञ्जालमा हाल झण्डै ४९ वटा सहकारीहरु आबद्ध रहेको जानकारी दिए । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भीष्म प्रसाद न्यौपानेले सहकारीमा समस्या रहेको र ती समस्याको समाधान गर्नुपर्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले केही समय सहकारीले राम्रो उपलब्धी गरे पनि राज्यको नीतिले सहकारीलाई धरासायी बनेको बताए ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले सिद्धार्थनगर सहकारी सञ्जाल बनेपछि यहाँका सहकारीहरुलाई अभिभावकत्व प्रदान भएको बताए । उनले आफूलाई ठूला भनाउँदा केही सहकारीहरुले सर्वसाधारणको रकम ठगी गरेको र पीडित जनताले हालसम्म आफूले जम्मा गरेको रकम पाउन नसकेको बताए । राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखा प्रमुख ऋषिकेश ज्ञवालीले सहकारी सिद्वान्त कहिल्यै विफल नहुने जिकिर गरे । उनले विफल सहकारीलाई सहकारी अभियानले सफल बनाउने बताए । उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले सहकारीको मर्म बुझ्नुपर्ने र सहकारीमा पारदर्शीता आवश्यक रहेको बताए । उनले सहकारी अभियानमा सञ्चार क्षेत्रबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।

488710610_1198367388953395_865353043223499359_n.jpg

सिद्धार्थनगर सहकारी सञ्जाल सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघ लेखा सुपरीवेक्षण समितिका संयोजक भीम तुलाचनको प्रमुख आतिथ्यता, लुम्बिनी विशिष्टीकृत सहकारी संघ लि.की अध्यक्ष ज्ञानु पौड्यालको विशिष्ट आतिथ्यता, सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनालको स्वागत तथा सिद्धार्थनगर सहकारी सञ्जालका सचिव खिम बहादुर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

488602853_1198366708953463_7951894720864489320_n.jpg

कार्यक्रममा अतिरिक्त क्रियाकलाप तथा सामाजिक कार्य गर्ने सहकारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि., श्रीनगर बचत तथा ऋण सहकारी संस्था लि., अंकुर बचत तथा ऋण सहकारी संस्था लि., टुगा आस्था बचत तथा ऋण सहकारी संस्था लि., नेपाल बहुमुखी सहकारी संस्था, अभिरुची बचत तथा ऋण सहकारी, अविरल बचत तथा ऋण सहकारी र त्रिशुल बचत तथा ऋण सहकारी संस्था लि. रहेका छन् ।

‘मर्यादित सहकारी : समुन्नत समाज’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी ६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ मनाइँदैछ ।