२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सबैको सहकारीलाई उत्कृष्ट सहकारी पुरस्कार

बिहिवार , चैत्र २०, २०८१

बुटवल, २१ चैत । रुपन्देहीको सबैको बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत भएको छ । प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्रदेशस्तरीय कार्यक्षेत्र भएका ८ सय ४८ सहकारीमध्ये कार्यसम्पादन मूल्यांकनमा सबैको बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरेको हो । 

मन्त्रालयले पल्र्स, सदस्य केन्द्रियता र सुशासनका क्षेत्रमा विभिन्न सूचक निर्धारण गरी संस्थाहरुको सघन मूल्यांकन गरेको थियो । ६८ औं सहकारी दिवसका अवसरमा दाङमा भएको कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारीका अध्यक्ष भरतराज भुसाललाई नगद ७  हजार रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । 

चार वर्षअघि ११ वटा सहकारी एकीकरण भएर बनेको सबैको सहकारीमा ८ हजार सदस्यहरु छन् । १ अर्ब २८ करोड कूल पूँजी र १० करोड ५० लाख शेयर पूँजी रहेको सहकारीको तिलोत्तमा–५ मा केन्द्रीय कार्यालय सहित ११ वटा सेवा केन्द्र छन् । 

सहकारीलाई पुरस्कार वितरण गर्दै मुख्यमन्त्री आचार्यले सहकारी संस्थाहरु समाजवादी अर्थतन्त्रको मेरुदण्ड भएको बताए । सहकारीको विकास र नियमनमा सरकार योजनाबद्ध रुपमा लागेको बताउंदै उनले अन्य प्रदेशबाट प्रवेश गरेका केही सहकारीले समग्र सहकारीको बदनाम गरेको उल्लेख गरे । 

प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारीलाई सही मार्गमा हिंडाउन सरकारले नियमित नियमन गरी कार्यसम्पादन मूल्यांकनका आधारमा असल सहकारी र कमसल सहकारीको वर्गीकरण गर्ने बताए । 

नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले मोफसलका सहकारीहरु खासै संकटमा नपरेको बताए ।

पुरस्कृत सहकारीका अध्यक्ष भरतराज भूसालले सहकारीहरुको कार्यसम्पादन मूल्यांकन र सहकारीहरुको वर्गीकरणले राम्रो गर्नेलाई हौसला र कमजोर कार्यसम्पादन भएकालाई सुध्रिने अवसर प्राप्त हुने हुँदा कार्यसम्पादन मूल्यांकनलाई निरन्तर र थप प्रभावकारी बनाउन आग्रह गरे । सहकारी संस्थाहरुले अनिवार्य रुपमा  तिर्दै आएको सहकारी प्रवद्र्धन कोषको रकम सहकारी नियमन र कार्यसम्पादन मूल्यांकनमा खर्च गर्न पनि उनले आगह गरे ।