
बिहिवार , चैत्र २०, २०८१
भैरहवा, २१ चैत । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको ८ महिनामा ७ अर्ब २८ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले ८ महिनामा वार्षिक लक्ष्यको ९० दशमलव ५ प्रतिशत राजस्व संकलन गरेको हो ।
उक्त कार्यालयलाई राजस्व विभागले ८ अर्ब ९ करोड १६ लाख रुपैयाँ असुलीको लक्ष्य दिएको थियो । विगतका केही वर्षमा आन्तरिक राजस्व संकलनमा विभागले असुली गर्न दिएको लक्ष्य पूरा गर्न असफल भएको राजस्व कार्यालय भैरहवाले शतप्रतिशत संकलन गर्न नसकेता पनि चालु वर्षको ८ महिनामा लक्ष्यको ९० प्रतिशतमाथि राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखेलले बताए ।
मासिक राजस्व संकलनको लक्ष्यसमेत पूरा गर्न नसकेको कार्यालयले चालु आ.व.को ८ महिनामध्ये भदौ, असोज र फागुनमा राजस्व विभागद्वारा तोकिएअनुसारको राजस्व संकलन गरेको छ भने अन्य महिनामा पनि उल्लेखनीय रूपमा राजस्व संकलन गरेको पोख्रेलले जानकारी दिए ।
कार्यालयले फागुनमा विभागले दिएको ९४ करोड ६ लाखको लक्ष्यमा ९४ करोड ६२ लाख संकलन गरेको छ । यो लक्ष्यको १०० दशमलव ६० प्रतिशत हो । गत आ.व.को फागुन महिनामा संकलित राजस्वसँग तुलना गर्दा चालु आ.व.को फागुनमा २०.८० प्रतिशत अर्थात् १६ करोड २९ लाख रुपैयाँ बढी हो । कार्यालयले चालु आ.व.को ८ महिनामा आयकरतर्फ १ अर्ब ३ करोड २१ लाख, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब २६ करोड २३ लाख र अन्तःशुल्कबापत ४ अर्ब ८५ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ ।
बजार अनुगमन, करको दायरामा
नआएका र छुटेकाहरूलाई दायरामा ल्याउने, आम सर्वसाधारणमा कर शिक्षा प्रवाह, कर छल्नेलाई कारवाही, कर बक्यौता असुलीलगायतका काममा समेत कार्यालयको टीम लाग्दा राजस्व संकलनको लक्ष्य नजिक पुगेको प्रमुख कर अधिकृत पोख्रेलले बताए । ‘अहिले कर बुझाउनुपर्छ । करको दायरामा जानुपर्छ भन्ने भावना आम नागरिकमा देखिएकाले पनि सबैमा करको सचेतना बढ्दै गएकोले राजस्व संकलनमा सुधार भएको हो’ उनले भने ।
राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ११ र १२, लुम्बिनी साँस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई र सियारी गाउँपालिका पर्छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij