
शुक्रवार , चैत्र २१, २०८१
भैरहवा । हुलास स्टील इण्डष्ट्रिज लि.ले रुपन्देहीको तिलोत्तमामा पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । पछिल्लो समयमा नेपालमा औद्योगिक वातावरण नभएको गुनासो बढिरहेकै बेला नेपालको औद्योगिक घराना हुलास स्टील इण्डष्ट्रिज लि.ले तिलोत्तमामा नेपालकै पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
जस्तापाता लगायत स्टीलजन्य वस्तुहरु उत्पादन गर्दै आएको हुलास उद्योगले तिलोत्तमा नगरपालिका–७ मंगलापुरमा तीन करोड लगानीमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
सर्भिस सेन्टरमा हुलास स्टिलका एच स्पान र हुलास हेरिटेज सीट उत्पादन र बिक्री वितरण हुने कम्पनीका चिफ फाइनान्स अफिसर सुनिल मनोत जैनले बताए । सर्भिस सेन्टरबाट उपभोक्ताले चाहेको साइज र परिमाण ६ घण्टाभित्र डेलिभरी पाउने उनले दावी गरे ।
रुपन्देहीमा उत्पादन हुने एच स्पान र हुलास हेरिटेज सीटको मूल्य सिमरास्थित मुख्य उद्योगमा उत्पादन भएर आउने भन्दा सस्तो हुने र अर्डर गरेकै एकदिन पछि डेलिभरी पाइने भएकाले उपभोक्ता लाभान्वित हुने मनोतले बताए ।
तीन दशकदेखि हुलास स्टिलको आधिकारिक विक्रेता रहेको भट्टराई हार्डवेयर्स एण्ड सप्लायर्ससंगको सहकार्यमा सञ्चालनमा आएको सर्भिस सेन्टरको बिहीबार तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले उद्घाटन गर्दै नेपालकै प्रतिष्ठित उद्योगले तिलोत्तमामा सर्भिस सेन्टर स्थापना गर्नुले यहाँ रोजगारी सिर्जना हुने, व्यवसाय चलायमान हुने र उपभोक्ता समेत लाभान्वित हुने बताए ।
तिलोत्तमा उदाउंँदो नगर भएकाले यहाँ उद्योग, कारखाना, पोल्ट्री फार्म र आवासीय घरहरु बन्ने क्रम बढ्दो दरमा रहेकाले सर्भिस सेन्टर दीगो रुपमा सञ्चालन हुने जनाए ।
सर्भिस सेन्टर सञ्चालनमा आउंँदा सिमराबाट बुटवलसम्म ढुवानी गर्दा हुने खर्च कटौती हुँदा उपभोक्ताले सस्तो मूल्यमा पाउने हुलासको स्थानीय अधिकृत विक्रेता हार्डवेयर्स एण्ड सप्लायर्सका सञ्चालक दीपक भट्टराईले बताए ।
उपभोक्ताले आफ्नो रोजाई र साइजमा ४ देखि ६ घण्टाभित्र डेलिभरी पाउने र डिलरहरुले धेरै स्टक राख्नुपर्ने झन्झटबाट मुुक्त हुने छन् । चाहे अनुसारका ठूला साइजको एच स्पान र हेरिटेज सीट अन्य कर्कटपाताको तुलनामा १५ प्रतिशतसम्म सस्तो हुने भट्टराईको दावी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij