२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

उत्पादन र आर्थिक समृद्धिमा जोडिन नगरप्रमुख पाण्डेयको आह्वान

सोमवार , चैत्र २४, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • बुटवल, २५ चैत । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले उत्पादन र आर्थिक समृद्धिको अभियानमा जोडिन आह्वान गरेका छन् । स्याङ्जा कारिकोट चण्डीभञ्ज्याङ सम्पर्क समाज रुपन्देहीको सोमबार तिलोत्तमामा आयोजित दोस्रो वार्षिक साधारणसभामा बोल्दै मेयर पाण्डेले सबैलाई उत्पादनमूलक व्यावसाय वा सीप सिकेर रोजगारमा सहभागी भइ आर्थिक समृद्धिमा लाग्न आह्वान गरेका हुन् । 

    शिक्षा, स्वास्थ्य, यातायत लगायत भौतिक तथा मानवीय विकासका लागि पहाडदेखि तराईमा बसाई सर्ने विगतदेखिको प्रवृत्ति रहे पनि अब उत्पादन र रोजगारमा जोडिन आवश्यक रहेको उल्लेख गरे । आफ्नो जन्मस्थल, भूगोल र इतिहासलाई बिर्सेर कसैले पनि सफलता प्राप्त गर्न नसक्ने बताउँदै उनले पूर्खाहरुको परम्परा, संस्कृति र पहिचानलाई जोगाउँदै उत्पादन र कुनै न कुनै आर्थिक गतिविधिमा जोडिन आग्रह गरेका हुन् । 

    ठूलो जनसंख्या अवसरको खोजीका लागि पहाडदेखि तराईमा आएर बसोबास गरेको बताउँदै उनले मुलुकको कुनै पनि ठाउँमा रहे पनि भावी सन्ततीका लागि आफ्नो पुर्खा र परम्परालाई जोगाएर राख्नुपर्नेमा जोड दिए ।

    नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसहित आयोजना गरिएको कार्यक्रममा बोल्दै सम्पर्क समाजका अध्यक्ष शालिकराम पाण्डे, वरिष्ठ उपाध्यक्ष केशव कोइराला, उपाध्यक्ष इन्द्र पाण्डे, सचिव पिताम्बर शर्मा, सल्लाहकार रुद्रप्रसाद श्रेष्ठ तथा पिडीखोला सम्पर्क समाजका अध्यक्ष उमाकान्त सापकोटाले भौगोलिक रुपमा जहाँ रहे पनि आफ्नो जन्मभूमिप्रति सधै सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा दुईजना ज्जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।  

    समाजका सदस्य तथा जेष्ठ नागरिक ८५ वर्षिया ललितादेवी पाण्डे र ८३ वर्षीय दानबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । सो अवसरमा समाजले प्रकाशन गरेको वर्ष २०८२ को क्यालेण्डर समेत विमोचन गरिएको छ ।