
बुधवार , चैत्र २६, २०८१
भारतसँग सीमा जोडिएको देशकै ठूलो भन्सार नाका बेलहियाले वर्षेनी लाखांै पर्यटक भित्र्याइहेको छ । रुपन्देहीको जिल्ला सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिका) अन्र्तगत पर्ने यो सीमा नाकाबाट प्रवेश गर्ने भारतीय र तेस्रो मुलुकका पर्यटकहरु देशका विभिन्न ठाउँहरुमा पुग्ने गरेका छन् । यो शहर पर्यटकको पहिलो स्वागतद्वारको रुपमा रहेकोले पनि यसको छुट्टै महत्व छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगरले बाह्य पर्यटक मात्र होइन दैनिक सयौको संख्यामा आन्तरिक पर्यटकहरुलाई पनि स्वागत गरिरहेको हुन्छ ।
जिल्ला सदरमुकाम, देशकै दोस्रो ठूलो भन्सार नाका, विशेष आर्थिक क्षेत्र (सेज), गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, औद्योगिक धरानाका उद्योगहरु, सिद्धार्थ क्रिकेट स्टेडियम यसै क्षेत्रमा रहेका कारणले पनि यहाँ मानिसहरुको आवतजावत बढी नै हुने गरेको छ । यातायात सञ्जालले देशका ठूला शहरहरुलाई सिधा जोडेको कारण पनि यस क्षेत्रमा आउने र जाने पर्यटकहरुलाई सहजता थपिदिएको छ । यहाँ पर्यटक लक्षित सानादेखि ठुला तारे होटल, क्यासिनोहरु खुलेका छन् । युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि., लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पतालले बिरामी मात्र होइन भारतीय विद्यार्थीहरुको पनि आकर्षण बढाइरहेका छन् । यहाँ सञ्चालित विद्यालय क्याम्पसहरुमा विद्यार्थीहरुको चहलपहल बढ्दो छ ।
सिद्धार्थनगरलाई आर्थिक, शैक्षिक र पर्यटकीय दृष्टिकोणले ट्रान्जिट हबका रुपमा व्यवस्थापन गर्न सके राम्रो फाइदा लिन सकिने देखिन्छ । दैनिक मानिसहरुको आवागमनलाई भैरहवाले आर्थिक हिसाबले त्यति फाइदा लिन भने सकेको देखिदैन । सीमा नाकाबाट प्रवेश गर्ने अधिकांश पर्यटकहरु यहाँ नरोकि गन्तव्यमा पुग्ने गरेका छन् । यस क्षेत्रको पर्यटकीय क्षेत्रहरुको संरक्षण र प्रचारप्रसार नहँुदा सिद्धार्थनगरले धेरै आर्थिक आम्दानी गुमाइरहेको छ । भैरहवा प्रवेश गर्ने पर्यटकहरुलाई एक दिन मात्र पनि रोक्न सके राम्रो आर्थिक आम्दानी गर्न सकिन्छ । जसका लागि यहाँबाट जान सकिने पर्यटकीय गन्तव्यलाई प्याकेजका रुपमा प्रचार गर्ने र कम्तीमा दुई दिन भैरहवामा बास बस्ने वातावरण बनाउन सके भैरहवाले राम्रो आम्दानी गर्न सक्छ । जसका लागि लुम्बिनी, तिलौराकोट, रामग्राम र रोहिणी सभ्यतालाई अगाडि बढाउन सकिन्छ । त्यस्तै नगरभित्रै पर्ने लुम्बिनी गेट, यहाँका धार्मिक मठ–मन्दिर, जिल्लामा अवस्थित धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको एकदिने टुर प्याकेजहरु बनाउन सकिन्छ ।
भैरहवामा विभिन्न जातजाति, भाषा, धर्मका मानिसहरु बस्ने गर्छन् । उनीहरुको रहनसहन, परिकार, धार्मिक आस्था लगायतका कुराहरुलाई पनि पर्यटन लक्षित होम स्टे सञ्चालनको अवधारणा अगाडि बढाउन सकिन्छ । त्यस्तै जिल्लाका कृषि र माछा पकेट क्षेत्रहरुलाई अध्ययन–अवलोकनका कार्यक्रमहरुबाट पनि पर्यटन भित्र्याउन सक्ने प्रशस्त सम्भावना छ । यहाँस्थित सिद्धार्थनगर नगरपालिकाले केही प्रयास त गरेको छ । तर, गर्नुपर्ने धेरै छ । नगरपालिकाले क्लीन, ग्रीन एण्ड ईको–फ्रेण्डली’ को अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै पर्यटन लक्षित कार्यक्रमलाई अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।
सम्भावना बोकेको डण्डा नदी
सिद्धार्थनगरको पर्यटकीय सम्भावना बोकेको स्थान हो डण्डा नदी । डण्डा करिडोरको अवधारणा केही वर्षयता सिद्धार्थनगर नगरपालिकाले अगाडी सारेको थियो । यसको अवधारणा पूरा भएमा भैरहवाको पर्यटन प्रवद्र्धनमा यो कोसेढुंगा बन्न सक्ने निश्चित छ । सिद्धार्थनगर नगरपालिकामा करिब १५ किलोमिटर बग्ने डण्डा नदीलाई मनोरञ्जनात्मक पार्कको रुपमा विकास गर्न सके दैनिक सयौंको संख्यामा आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याउन सकिने सम्भावना देखिन्छ । सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ९, १२, १३, १, २ र ३ हँुदै उत्तर–दक्षिण बहने यो नदी सीमा नाका बेलहिया नजिक रहेको छ । रमणीय पार्क, व्यायामशाला, बाल उद्यान, कृषि, खेलमैदान, डुंगा सञ्चालन लगायतका योजनाहरु अगाडि बढाइ नगरमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ । यो नदीको पानी सिंचाई गर्ने, डुंगा चलाउने, माछापालन गरी पर्यटकलाई माछा मार्न आकर्षित गर्न सकिन्छ । यसबाट नगरको आन्तरिक आम्दानीमा वृद्धि हुनुका साथै समग्र भैरहवाबासीको आर्थिक उन्नयनमा टेवा पुग्छ । त्यस्तै यस नदीलाई शैक्षिक तथा अनुसन्धान क्षेत्रका रुपमा पनि विकास गर्न सकिन्छ । सिद्धार्थनगर नगरपालिकाले डण्डा नदीको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय स्थलका रुपमा विकास गरी अगाडि बढ्नुपर्ने देखिन्छ ।
भैरहवाका सम्भावनाहरु
सिद्धार्थनगरबाट नजिकको दुरीमा पर्ने बुटवलको फूलबारी, जितगढी, हिलपार्क । तिलोत्तमाको वनवाटिका । पाल्पाको सिद्धबाबा, नुवाकोट, बसन्तपुर । त्यस्तै पश्चिमतर्फ बुद्धजन्मस्थल लुम्बिनी, तिलौराकोट । पुर्वतर्फ रामग्राम । यी स्थानहरु पर्यटकीय हिसाबले अगाडि बढेका स्थानहरु हुन् । यी स्थानहरुमा आन्तरिक पर्यकहरुको घुइँचो नै लाग्ने गरको छ । जसबाट स्थानीय सरकारले राम्रो आम्दानी पनि गरेको छ भने स्थानीयले राम्रै फाइदा लिइरहेका छन् । सिद्धार्थनगरमा भने त्यस्तो खालका कुनै पनि पार्क वा पर्यटकीय स्थानहरु छैनन् । जसकारण पनि डण्डा नदीको करिब १५ किलोमिटर क्षेत्रलाई रमणीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने एक आधार देखिन्छ । जसबाट स्थानीय सरकार र स्थानीयबासीले राम्रो फाइदा लिन सकोस् । यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको विकास गर्न सकेमा स्थानीय सरकारलाई राजस्व आम्दानी हुन्छ भने स्थानीयको व्यापार व्यवसायमा वृद्धि भई आर्थिक चलायमान हुनेछ । यहाँका ठेला तथा फुटपाथ व्यावसायमा वृद्धि, ई–रिक्सा तथा यातायातका साधनहरु, होटल रेष्टुरेण्ट लगायत यससँग सम्बन्धित सम्पूर्णले राम्रो आम्दानी लिन सक्नेछन् । त्यस्तै सीमावर्ती क्षेत्र नजिक पनि यस्ता किसिमका पार्कहरु नभएकोले पनि सीमावर्ती भारतबाट पनि मानिसहरु आउनेछन् । भैरहवामा नाइट मार्केट सञ्चालन गरी २४ सै घण्टा यहाँ पर्यटकहरुलाई प्रसन्न बनाउन सकिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij