
बुधवार , चैत्र २६, २०८१
भैरहवा, २७ चैत । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः नियमित सुचारुको माग राख्दै संयुक्त रुपमा आन्दोलनको घोषणा गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेका हुन् ।
पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल गरी प्रतिवद्धता लिने, सम्बन्धित एअरलाईन्सका प्रमुखसँग छलफल गर्ने सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । त्यस्तै सम्पूर्ण संघ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधि लगायत हजारौंको संख्यामा उपस्थिति भइ विमानस्थल अगाडि अल्टिमेटम दिदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्य मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायूसेवा निगमका प्रमुखहरुसँग अल्टिमेटम दिदै यदी विमानस्थलबाट उडान नभए आन्दोलनको कार्यक्रमको बारेमा ध्यानाकर्षण गराइने अध्यक्ष ज्ञवालीले बताए । त्यसै गरी कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण र्याली प्रदर्शन तथा बजार परिक्रमा गरिने उनले जानकारी दिए ।
मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलन अन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोध सभा र यति गर्दा पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने ज्ञवालीले बताए । ‘सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीहरुलाई विमानस्थल प्रवेश निषेध गर्दै कालो झण्डा देखाउँछौं, ’उनले भने–‘आन्तरिक विमानस्थलबाट आगमन प्रस्थान बन्द गर्नका लागि सम्बन्धीत पक्षलाई टिकट नकाट्नका लागि आह्वान र विमानस्थल गेटमा शान्तिपूर्ण प्रदर्शन गरी आवातजावत समेत बन्द गराउँछौं ।’
शान्तिपूर्ण विरोधका कार्यक्रमले उग्र रुप लिएमा त्यसको जिम्मा नेपाल सरकारको हुने अध्यक्ष ज्ञवालीले बताए । ‘यति गर्दा पनि हाम्रो माग (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाट अन्तर्राष्ट्रिय उडान नभएमा) पुनः तेस्रो चरणको आन्दोलनको घोषणा गर्न बाध्य हुनेछौं,’उनले भने । विगतमा सरकारले विमानस्थल सञ्चालन गर्ने प्रतिवद्धता जनाएपछि आफूहरुले आन्दोलन स्थगित गरे पनि सरकारले गरेको प्रतिवद्धता पूरा नगरेको उनले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले राज्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई डाइभर्सनको रुपमा जस्तै प्रयोग मात्र गरेको बताए । उनले अबको आन्दोलनलाई निर्णायक बनाउने गरी अघि बढ्ने बताए । लुम्बिनी प्रदेशका सम्पूर्ण निजी क्षेत्रलाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।
‘लुम्बिनी प्रदेशका निजी क्षेत्रका नेताहरुसँग छलफल गरेर उहाँहरुको अगुवाइमा आन्दोलन गर्छौं, अनि आन्दोलनले पनि सार्थकता पाउँछ,’आचार्यले भने-‘नेतृत्व जसले गरे पनि फरक पर्दैन ।’ विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँ रहेका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको माग छ । संघीय सरकारले विमानस्थल सञ्चालनका लागि सहयोग गरेन, ’उनले भने-‘स्थानीय सरकारले पनि यसमा सहयोग गरेको अवस्था छैन ।’
उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले सरकारले गरेको सहमति पालना नगर्दा बारम्बार आन्दोलन गर्नुपर्ने बाध्यता रहेको बताए । उनले विमानस्थल निर्माण हुने तर, सञ्चालन नहुने अवस्था दुर्भाग्यपूर्ण रहेको बताए । ‘रुपन्देहीको विकासका लागि विमानस्थल सञ्चालन हुनैपर्छ,’उनले भने–‘सम्पूर्ण संघ–संस्थाहरु एकढिक्का भएर अगाडि बढ्नुपर्छ ।’
सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेले विमानस्थल नियमित सञ्चालनका लागि सरकारले इच्छा नदेखाएको बताए । सरकारले पटकपटक आश्वासन दिए पनि विमानस्थल पूर्ण र नियमित सञ्चालन हुन नसकेको उनको भनाइ छ ।
नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले नियमित अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता हुन नसक्दा व्यवसायी लगानी गर्नबाट पछाडि हटिरहेको बताए । ‘सम्भावना भए लगानी गर्ने हो, नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको अवस्था छैन, सम्भावना नभइन कसरी लगानी गर्ने ?’ उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij