
बिहिवार , चैत्र २७, २०८१
भैरहवा, २८ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेलाई पत्राचार गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सार्थक एवं प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
उद्घाटन भएको ३ वर्ष बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन नसक्नु यस क्षेत्रका लागि दुःखद र पीडादायी रहेको उल्लेख गर्दै उनले शिघ्र अन्तर्राष्ट्रिय उडान नियमित गराउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन । ‘विमानस्थल निर्माणका लागि यहाँका नगरबासीले आफ्नो पुर्खौली थातथलो समेत छाडेर जग्गा दिएका थिए । समयमै निर्माणसम्पन्न गर्नका लागि पनि यस क्षेत्रका बासिन्दाले गरेको सहजीकरण महत्वपूर्ण छ । उनले पत्रमा भनेका छन्–‘तर,निर्माणसम्पन्नपछि पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा नगरबासी, बुद्धिजीवि, उद्योगी–व्यापारी, पर्यटन लगायत सिंगो रुपन्देहीसहित लुम्बिनी प्रदेशसमेत प्रभावित भएको छ । निर्माण र निर्माणसम्पन्नपछि निजी क्षेत्र र नागरिकस्तरमा देखिएको उत्साह क्रमः निराशामा बदलिदै गएको छ ।’
नेपालका धेरै दुरगामी महत्वलाई हेरेर विमानस्थल भैरहवामा बनाउने निर्णय भएको उल्लेख गर्दै उनले यो विमानस्थल लुम्बिनी प्रदेश र पश्चिम नेपालकै जनताहरुको विकास र समृद्धिसँग जोडिएको बताएका छन् । उनले विमानस्थललाई मध्यनजर गर्दै अरबौं रकम ऋण सहयोग लिएर तयार भएकोमा हाल यो विमानस्थललाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरु, चार लेनका सडकहरु, तारे होटलहरुमा अरबौं–खरबौं रुपैयाँ निजी क्षेत्रले लगानी समेतलाई मध्यनजर गर्दै विमानस्थल सञ्चालनको विकल्प नरहेको समेत बताए । ‘नियमित अन्तर्राष्ट्रिय उडान हुन लागेको विमानस्थललाई अझै व्यवस्थित गरी पूर्ण क्षमतामा चलाएर यो क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा सरकारले ८ महिना पहिला विमानस्थल सञ्चालन गर्नका लागि गरेका निर्णयहरु पनि कार्यान्वन नगर्दा झनै निराशा र चिन्ता थपिएको छ । उनले भने–‘अत्यावश्यक कार्यालय पनि नखोल्ने, विमान कम्पनीलाई दिने भनिएको छुट सुविधा पनि नदिने जस्ता काम सरकारबाट भएको भन्दै यहाँको सिंगो निजी क्षेत्र आक्रोशित छ । जुन स्वभाविक पनि हो ।’
पछिल्लो समय केही महिना उडान गरेका विमान कम्पनीले समेत उडान रोक्दा विमानस्थल सुनसान भएको र विमानस्थल निर्माणका क्रममा गरिएको अरबौं लगानीलाई समेत सुरक्षित गर्न तत्काल अन्तर्राष्ट्रिय उडानका तालिका बनाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन उनले आग्रह गरेका छन् । निजी क्षेत्रले विमानस्थल सञ्चालनका लागि दिदै आएको दबाब स्वभाविक रहेको जनाउँदै उनले यसलाई गम्भिरतापूर्वक लिएर विमानस्थल सञ्चालनका लागि सार्थक प्रयास नभएमा आफू एवं सिंगो पालिकाले नै नेतृत्व गरेर दबाब सिर्जना गर्न बाध्य हुने अवस्था सिर्जना नगराउन समेत उनले सचेत गराएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij