२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल–भारत भन्सार प्रशासनबीचको २१ औं महानिर्देशकस्तरीय बैठक सम्पन्न

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं, २९ चैत । नेपाल र भारतका भन्सार प्रशासनबीच सन् १९९५ मा पहिलो पटक महानिर्देशकस्तरीय बैठक आयोजना भएपछि आलोपालो रुपमा बैठक गर्ने परम्परा रहँदै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै नेपाल–भारत भन्सार प्रशासनबीचको २१  औं महानिर्देशकस्तरीय बैठक २०८१ साल चैत २८ र २९ गते (बिहीबार र शुक्रबार) काठमाडौंमा सम्पन्न भएको छ । 

सो बैठकमा नेपाली टोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गरेका थिए भने भारतीय टोलीको नेतृत्व डाइरेक्टोयट अफ रेभिन्यू इन्टेलिजेन्सका महानिर्देशक अभय कुमार श्रीवास्तवले गरेका थिए ।
 
बैठकमा व्यापार सहजीकरण र अनाधिकृत व्यापार नियन्त्रणका विविध विषयमा गहन छलफल भएको थियो । दुवै पक्षले भन्सार प्रक्रियालाई कागजबिहीन (पेपरलेस) बनाउँदै व्यापार सहजीकरण गर्न, लजिस्टिक्स लागत घटाउन तथा अनाधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्न सहमति जनाएका छन् ।

बैठकमा नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने, आयात–निर्यात सम्बन्धी पूर्वसूचना आदान–प्रदानका लागि समझदारी गर्ने, भन्सारसम्बन्धी आपसी सहयोगसम्बन्धी सम्झौता अगाडि बढाउने, सीमावर्ती क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण गरी व्यापार प्रवद्र्धन गर्ने, नेपाल–भारत सीमा क्षेत्रमा क्वारेन्टाइन सुविधाको विस्तार गर्ने, तेस्रो मुलुकबाट भारत हुँदै नेपाल आउने/जाने रेलमार्ग व्यापारमा प्रयोग हुँदै आएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमलाई सडकमार्ग (ट्रक) मा समेत विस्तार गर्ने र लागत घटाउने, भैरहवा र चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँचचौकी (आईसीपी) हरू शिघ्र निर्माण गरी सञ्चालनमा ल्याउने, विराटनगरमा रेल कार्गो सेवा सञ्चालन गर्ने लगायतका विषयमा छलफल तथा सहमति भएको छ ।

बैठकमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशकको नेतृत्वमा अर्थ, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि एवं प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभागका महानिर्देशकहरुको सहभागिता थियो ।  

भारतको तर्फबाट डाइरेक्टोयट अफ रेभिन्यू इन्टेलिजेन्सका महानिर्देशकको नेतृत्वमा विभिन्न भन्सार कार्यालयका अधिकारीहरू, काठमाडौंस्थित भारतीय दूतावास तथा अन्तर्राष्ट्रिय व्यापारसँग सम्बद्ध निकायका प्रतिनिधिहरू सहभागी थिए ।

नेपाल–भारत भन्सार प्रशासनबीचको आगामी २२ औं महानिर्देशकस्तरीय बैठक भारतको नयाँ दिल्लीमा आयोजना हुने भएको छ ।