२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

दीपक बोहरालाई सम्झँदा

शनिवार , चैत्र २९, २०८१

दीपक बोहरा परिचित नाम हो । विकासको पर्यायवाचीको तथा प्रभावशाली नेता बोहरा अब हाम्रो माझ हुनुहुन्न । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा सिनियर नेताको रुपमा मैले उहाँलाई विगतदेखि चिन्थे । तर, धेरै पुरानो कुरा गर्दा पनि २०७० सालको निर्वाचनमा मेरो बुवा रतन कुमार गुप्ता (सिद्धार्थनगर नगरपालिका) का पूर्व नगर उपप्रमुख संसदीय निर्वाचको उम्मेदवार हुनुहुन्थ्यो । त्यसबेला साविक क्षेत्र नम्बर २ (भैरहवा) मा उहाँ उम्मेदवार हुनुभयो । लामो समयपछि दीपक बोहरा पनि क्षेत्र परिवर्तन गरी क्षेत्र नम्बर २ उम्मेदवार बन्नुभयो । मेरो बुवा उहाँको प्रतिद्वन्द्वी हुनुहुन्थ्यो । बुवा तराई–मधेश केन्द्रीत दल (तराई–मधेश लोकतान्त्रिक पार्टी) बाट उम्मेदवार हुनुहुन्थ्यो । मैले त्यतिबेला देखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको बारेमा चासो लिन लागे । निर्वाचनमा उहाँप्रति उहाँबारे जान्ने अझ धेरै चासो बढ्यो ।

धेरै समयपछि उहाँले निर्वाचन क्षेत्र परिवर्तन गरेर भैरहवा आउँदा मतदातामा अझ उत्साह थपेको थाहा पाएँ । उहाँ (राप्रपा) कोतर्फबाट उम्मेदवार भए पनि राप्रपाभित्र मात्र नभइ अन्य पार्टीमा पनि उत्साह रहेको जानकारी पाइयो । त्यसकारण पनि उहाँलाई राप्रपा मात्र नभइ सम्पूर्ण पार्टीको साझा उम्मेदवारको रुपमा बुझ्न थालियो । चिल्हिया, मैनिहया, बगहा लगायत विभिन्न ठाउँमा जाँदा एउटै नाम थियो, दीपक बोहरा, दीपक बोहरा । युवाहरुमाझ पनि निकै लोकप्रिय नाम हो दीपक बोहरा । उहाँकोबारेमा चर्चा गर्दा सबैसँग घुलमिल हुन सक्ने र पार्टीगत रुपमा कसैलाई पनि नहेर्ने व्यक्ति रुपमा चिन्न सक्छौं । २०७० सालको निर्वाचनमा मेरो बुवा (रतन कुमार गुप्ता) पराजित हुनुभयो, दीपक बोहराले निर्वाचन जित्नुभयो । निर्वाचन जितेपछि विजय जुलुसमा भेट हुँदा उहाँले भनेको कुरा मलाई याद छ–अजय बाबु केही मबाट हुन सक्ने सहयोग भए भन्नु है । त्यतिभनेर मलाई अंगालो हाल्नुभयो, त्यसपछि म उहाँबाट अझ प्रभावित भए । त्यसपछि मेरो बुवा र उहाँबीच सम्पर्क भयो । यसमा राप्रपा रुपन्देही जिल्ला अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणा पनि सहयोग छ हामीलाई जोड्नमा । बोहराजीले तपाईहरु पार्टीमा आउनुपर्यो भन्दै प्रस्ताव गर्नुभयो । युवा अगाडि बढ्नुपर्छ भन्नुभयो । सिनियर नेता दीपक बोहराको कुरा हामीले काट्न सकेनौं । हामीले उहाँको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै राप्रपामा प्रवेश गर्ने निर्णय लियौं । काठमाडौंमा हामी (म र बुवा) लाई पशुपति शमसेर जंग बहादुर राणाले राप्रपामा प्रवेश गराउनुभयो । उहाँकै हातबाट पार्टीको सदस्यता लिऔं ।

मलाई जीवनमा राजनीतिक क्षेत्रमा सबैभन्दा उचाईमा पुर्याउने तीन व्यक्तिहरुको ठूलो हात छ–मेरो बुवा, सर्वेन्द्रनाथ शुक्ल र दीपक बोहरा । सर्वेन्द्रनाथ शुक्लसँग ११ वर्ष पार्टीमा बिताएको छु । उहाँले मलाई पार्टीमा कही न कही ठाउँ दिनुभयो । केही विमत्ति थियो होला । तर, नेता शुक्लले मलाई नगर विकास समितिको अध्यक्ष बनाउनुभयो । दीपक बोहराको बारेमा कुरा गर्दा उहाँले मलाई समाजसँग प्रत्यक्ष रुपमा नेतामा हुनुपर्ने गुण, जनतासँग भिजेर पार्टीलाई चलायमान बनाउने तरिका सिकाउनुभयो । बोहरासँग सहकार्य गरेर सागर प्रताप राणाले पनि साथ दिनुभयो । मलाई पार्टीमा रुपन्देही जिल्ला उपाध्यक्षको जिम्मेवारी दिइयो । धेरै उपाध्यक्ष हुँदाहुँदा मलाई कार्यकारी भूमिकमा राखेर कार्यबाहक अध्यक्षको भूमिका तथा जिम्मेवारी दिइयो । म कार्यबाहक अध्यक्षको जिम्मेवारीमा हुँदा ठूलाठूला कार्यक्रमको संयोजक गर्ने अवसर पाएँ । कमल थापा पार्टीको अध्यक्ष हुँदा राप्रपाले आयोजना गरेको मेची–महाकाली यात्रामा मैले रुपन्देहीमा जिम्मेवारी लिएर कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको थियो । मैले सुझाव दिएका विषयहरुलाई महत्वपूर्ण मान्दै नेता बोहराले लागू गर्नुहुन्थ्यो । गर्नुपर्छ भनेपछि गरिहाल्ने उहाँको स्वभाव थियो । हाँसेर हुन्छ भन्नुहुन्थ्यो । मैले दिएको सुझावमध्ये ९९ प्रतिशत सुझाव अगाडि बढाउनुभयो ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा मैले रुपन्देहीमा निर्वाचन परिचालन समितिको जिम्मेवारी पाए । यसको श्रेय पनि दीपक बोहरालाई नै जान्छ । आज म ४२ वर्षको भए । मलाई यो राजनीतिक उचाईमा पुर्याउन बोहराको महत्वपूर्ण योगदान छ । उहाँको अनुपस्थितिले उहाँको परिवारपछि दुःखी भएको व्यक्ति म (अजय कुमार गुप्ता) हो जस्तो लाग्छ । उहाँको निधनपछि निकै दुःखी छौं । एटा असल र परिपक्व अभिभावक गुमाएको अनुभुति भएको छ । उहाँ युवा नेतृत्वको पक्षमा सत्रै हुनुहुन्थ्यो । मेरो राजनीतिक यात्रामा उहाँको अभाव सधै खड्किरहन्छ । जीवनभरी उहाँको अनुपस्थिति खड्कीरहन्छ । उहाँको ठाउँ अरु कसैले लिन सक्छ जस्तो मलाई लाग्दैन । पार्टीमा धेरै सिनियर नेता हुनुहुन्छ । उहाँहरुको पनि आफ्नो ठाउँमा भूमिका महत्वपूर्ण छ । दीपक बोहराले गरेका कामहरुबारे नयाँ पिढीले पनि बुझ्नुपर्छ । उहाँले धेरै महत्वपूर्ण कार्यहरु गर्नुभएको छ ।

भैरहवामा सञ्चालन भएको एडीबी परियोजना ल्याउन बोहराको महत्वपूर्ण भूमिका छ । त्यसैले उहाँको योगदान बिर्सनुहुँदैन र बिर्सन सक्दैनौ । कोरोना महामारीमा उहाँकै पहलमा सातवटै प्रदेशमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो । उहाँ आबद्ध संस्था प्रतिमान–नीमा स्मृति प्रतिष्ठान क्वारेन्टिनको रुपमा प्रयोग गरिएको थियो । जबकी त्यतिबेलाको डरलाग्दो परिस्थिति थियो । कोभिडको त्रासका कारण आफ्नो घर, कार्यालय दिने अवस्था थिएन । रुपन्देही जिल्लाभरीका धेरै स्वास्थ्य संस्थाहरुमा उहाँकै पहलमा स्वास्थ्य सामग्री वितरण भयो । यसका लागि उहाँले विभिन्न दातृ निकायसँग पहल गर्नुभयो । विकास कार्यमा उहाँले कहिल्यै नाई भन्नुभएन ।

एउटा सांसद् र मन्त्रीले गर्ने सक्ने जति गर्नुभयो । विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । पराजित हुँदा पनि आफ्नो भूमिका उहाँले सशक्त रुपमा निर्वाह गर्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उहाँको महत्वपूर्ण पहल रहेको थियो । समग्रमा विकास कार्यमा उहाँले महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । दीपक बोहराको भौतिक शरीर नरहे पनि उहाँ हाम्रो मन र मस्तिष्कमा सदैव रहनुहुनेछ । उहाँले देखाएको बाटोमा अगाडि बढ्न सकुँ । अलविदा विकासप्रेमी नेता दीपक बोहरा ।
(गुप्ता राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष हुन् ।)