
आइतवार , चैत्र ३०, २०८१
तिलोत्तमा, ३१ चैत । तिलोत्तमा व्यापार संघ रुपन्देहीले नयाँ वर्ष २०८२ को अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा बोल्ने वक्ताहरुले क्रमश ः व्यवसायिक वातावरण बन्न थालेको भन्दै आगामी बजेट उद्योगी–व्यवसायीलाई सम्बोधन गर्ने गरी ल्याउनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सरकारले राम्रो काम गर्दागर्दै पनि कतिपय क्षेत्रबाट भ्रम छर्ने कोशिष भइरहेको भन्दै यसतर्फ व्यवसायीहरु सचेत र चनाखो बन्नुपर्ने बताए ।
विद्युत प्राधिकरणमा कुलमान घिसिङ हटेसँगै उद्योगहरुमा हुँदै आएको लोडसेडिङ हटेको, भारतसँग सरकारले ६०० मेगावाट विद्युत खरिदको सम्झौता गरेको भन्दै तथ्यका आधारमा विश्लेषण गर्न पनि उद्योगी–व्यवसायीलाई आग्रह गरे ।
त्यस्तै तिलोत्तमा व्यापार संघका संस्थापक अध्यक्ष एवं चेम्बर अफ कमर्श लुम्बिनीका उपाध्यक्ष जेपी कंडेलले सरकारको आर्थिक नीति र नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति मेल नखाने खालको हुँदा त्यसको असर उद्योगी–व्यवसायीमा पर्ने गरेको बताए ।
संघका आर्थिक सल्लाहकार नुमेन्द्र पौडेलले उद्योगहरुमा लोडसेडिङ हटेकाले उत्पादन बढेको र जसका कारण यसअघि वृद्धि भएको सिमेन्टको मूल्य पनि अहिले घटेको बताए । संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले व्यवसायिक वातावरण बन्दै गएकाले निराश नभइ आशावादी भएर अगाडि बढ्न उद्योगी–व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा संघका महासचिव चेतनारायण विश्वकर्मा (विष्णु कालीराज) ले पनि आफ्नो धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij