
आइतवार , चैत्र ३०, २०८१
हरेक गमनले आगमनलाई स्वागत गरिरहेको हुन्छ । नयाँ वर्ष नेपाली संस्कृतिमा केवल पात्रो फेरिने मात्र होइन, प्रकृतिलाई नियाल्दा समेत वसन्त ऋतुमा वृक्ष र लहराहरूमा पलाएका नवपल्लवित पालुवा र फूलहरूको सुवास, सिरसिरे बतास, अनि कोइलीको मीठो कुहुकुहु तथा चराहरूको चिर्बिर आवाजको संयोजनले विक्रम सम्वतको नयाँ वर्षलाई विशेष उत्साह, आशा र विश्वासका साथमा स्वागत गरिरहेको छ ।
हरेक वर्ष नयाँ वर्ष उत्साह, आशा र परिवर्तनको अपेक्षासहित आउँछ । नयाँ वर्ष सुरु हुनु अगाडि नै हरेक मानिसको मनमा अनेकौं रहर र नयाँ संकल्पहरू चुलिँदै जान्छन् । धेरैलाई लाग्छ अब केही नयाँ हुनेछ, जीवनमा नयाँ मोड आउनेछ । तर, व्यवहारमा त्यो उत्साह दीगो हुँदैन । मैले बाल्यकालमा बुझिनँ नयाँ वर्ष त एक हप्तामा नै पुरानो हुन्छ भनेर । अहिले भने बुझ्दैछु आवरण नयाँ होइन, खोजेको त आचरण नयाँ रहेछ । पात्रो त युगौंदेखि फेरिँदै आएको छ, तर मानिसको मिहिनेत, सोच, व्यवहार, र मूल्य, मान्यतामा परिवर्तन बिना कुनै पनि नयाँ वर्ष साँचो अर्थमा नयाँ बन्न सक्दैन । सायद सन्देश पात्रो फेर्नुभन्दा पनि पात्र फेर्ने हो । समयले अहिले यस्तो पात्र खोजिरहेको छ, जो हिजोभन्दा असल, जिम्मेवार र नैतिक होस् ।
न्यूइयर इभको रात । नयाँ वर्षको स्वागतमा शहर बेहुलीझैं सिँगारिएको छ । पुरानो वर्ष लुसुक्क विदा हुँदैछ । दुवै मञ्चमा जम्काभेट हुन्छन् । दुवैको बीचमा केही क्षण सांकेतिक रुपमा रोचक संवाद हुन्छ । उक्त संवादलाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको छ ।
पात्रहरू :
पुरानो वर्ष : (थकित, अनुभवले भरिएको, थोरै निराश)
नयाँ वर्ष : (उत्साहित, सकारात्मक, परिवर्तनको आशा बोकेको)
नेपाली जनता : (दर्शक)
दृश्य १ :
एउटा प्रतिकात्मक मञ्चमा रातको समय, बत्ती झिमिक झिमिक गरेर बल्दैछ । पुरानो वर्ष बृद्धको भेषमा एक हातमा लाठी, अर्को हातमा अखबार, थोत्रो डायरी, झोलामा केही सामान र टाउकोमा रुमाल बाँधेर विस्तारै हिड्दै विदा हुँदैछ.......... ।
पुरानो वर्ष (गहिरो सास फेर्दै) : अहो ! फेरि एउटा चक्र पुरा भयो । समयको यात्रामा म फेरि एकपटक बिदा हुने बेला आएको छ । म धेरै थाकें, धेरै कुरा देखेँ, धेरै सहें । धेरै परिवर्तन गर्न खोंजे तर सकिन । अब म जानलागें । मैले सँगै बोकेका यी राजनीतिक विवादका पानाहरू, महँगीको रिपोर्ट, अनि जनताको अधुरा सपनाहरू आदिले भरिएको गरुङ्गो झोला कस्लाई हस्तान्तरण गरौं .........।
ठीक त्यसैबेला छेउबाट नयाँ वर्ष धक्का मार्दै प्रवेश गर्छ, । साथमा डिजिटल डायरी, एयरपड, घडी र स्मार्टफोन आदि बोकेको हेर्दै आकर्षक देखिन्छ नयाँ वर्ष ।
नयाँ वर्ष (आत्मविश्वासका साथ हँसिलो अनुहारमा) ः नमस्कार पुरानो वर्ष दाइ । अब तपाईँको विश्रामको समय भयो । मलाई सबैले भव्य स्वागत गर्दैछन् । अब म केही नयाँ सपना, योजना र जोश लिएर आउँदैछु । यसपालि म पक्का बदलिन्छु । तपाईको कार्यकाल त टिकटकको भिडियो जस्तो देखियो सर्ट भाइरल बट पेनफुल स्टोरी । जाने बेलामा त्यो गरुङ्गो झोला मलाई दिनुहोस् । तपाईंको अनुभव र मेरो नयाँ सोचले अवश्य राम्रो गर्नेछु ।
पुरानो वर्ष (मलिन अनुहार लगाउँदै) ः मलाई पनि गतसाल तिमीलाई झैं सिंगारेका थिए । कस्ता मीठामीठो शब्दले शुभकामना दिदैं पुकारेका थिए । मन नै आनन्द भएको थियो । तर, अब तिमी पर्ख न एकवर्ष, त्यसपछि थाहा पाउनेछौं । मलाईझैं तिमीलाई पनि मान्छेले कुरुप भन्नेछन् ।
नयाँ वर्ष (डराएझै ) : यस्तो किन हुन्छ हँ ? नयाँ वर्षले डराएरै जिज्ञासा राख्यो ।
पुरानो वर्ष (नम्र हुँदै) : मान्छे आफू निकम्मा भएपछि दोष अरुलाई दिन्छ । वर्षलाई र समयलाई दोष दिन्छ । पुरानो वर्षले असन्तुष्टि पोख्यो ।
नयाँ वर्ष (आत्तिदैं) : अनि मान्छे किन त्यस्तो भएको होला हँ ? नयाँ वर्ष आत्तियो ।
पुरानो वर्ष (तत्व थाहा पाएझैं ) : हेर भगवानले मानिसलाई अनौठो किसिमले बनाउनुभएको छ । समस्या र आलोचना नभएको मानिस न हिजो थियो, न आज छ, न भोली हुनेछ । प्राय ः सबै मानिस त्यसैको भुमरीमा फस्न पुग्छन् । त्यसैले वर्ष बदलिएर केही हुँदैन । मानिस स्वयं आफै सक्षम भएर बदलिनुपर्छ । तिमीलाई के यो थाहा छैन ?
नयाँ वर्ष (समालिंदै) : त्यो त थाहा छ । तर, म अहिले मानिसहरूको बीचमा ठूलो आशा, भरोसा, उत्साह, उमंग, विश्वास, योजना र शुभकामना लिएर आएको छु । मलाई मानिसहरूले भव्य तरिकाबाट स्वागत गरिरहेका छन् । पुरानो वर्ष दाइ कृपया तिमीले मलाई अहिले नकारात्मक तरिकाबाट हतोत्साहित नगर ।
पुरानो वर्ष (हाँसोसहित) : जोश त सबैसँग हुन्छ, योजना पनि सबैले बनाउँछन् । तर, तिमीले के गर्यौं, त्यो महत्वपूर्ण छ । सपना त म पनि लिएर आएको थिएँ । कुनै पूरा भए, कुनै अधुरा रहे । आज खुशी, पीडा, हाँसो, आँसु सबैसँगै लिएर जान लागेँ । समाज र आधुनिक पुस्ता अहिले फेसबुक, रिल, इन्टाग्राम, टिकटक र युटुबमा लुगा फेर्दै स्मार्ट देखिने नाटक गर्छ । सामाजिक सञ्जालमा पीडा र आक्रोश ओकल्छ । अरुलाई अर्ति उपदेश दिन्छ । आइफोन र स्मार्टफोन बोक्छ । तर, काम कहिल्यै स्मार्ट गर्दैन । तिमी पनि त्यस्तै त होला नी !
नयाँ वर्ष (गम्भिर हुँदै) ः हेर, पुरानो वर्ष दाइ, तिमी मेरो आगमन र उत्साहमा चिसोपानी खन्याउने चेष्टा नगर । म केही फरक गरेर देखाउने छु ।
दृश्य २ :
पुरानो वर्ष : हेर, मेरो समयमा सामाजिक पाटो पनि सजिलो रहेन । धेरै मानिसहरूले आत्मबल गुमाए । युवाहरू निराश भए । धेरै विदेश गए । मैले त धेरै गर्न खोजेको थिएँ । तर, साधनस्रोतको अभाव, प्राकृतिक विपत्ति, आन्दोलन । समस्या पनि कति हो कति । कसरी वर्णन गरौं खै ?
नयाँ वर्ष : सुन, पुरानो वर्ष दाइ, तिमीले मलाई समस्याको भारी बोकाएर विदा हुँदैछौ । तर, म थाक्ने छैन । त्यसैले म शिक्षा र सीप विकासमा जोड दिन चाहन्छु । सबैलाई समेट्ने समाज बनाउने प्रयास गर्नेछु । जहाँ महिला, युवा, वृद्ध, अल्पसंख्यक सबैले राम्रो महसुस गर्न सकुन् । यो देशप्रति गौरव हुने गरी जनताको साथ लिएर पारदर्शी ढंगले नविन काम गर्नेछु । मलाई स्वागत गर्ने नेपाली जनतामा रहेको निराशाको कालो बादललाई चिर्नेछु ।
पुरानो वर्ष : तिमीले अर्थतन्त्रको हालत देख्यौं ? उद्योग तथा व्यापारमा आर्थिक मन्दी छ । सटर, महल, फ्ल्याट, अपार्टमेन्टमा जताततै टुलेटका बोर्ड टासिएका छन् । युवाहरू रोजगारीको खोजीमा देशबाट ठुलो संख्यामा बाहिरिएका छन् । अर्थतन्त्रको हालत हेर ठुलाबडाका ढुकुटी भरिएका छन् । राष्ट्रको ढुकुटी खोक्रो छ । व्यापार घाटा चुलिएको छ । निर्यातको अवस्था निराशाजनक छ । बाटोघाटोको निर्माण कार्य लथालिङ्ग छ । प्रदुषणले विश्व रेकर्ड राखिसक्यो । शिक्षा, स्वास्थ्य र यातायात, बैंक तथा वित्तीय क्षेत्र, सहकारी, राजनीति जता हेर्योे समस्या नै समस्या । अब मेरो जाने बेला भयो । म अन्तिममा सत्य नबोलेर के गरुँ ?
नयाँ वर्ष (गम्भिर हुँदै) : सत्य हो दाइ । तपाईं समयको आरोह–अवरोह भोगिसक्नुभएको अनुभवी हुनुहुन्छ । म त अहिले पनि यात्राको सुरुवातमै छु । न धेरै अनुभव छ, न त थकान । तपाईंले छोडेर जानुभएको बाटो मेरो लागि मार्गदर्शक बन्नेछ । अब म परिवर्तनको संकल्प लिएर अघि बढ्दै छु । डिजिटल स्टार्टअप, उद्यमशीलता, कृषि आधुनिकीकरण जस्ता योजनामार्फत युवाशक्तिलाई स्वदेशमै अवसर दिन चाहन्छु । अब म हरेक क्षेत्रमा क्यूआरकोड राख्न लगाउनेछु । जसले अनियमितता र भ्रष्टाचारको मार्ग अवरुद्ध गर्नेछ । आधुनिक प्रविधिलाई सक्दो उपयोग गर्ने प्रेरित गर्नेछु । इमान्दार काम गरेर मात्र पैसा कमाउन सकिने सिस्टम बनाउने छु । तर, यो यात्रा मेरो एकल प्रयासले मात्र सम्भव छैन । यसमा जनताको साथ, खबरदारी र सक्रिय सहभागीता आवश्यक छ । अव समय आएको छ, ढलेका संरचनाहरू उठाउने, बिग्रेका प्रणालीहरू सुधार गर्ने । परिवर्तन सामाजिक सञ्जालको स्टाटस अपडेटमा मात्र होइन, मानसिकता अपडेटमा हुनुपर्छ । मेरो जिम्मेवारी धेरै छ । यसका लागि म निडर भएर यो मुलुकमा सकारात्मक परिवर्तन ल्याउने संकल्पका साथ अगाडि बढ्नेछु ।
नेपाली जनता (दर्शक) : नयाँ वर्षको उत्साहित कुरा सुनेपछि दर्शक दीर्घाबाट तालिको गडगडाहट हुन्छ ।
पुरानो वर्ष : सामाजिक विसंगतिहरू अझै हट्न सकेनन् । गरीबी, लैंगिक विभेद, जातीय सोच । मैले यसलाई हटाउन धेरै प्रयास गरें । तर, यसका केही अवशेषहरू बाँकी छन् । मैले मानिसहरूलाई धैर्य गर्न धेरै सिकाएँ । तिमीले अब यी सबै बाँकी कामलाई अगाडि बढाउनुपर्छ ।
नयाँ वर्ष : अवश्य, हामी आधुनिक समाज र प्रविधीको जमानामा छौं । अब शिक्षामा सुधार, समुदायमूलक सोच, र सहकार्यमा आधारित अभियान लागुगरेर हामीले यस्ता समस्याहरू हटाउने छौं ।
दृश्य ३ :
मञ्चमा कालो÷सेतो रंगको कुर्सी, केही नेताहरू कुर्सी तानातान गर्दैछन् । केही समय हल्ला खल्ला हुन्छ ।
पुरानो वर्ष (थकित मुद्रामा) : राजनीतिक पाटो त झनै भद्रगोल । स्थायीत्वको हल्ला थियो, तर फेरि कुर्सीको खेलमै बित्यो । जनताहरू हेरेको हेरै भए । नेताहरूले जनताहरूसँग गरेको वाचा बिर्से ।
नयाँ वर्ष (गम्भीर अनुहारमा) : यो वर्ष राजनीतिमा जवाफदेही नेतृत्व र दीर्घकालीन सोचको माग उठाउने छु । म जनतामाझ चेतना ल्याउन चाहन्छु । अब हाम्रो होइन राम्रो छान्नुपर्ने बेला आएको छ ।
पुरानो वर्ष (लज्ति मुद्रामा) : राजनीतिक अस्थिरता त मेरो समयमा ठुलो समस्या बन्यो । गठबन्धन फेरबदल, विकास रोकिने अनि जनताको आवाज हराउने । माग पूरा गराउन आन्दोलन गर्नुपर्ने । नेताहरू कुर्सीको लागि म्युजिकल चेयर खेल्ने । नेताले त कुर्सीलाई साँचो माया गर्दा रहेछन् । पाँच वर्ष जनतालाई सम्झँदैनन् । कुर्सी हट्ने बेला बल्ल जनताको कुरा गर्छन् ।
नयाँ वर्ष (दर्शकतर्फ ध्यान केन्द्रीत गर्दै) : अब राजनीतिक नेतृत्वसँग जवाफदेहीता माग्ने छु । सामाजिक सञ्जाल जागरुक बनाउने छु । जनतालाई सचेत गराउने छु कि उनीहरूको मत, मतलबीहरूले होइन, जिम्मेवारहरूले प्रयोग गर्न पाउनुपर्छ । अब जनताले पनि रिमोट कन्ट्रोल प्रयोग गर्नुपर्छ । नेताका अनावश्यक कुरा र फोस्रा आश्वासनलाई म्युट गर्ने । स्किप गर्ने । अनि कहिलेकाहीं डिलिट पनि गर्ने हो भने नेतृत्व पनि ठीक ठाउँमा आउँछन् । अबको वर्ष टिकटक ट्रेण्ड होइन, रियल चेन्ज बनाउँछु । के जनता मलाई साथ दिन तयार हुनुहुन्छ ?
नेपाली जनता (दर्शक) : हो हामी तयार छौं । नयाँ वर्ष तपाई इमान्दार भएर अगाडी बढ्नुहोस् दर्शक दीर्घाबाट ताली, सिठी र हुटिङ्ग हुन्छ । वी निड चेन्ज । हेप्पी न्युइयर । वी निड चेन्ज । हेप्पी न्युइयर । हेप्पी न्युइयर ।
दृश्य ४ :
पुरानो वर्ष (अस्ताउँदै) : म अब म जान्छु । झोला बोक्छ, तर केही विर्सिएको जस्तो गर्छ । थाहा छ नयाँ वर्ष, मेरो झोला भारी छ । लथालिङ्ग अर्थतन्त्र, मँहगी, बेरोजगारी, व्यापार घाटा, युवाहरु अत्याधिक विदेश पलायन आदि थुप्रै विषय मैले सहाल्न सकिन यो भारी तिमीलाई नै छोडेर बिदा हुँदैछु ।
नयाँ वर्ष (थप अडान लिँदै) : दाइ तपाईं आफ्नो गरुङ्गो झोला र गुनासोहरूको डायरी त छोड्नुभयो । म इमान्दार र निडर भएर काम गर्नेछु । मलाई विश्वास छ जनताले मलाई साथ दिनुहुने छ । परिवर्तन एकै रातमा हुँदैन, तर एउटा रातबाट नै सुरु हुन्छ । तिमीले बाँकी राखेको झोला हेरेँ, सजिलो छैन । तर, आशा भने मसँग छ । म नयाँ नीति, लगानी र उत्पादनमा वृद्धिका लागि योजना लिएर आएको छु ।
पुरानो वर्ष (अस्ताउँदै) : त्यो गुनासोहरूको डायरी तिमीले नै राख । कहिलेकाहीं पढ्नू, अनि सोच्नु कसरी सुधार्न सकिन्छ भनेर । म त अब स्मृतिमा सीमित हुने भएँ । तिमी चाहिँ आशा मात्र नभएर काम गरेर देखाऊ । जनताको मुहारमा हाँसो ल्याउन सके, तब मात्र तिमी साँच्चिकै नयाँ वर्ष ठहरिने छौ । ठीक छ, अब म जान्छु भन्दै पुरानो वर्ष ओझेलमा पर्छ ।
नयाँ वर्ष : तिमीलाई सम्झँदै, म अघि बढ्नेछु । धन्यवाद, पुरानो वर्ष शुभ बिदाइ । अलबिदा ।
ठीक त्यही समयमा मञ्चमा नेपाली जनताबाट दीप प्रज्वलन, पुष्प वर्षा र आताशबाजीसहित नयाँ वर्षको भव्य स्वागत हुन्छ ।
नयाँ वर्ष (दर्शकतिर फर्किदै) : सामूहिक रुपमा हात समाएर माथि खडा गर्दै ।
सामूहिक स्वरमा दर्शकहरू सँगै :
फूल फुलिरहोस् जीवनको बाटोमा
खुसी चम्किरहोस् तपाईको मुहारमा
आँखामा सजिएका सबै सपनाहरु
मुटुमा लुकेर बसेका सबै आशाहरु
यो नयाँ वर्ष सत्यमा परिणत होस्
हर कदममा मिलोस खुसीको बहार
नयाँ वर्षको तपाईलाई दिन्छौं यही उपहार ।
नयाँ वर्षको आगमनको अवसरमा तपाईंको जीवनमा खुशी, शान्ति, र सफलताले भरिपूर्ण होस् । धेरै धेरै शुभकामना, ह्याप्पी न्यूइयर । मञ्चमा पुनः आताशबाजी, खुसीयाली, संगीतमय र शुभकामना आदानप्रदान हुन्छ............। धन्यवाद !!
समाप्त ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij