
बिहिवार , बैशाख ४, २०८२
भैरहवा, ४ वैशाख । रुपन्देहीका नागरिक समाज, उद्योगी–व्यवसायी र बुद्धिजीविहरुले देशको विकास र समृद्धिबारे चिन्ता व्यक्त गरेका छन् । बिहीबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले जिल्लामा निर्माण भएका पूर्वाधार अलपत्र पारिएको तथा नीतिगत रुपमै सरकार स्पष्ट नरहेकोले समस्या थपिएको विचार राखे । उनीहरुले विकासमा राजनीति नगर्न र नागरिकलाई आश्वासन मात्र दिने कार्य नगर्न सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा भएको कार्यक्रममा बोल्दै उनीहरुले सदनमा जनताका आवाज उठाउन र आवश्यक पहल लिन प्रचण्डलाई अनुरोध गरे ।
माओवादी केन्द्रको जनतासँग माओवादी हुलाकी मार्ग जागरण अभियानको क्रममा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले देशको आर्थिक तरलता, युवाको विदेश पलायनसँगै रुपन्देहीमा निर्माण भएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मोतीपुर औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनबारे विचार राखे । सरकारले आश्वासन मात्र दिएको उल्लेख गर्दै उनीहरुले रुपन्देहीको आर्थिक र पर्यटन विकासको लागि सदनमा आवाज उठाउन माओवादी केन्द्रलाई आग्रह गरे ।
कार्यक्रममा उद्योग व्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले नीतिगत सुधार नगरी अहिलेको आर्थिक समस्याबाट उठ्न नसकिने बताए । भैरहवाको विमानस्थलमा राज्य र निजी क्षेत्रको गरी झण्डै दुई खर्ब लगानी भएको उल्लेख गर्दै उनले उक्त लगानीलाई खेर जान नदिन दलहरुले पहल गर्नुपर्ने विचार राखे ।
त्यसै गरी नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले जुन सरकार आए पनि उद्योगी–व्यवसायी र नागरिकको अवस्थामा परिवर्तन नआएको बताए । उनले भौतिक र आर्थिक विकासमा दलीय सहमति आवश्यक रहेको औंल्याए ।
घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेश अधिकारीले युवाको विदेश पलायन र उद्योगहरु बन्द हुँदै जाने स्थिति नरोकिए राज्य असफल हुने चिन्ता व्यक्त गरे । उनले नीति बनाउने र नीतिमा टिकेर काम गर्ने नभइ हचुवाको भरमा आयोजना ल्याउने र अलपत्र पार्ने कार्यमा राज्य नै लागेको भन्दै यस्तो कार्य रोकिनुपर्ने माग गरे ।
बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठले मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनमा अनावश्यक राजनीति भएको भन्दै चिन्ता व्यक्त गरे । त्यसै गरी लुम्बिनी विश्वविद्यालयका प्राध्यापक तथा शिक्षकहरुले शिक्षाको क्षेत्रमा सरकारको नीति स्पष्ट नरहेको बताए । उनीहरुले लुम्बिनी बौद्ध विश्वविद्यालयले झण्डै ८ अर्बको योजना ल्याएको भए पनि विद्यार्थी नै नपाइने हो की भन्ने चिन्ताले पिरोलेको बताए । शिक्षकहरुले सरकारले शिक्षकका माग सम्बोधन गर्न आलटाल गरेको भन्दै पहल गरिदिन प्रचण्डसँग आग्रह गरे ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार नै बिचौलियाले चलाएको हुनाले समस्या आएको बताए । उनले आफू सरकारमा हुँदा विमानस्थल चलाउनेदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयको योजना निर्माण र अर्थतन्त्रको नीतिगत सुधारको लागि काम गर्दागर्दै सेटिङ्गमा सरकार ढालिएको बताए । आफू देशको विकास र समृद्धिकै अभियानमा रहेको उल्लेख गर्दै प्रचण्डले आफूलाई साथ दिन नागरिक समाज, बुद्धिजीवि तथा उद्योगी–व्यवसायीलाई आग्रह गरे ।
उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष गोविन्द गैरेको अध्यक्षता रहेको कार्यक्रममा माओवादी केन्द्रका नेता वामदेव क्षेत्री, उद्योग व्यापार महासंघका बाबुराम पोखरेल लागयतले बोलेका थिए । व्यवसायीहरुले अध्यक्ष प्रचण्डलाई उद्योगी–व्यवसायीका समस्याको टिपोटसहित ज्ञापनपत्र समेत बुझाएको उद्योग व्यापार संघ रुपन्देहीका सचिव नेत्र रुचालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij