२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘सेजको संरक्षण गर्नुपर्छ भन्ने निजी क्षेत्रको चासो सकारात्मक’

शुक्रवार , बैशाख ५, २०८२

भैरहवा, ५ वैशाख । संघीय संसद् (प्रतिनिधि सभा) को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) को स्थलगत अनुगमन गरेको छ । समितिले सेजमा रहेका उद्योगहरुको अनुगमन गर्दै यहाँ रहेका समस्याबारे जानकारी लिएको हो ।

IMG_2980.JPG

अनुगमनपश्चात विशेष आर्थिक क्षेत्र प्राधिकरणले समितिसँग विशेष आर्थिक क्षेत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा समितिका सभापति अब्दुल खानले सेजको संरक्षण तथा यसलाई बचाइराख्नुपर्छ भन्ने निजी क्षेत्रको चासो सकारात्मक पक्ष भएको बताए । ‘राज्यले यसमा ध्यान दिनुपर्छ, उद्योगी–व्यवसायीको चासो र चिन्ता सकारात्मक छ, ’उनले भने–‘सेजमा लगानी गर्न हिचकिचाउनुहुँदैन । सेज हामी सबैको सम्पत्ति हो । तपाईहरुको गुनासो र समस्या सरकारसमक्ष पुर्याउँछौं ।’

आयातलाई प्रतिस्थापन र निर्यातलाई प्रवद्र्धन गर्ने नीतिलाई सार्थकता दिनुपर्ने उनको भनाइ छ । सभापति खानले सेज अनुगमनका क्रममा उद्योगी, व्यवसायी, श्रमिकका समस्या बुझ्न पाइएको र कतिपय गुनासो र समस्या कानूनमार्फत सम्बोधन गर्नुपर्ने बताए । ‘सेजलाई सबै मिलेर जर्गेना गर्नुपर्छ, यहाँका समस्या समाधानका लागि समितिमार्फत पहल गर्छौं, ’उनले भने । त्यस्तै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले भन्सारका कारणबाट समस्या छ जस्तो नलागेको बताए ।

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले सेजमा उद्योग सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘वस्तु निर्यात गर्ने उद्योगहरुलाई सेजमा ल्याउने वातावरण बनाउनुपर्छ, ’उनले भने–‘सेज बचोस् र सेज सञ्चालनका लागि प्रयास जारी रहोस् ।’

IMG_3114.JPG

अनुगमनमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान, सदस्यहरु तथा प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवाल, गणेश पराजुली, रमा कोइराला पौड्याल, रुकमणी राना बराइली, रेखा यादव, हेमराज राई, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्य, महासचिव कृष्ण प्रसाद घिमिरे, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थी, व्यवसायी राजेन्द्र गुप्ता, सेजका कर्मचारी लगायत सहभागी थिए । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकी सदस्य रेखा यादवले सिमेन्ट लगायत वस्तुको मूल्यवृद्धि भएको उजुरी आएपछि वास्तविक अवस्था बुझ्न लुम्बिनी प्रदेशमा रहेका उद्योगहरुको स्थलगत अनुगमन गरिएको बताइन् । उनले अवस्था बुझेर आवश्यक कदम चालिने बताइन् ।