
आइतवार , बैशाख ७, २०८२
भैरहवा, ७ वैशाख । पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय स्थलहरुको प्रचारप्रसार आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले आर्थिक समृद्धिको मुख्य आधार पर्यटन भएकोले पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।
आइतबार रुपन्देहीको भैरहवामा भएको गोरखा नगरपालिका र सिद्धार्थनगर नगरपालिका तथा पर्यटन व्यवसायीबीच पर्यटन सञ्जाल गठन सम्बन्धी अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले आर्थिक क्षेत्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताए । उनीहरुले लुम्बिनी आएका पर्यटकलाई गोरखा र गोरखा आएका पर्यटकलाई लुम्बिनी लैजाने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले लुम्बिनी प्रदेशमा धेरै पर्यटकीय गन्तव्य रहेको र यहाँ पर्यटनको धेरै सम्भावना रहेको बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनी र ऐतिहासिक स्थल गोरखा मिलेर पर्यटनको विकासमा अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा संघका सल्लाहकार कृष्ण प्रसाद अधिकारी (सागर)ले सिद्धार्थनगर र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्नुपर्ने बताए । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले पर्यटन प्रवर्द्धनमा गोरखा नगरपालिकाको चासो सकारात्मक रहेको बताए । उनले पर्यटनको विकासका लागि दुवै नगरपालिका मिलेर अगाडि बढ्नुपर्ने बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष पिताम्बर न्यौपाने (विष्णु) ले स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक बेलहिया नाकाबाट भित्रिने गरेको बताए । संगठनका संस्थापक अध्यक्ष तथा सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले भने‘जति धेरै पर्यटक भित्र्याउन सकिन्छ, त्यति नै राम्रो हुन्छ । आर्थिक चलायमानका लागि पर्यटन प्रवर्द्धन आवश्यक छ ।’
संगठनका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईले पर्यटन क्षेत्रमा चुनौति र सम्भावना दुवै भएको बताए । संघकी सचिव कल्पना न्यौपानेले यस्ता कार्यक्रमले पर्यटनको विकासमा थप उर्जा प्रदान गर्ने बताइन् ।
होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका महासचिव गणेश प्रसाद बेल्बासेले सिद्धार्थनगर र गोरखाको आफ्नै पहिचान रहेको बताए । उनले दुवै पालिका हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । संगठनका कार्यसमिति सदस्य रोमाकान्त भट्टराईले पर्यटन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले पर्यटक धेरै आए पनि आएका पर्यटकको बसाई लम्ब्याउने योजना बनाउनुपर्नेमा जोड दिए । गोरखा होटल संघ, गोरखाका निवर्तमान अध्यक्ष निधि प्रसाद तिमिल्सिनाले गोरखा नगरपालिकाले गोरखा पर्यटन वर्ष सन् २०२५ मनाइरहेको बताए । उनले पर्यटन वर्षमा गोरखा भ्रमणमा आउने पर्यटकलाई विभिन्न छुट सुविधा रहेको बताए । संघका सचिव विष्णु प्रसाद तिमिल्सिनाले गोरखा भ्रमण गर्न सिद्धार्थनगरबासीलाई आग्रह गरे ।
होटल व्यवसायी महासंघ, नेपालका केन्द्रीय उपाध्यक्ष भाइचन्द्र श्रेष्ठले गोरखा र सिद्धार्थनगरबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन दुई पालिकाबीच भगिनी सम्बन्ध कायम गर्नुपर्ने बताए । उनले पर्यटकीय हबलाई व्यवस्थित गर्न विशेष प्याकेज बनाउनुपर्नेमा जोड दिए ।
महासंघका केन्द्रीय उपमहासचिव तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका सदस्य राजेश महोत्राले पर्यटनको विकासका लागि सामूहिक प्रयास र पहल आवश्यक रहेको बताए । सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सबै मिलेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । संघका उपाध्यक्ष भोज बहादुर खत्री (भोजेन्द्र)ले पर्यटन व्यवसायमा प्रचारप्रसार महत्वपूर्ण रहेको बताए ।
गोरखा नगरपालिकाका प्रमुख (मेयर) कृष्ण बहादुर राना मगरले नेपाल एकीकरणको अभियान गोरखाबाट भएको बताए । ‘विभिन्न जातजाति, कला, संस्कृतिले गोरखा भरिपूर्ण छ, ’उनले भने–‘प्राकृतिक रुपमा सुन्दर ठाउँ गोरखामा धेरै पर्यटक भित्र्याउन खोजेका छौं ।’ गोरखा र सिद्धार्थनगरबीच सम्बन्ध विस्तार अघि बढिसकेको उनले बताए । ‘विश्वले लुम्बिनी र गोरखालाई चिनेको छ । भगवान बुद्धको जन्मस्थल पवित्रभूमि लुम्बिनी र वीर यौद्धाहरुको कर्मभूमि भनेर गोरखालाई चिनिन्छ, यही दुवै स्थललाई जोड्नुपर्छ, ’उनले भने ।
संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले पर्यटन क्षेत्रको विकासमा सरकार गम्भिर बन्नुपर्ने बताए । उनले ठाउँठाउँमा चेकिङको नाममा पर्यटकलाई दुःख दिन नहुने बताए । सरकारले मुलुकमा लगानी भित्र्याउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव बाल बहादुर घिमिरे (सुनिल) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राजेश महोत्राको संयोजकत्वमा ९ सदस्यीय पर्यटन सञ्जाल गठन गरिएको गोरखा नगरपालिकाका सामाजिक विकास अधिकृत विजयभक्त उपाध्यायले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij