२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा जोड

सोमवार , बैशाख ८, २०८२

भैरहवा, ८ वैशाख । लुम्बिनी क्षेत्रको अर्थतन्त्रलाई चलायमान गराउन भैरहवा गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्ने एक कार्यक्रममा सहभागीले बताएका छन् । सहभागीहरुले राज्यको करिब ४५ अर्ब लगानीमा निर्माण भएको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले नियमिता नपाएसम्म लुम्बिनी क्षेत्रको उद्योगधन्दाको पुनरुत्थान नहुने बताएका हुन् ।

होक्वाईदो सेन्टर नेपालको आयोजनामा सोमबार रुपन्देहीको भैरहवामा आयोजित एकदिवसीय लुम्बिनीको उद्यम विषयक विचार गोष्ठीमा बोल्दै अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले लुम्बिनी क्षेत्रको उद्योगधन्दा चलायमानका लागि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नियमितता जरुरी रहेको बताए ।

प्रतिनिधिसभा सदस्य समेत रहेका डा. वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सुशासनलाई बढावा दिनुपर्ने पनि तर्क गरे ।

कार्यक्रममा बैंकर अनिल केशरी साहले लुम्बिनी क्षेत्रको पर्यटन उद्योग र अन्य निजी क्षेत्रबाट सञ्चालित उद्योगधन्दाको नियमित उडानको सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य जरुरी रहेको बताए ।

त्यस्तै प्रतिनिधि सभा सदस्य मनिष कुमार झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भ्रष्टाचारको विषयमा निर्मम हुने दावी गरे ।

कार्यक्रममा होक्वाईदो सेन्टर नेपालका अध्यक्ष अर्जुन अधिकारीले लुम्बिनी क्षेत्र पर्यटन उद्योगको लागि अत्यन्तै सम्भावना भएको बताए ।

लुम्बिनी क्षेत्रका उद्योगी, व्यवसायी तथा सामाजिक संघ–संस्थाका करिब ३ सय जनाको सहभागीता रहेको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य गणेश पराजुली, डा. लेखजंग थापा, सहकारी क्षेत्रको जानकार ज्ञानु पौड्याल, मानव अधिकारकर्मी रिमा बि.सी., नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति सभापति राजेश कुमार अग्रवाल लगायतले बोल्दै लुम्बिनी क्षेत्रको उद्यम विकासमा स्पष्ट साझेदारीसहितको सहकार्य जरुरी रहेको बताए । त्यसको लागि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको उनीहरुको भनाइ छ ।