२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सिद्धार्थनगरले अगुवाइ गर्नुपर्छ’

मंगलवार , बैशाख ९, २०८२


भैरहवा, ९ वैशाख । गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकाको अगुवाइमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले सिद्धार्थनगरको नेतृत्वमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सिद्धार्थनगर नगरपालिकाले सोमबार भैरहवामा आयोजना गरेको विमानस्थल नियमित सञ्चालन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नगरपालिकाको छातामुनी रहेर जान कुनै समस्या नरहेको बताए ।

कार्यक्रममा नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले विमानस्थल पूर्ण र नियमित सञ्चालन गराउने सबैभन्दा बढी जिम्मेवार आफूहरुकै रहेको बताए । उनले आवश्यक परे आन्तरिक उडान र सीमा नाका समेत ठप्प पार्नुपर्ने बताए । ‘यो अन्तिम लडाई हो, यो लडाईमा हामी सफल हुनैपर्छ, जसरी पनि विमानस्थल सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो मिसन हो, ’उनले भने–अरबौं लगानी जोखिममा परिसकेको छ ।’ विमानस्थल नियमित सञ्चालनका लागि सरकारले इच्छाशक्ति देखाउनुपर्ने मेयर खाँले बताए ।

नगर उपप्रमुख उमा अधिकारीले सबैको साथ र सहयोग लिएर नगरपालिका अगाडि बढ्ने बताइन् । उनले अब विमानस्थलमा पुगेर धर्ना दिन आवश्यक रहेको बताइन् ।

नगर प्रवक्ता तथा सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले पार्टी भन्दा माथि उठेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विमानस्थल सञ्चालनका लागि दबाब दिन आवश्यक परे सीमा नाका र यातायात ठप्प पार्न तयार रहनुपर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले विमानस्थल सञ्चालन गर्नु सरकारको दायित्व भएको बताए । उनले लुम्बिनी प्रदेश सरकारलाई साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थल सञ्चालनका लागि उद्योग, व्यवसाय बन्द गरेर सडकमा आउन तयार रहेको बताए । उनले अलगअलग रुपमा नभइ एकढिक्का भएर आन्दोलनमा उत्रिनुपर्ने बताए ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले काठमाडौं गएर सरकारसँग वार्ता गनुपर्ने बताए । उनले त्यति गर्दा पनि नभए सडकमा जानुको विकल्प नरहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सरकारले गरेका निर्णय किन कार्यान्वयन हुँदैनन् भन्दै प्रश्न गरे । उनले सरकारले गर्नुपर्ने काम नगरेका कारण विमानस्थल सञ्चालन हुन नसकेको जिकिर गरे ।

नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराईले कुनै पनि हातमा भैरहवाबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नदिने गिरोह सक्रिय छ भन्ने सुन्नमा आएको बताए । सिद्धार्थ होटल संघ, नेपालका वरिष्ठ उपाध्यक्ष किशोर जोशीले जहाज नचले यात्रु कसरी आउँछन् भन्दै प्रश्न गरे ।

भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष विजय गोविन्द श्रेष्ठले विमानस्थल सञ्चालनका लागि हुने आन्दोलनको नेतृत्व सिद्धार्थनगर नगरपालिकाका मेयरले लिनुपर्ने बताए । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले एकीकृत आवाजका साथ अगाडि बढ्नुपर्ने बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले एकद्वार प्रणालीबाट पहल गर्नुपर्ने बताए । चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले विमानस्थल सञ्चालन नभएपछि निराशा छाएको बताए ।संस्थाका वाणिज्य उपाध्यक्ष राम मिलन यादवले आन्तरिक उडान समेत विस्तार गनुपर्ने बताए । एशोसियट सदस्य राम अवध गुप्ताले विमानस्थल सञ्चालन नहुँदा सबैभन्दा बढी घाटा सिद्धार्थनगरलाई नै भएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कूल प्रसाद न्यौपानेले सिद्धार्थनगर नगरपालिकाभित्र विमानस्थल रहेकोले सिद्धार्थनगरकै नेतृत्वमा अगाडि बढ्नुपर्ने बताए ।

चेम्बर अफ कमर्स, रुपन्देहीका सचिव गौतम कुमार गुप्ताले एकीकृत भएर अगाडि बढ्न सके सफल हुने बताए । नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले विमानस्थल सञ्चालनका लागि अब काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने बताए । चेम्बर अफ कमर्स, रुपन्देहीका कार्यसमिति सदस्य कृष्ण प्रसाद मरासिनीले विमानस्थल सरकारले चलाउने होइन र भन्दै प्रश्न गरे ।

पर्यटन व्यवसायी श्रीचन्द गुप्ताले विमानस्थलमा यात्रु छैनन् भनेर अपवाह फैलाइएको बताए । नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगरका अध्यक्ष नारायण बहादुर हमालले सिद्धार्थनगर नगरपालिकाले नेतृत्व लिनुपर्ने बताए । चेम्बर अफ कमर्स, रुपन्देहीका कार्यसमिति सदस्य शिवम जयसवालले विमानस्थल सबैको साझा मुद्दा भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यसमिति सदस्य महेन्द्र कुमार श्रेष्ठले यो विमानस्थल सञ्चालन गर्न नदिने काठमाडौंमा गिरोह रहेको आरोप लगाए ।

सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत देव प्रसाद ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।