
शुक्रवार , बैशाख १२, २०८२
भैरहवा, १२ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना लगाएको छ । पटकपटक सूचना जारी गर्दासमेत अटेर गरी जथाभावी फोहोर फाल्न नछाडेपछि नगरपालिकाले जरिवाना पत्र काटेको हो ।
नगरका सडकपेटी एवं सार्वजनिक स्थानहरुमा जथाभावी फोहोर फाल्ने ६ व्यवसायिक फर्मलाई पहिलोपटकलाई पाँच हजारका दरले जरिवाना तोकिएको छ । नियमित सरसफाई एवं फोहोरमैला घरघरमा पुगेर उठाउँदा पनि कतिपयले अटेर गरी सार्वजनिक स्थानमा फोहोर फाल्न नछाडेपछि बाध्य भएर जरिवाना काट्नुपरेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए । ‘नगर स्वच्छ, सफा, हराभरा र सुन्दर राख्ने दायित्व हामी सबैको हो । हामीले सरसफाई गरिरहने र जथाभावी फोहोर पनि फालि नै रहने हो भने यो उद्देश्य पुरा हुन सक्दैन,’ उनले भने–‘त्यसकारण नगर सफा राख्ने कार्यमा सबैले सहयोग गरौं ।’
शुक्रबार वडा नम्बर ५ को गणेश लक्ष्मी कलेक्सन, हरि ओम फूल घर, के.जी फ्रूट एण्ड मेटिरेबल सप्लायर्स, आर.जे फ्रुट एण्ड सब्जी सप्लायर्स, वडा नम्बर ६ को नवदुर्गा प्लाष्टिक सप्लायर्स र वडा नम्बर १२ को बेबी लेण्डलाई पहिलोपटकलाई पाँचहजार जरिवाना तोकिएको नगरपालिकाले जनाएको छ ।
फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) को कसुर ठहर गरी सोही ऐनको ३९ (१) अनुसार जरिवाना तोकिएको र उक्त जरिवाना तीन दिनभित्र नबुझाए थप कारवाही गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । जथाभावी फोहोर फाल्नेहरुमाथि नगरपालिकाले निगरानी बढाएको र त्यसरी जो कोहीले सार्वजनिक स्थानमा फोहोर फालेको पाइए कारवाही गरिने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij