२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

निरन्तर नौटङ्की

आइतवार , बैशाख १४, २०८२

—कङ्ग्रेचुलेसन्स ! वी ह्याभ वर्क्ड हार्ड एण्ड एक्जक्यूटेड द प्रोजेक्ट सक्सेसफुल्ली ..... ..... दिस इज द टायम टु सेलिब्रेट अवर सक्सेस् ..... ..... लेडिज एण्ड जेन्टलम्यान लेट्स इन्जोए ..... .....  द पार्टी स्टार्ट्स ..... ..... 
औपचारिक कार्यक्रम सकिने बित्तिकै चिफअफ द पार्टीले घोषणा गर्‍यो । जन्मले अमेरिकी भएपनि आफ्नो जीवनका अधिकांशवर्षहरु नेपाल र नेपाल जस्तै अति अविकसित देशहरुमा बिताएको उ धूर्त नेपालीभन्दा पनि धूर्त र साम, दाम, दण्ड भेदको नीति व्यवहारमा प्रयोग गर्न पारङ्गत भइसकेको थियो । उसको घोषणा शान्त तलाउमा ढुंगा हाने जस्तो थियो । हलको शान्ति भङ्ग भयो र कल्याङ् मल्याङ् बढ्यो । ड्रिंक्स र स्न्याक्स सर्भ हुनथाले । सबै जनाआआफ्नो कुर्सीबाट उठे जर्‍याकजुरुक ।

—चियर्स ..... .....  गिलासहरु जुध्न थाले ।
—कुन ह्वीस्की हो यो डबल ब्ल्याक ?
—८८४८ ! एब्सुलेट छैन?
सोध्ने व्यक्ति खासै खुसी देखिन्नथ्यो ।
—म त नेपाली वाइन नपिउने, विदेशी भए मात्र ..... .....  सबैका आआफ्ना रोजाई र शर्त थिए ।  गलबन्दी च्यातियो तिम्ले तानेर ..... .....

संगीत बिस्तारै चर्को हुनथाल्यो । हलको अर्को कुनाको डान्सिङ्गल्फोरतिर लाइट बल्न थाल्यो—झल्याक् झुलुक् । खुट्टा हल्लिन र कम्मर लच्किन थाले । वातावरण तातिदै आयो ।
यो धुलिखेलको रिसोर्ट थियो र कार्यक्रम एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दुई दिनदेखि चलिरहेको कुनै आयोजना समापन गोष्ठी थियो । गोष्ठीमा त्यो आयोजनाका कर्मचारी थिए, साझेदार भनिए पनि अरु तीन वटा अन्तर्राष्ट्रिय हाकिम गैरसरकारी संस्थाका प्रमुखहरु थिए, हिस्सेदार भनिने कारिन्दा स्थानीय गैरसरकारी संस्थाका पदाधिकारीहरु थिए र सबै भन्दा महत्वपूर्ण व्यक्ति आयोजनास“ग सम्बन्धित सरकारी कार्यालय, विभाग र मन्त्रालयका उच्चपदस्थ पदाधिकारीहरु पनि थिए ।

आयोजनाले विकास सूचकाङ्कमा अत्यन्त पछि परेका केही सुदूर दुर्गम जिल्लाहरुमा पाँचवर्ष काम गरेको थियो र लक्षित विपन्न वर्गको स्वास्थ्य, चेतना र जीविकोपार्जनमा सकारात्मक परिवर्तन ल्याउन आयोजना अत्यन्त सफल रहेको निस्कर्ष पनि यही गोष्ठीले ठहर गरेको थियो ।

—आयोजनाले आफ्नो अधिकार बारे सजग गराएर उत्पीडित समुदायको सबलीकरण गर्‍यो ..... ..... 
—सीप र बीउपुजी मार्फत लक्षित वर्गको जीविकोपार्जन सुधारमा सहयोग गर्‍यो ..... ..... माछा दिएन बरु माछा मार्न सिकायो ..... 
—सेवार सामग्री प्रदायकस“ग लाभग्राहीलाई जोड्यो ..... ..... दिगो विकासको जग बसाल्यो ..... ..... 
—सफा पानी पिउन सिकायो, खुला दिसा नगर भन्यो र मुख्य कुरा हात धुन सिकायो ..... ..... रोग आधै घटे ..... .....  गोष्ठीमा आयोजनाका उपलब्धि र प्रभावविवरण जिल्लागत रुपमा प्रस्तुत गरिएका थिए । अत्यन्त आकर्षक थिए ती पावर प्वाइन्ट प्रस्तुतिहरु । प्रमाणको रुपमा देखाइए फोटोहरु—सुकेनास भएको बच्चा साग खान थोलेपछि हृष्टपुष्ट भएको, जुकाको औषधी एक मात्रा खाएपछि सधै बिरामी हुने रोगी महिला निरोगी भएको, आयोजनाबाट पाएको नेपिअर घाँस खाएपछि भैसीको दुध दुई लिटरबाट बढेर पाँच लिटर भएको, आयोजनाको तालिममा भाग लिएपछि सीमान्त कृषकले सेवा पाइने कार्यालय थाहा पाएको आदि आदि ।

—हामी भोक र रोगले मरिरहेका थियौं, भाग्यले आयोजना आयो, अब अलिदिन बढी बाँच्छौं कि ?
—खान र दिसा गर्नसम्म पनि जानेका थिएनौं, आयोजनाले सिकायो आयोजनालाई धन्यवाद ..... ..... 
— हामीले सरकार चिनेका थिएनौं, बच्चा र पशु बिरामी हुदा कहाँ जाने थाहा थिएन, आयोजनाले सरकार चिनायो, सेवा
सेवा लिन सक्ने बनायो ..... .....

पावर प्वाइन्ट प्रस्तुतिका बीचबीचमा छोटाछोटा भिडियो क्लिपहरु पनि देखाइए, सुगा रटान गरिरहेका कथित लाभग्राहीहरुका ।  
—आयोजना पारदर्शी छ, सधै हामीसँग समन्वय गरेरै काम गर्‍यो ..... .....

—समुदायमा पुगेर लक्षित लाभग्राही पहिचान गर्‍यो, सार्थक काम गर्‍यो ..... .....  
लाभग्राहीको भनाई र आयोजनाको दाबीलाई पुष्टी गर्ने स्थानीय पालिकाका प्रमुख, उप–प्रमुख आदिका भनाईका क्लिप पनि थिए बीचबीचमा ।
—आयोजनाले थालेका थुप्रै काम अधुरा छन्, आयोजनाले निरन्तरता पावस्, सरकार र दातासँग हाम्रो माग छ ..... ..... प्रगति प्रतिवेदन पेस गर्नेक्रममा सबै स्थानीय साझेदार संस्थाका पदाधिकारीहरुले जोडदार माग गरे ।

सबै प्रस्तुति र वक्ताको निचोड थियो आयोजना अत्यन्त सफल रह्यो । समुदायमा जे गर्‍यो यही आयोजनाले गर्‍यो । यो आयोजनाभन्दा पहिले केही भएको थिएन र यो आयोजना पश्चात पनि केही होला भन्ने आशा छैन । आयोजना आएकोमा जनता खुसी थिए तर आयोजना सकिएकोमा अहिले दुखी छन  । स्थानीय तह र स्तरका सरकारी निकायहरु चिन्तित छन ।
—आयोजना सफल रह्यो भन्नेमा म प्रष्ट भए, प्रभावकारी काम गर्ने आयोजनाले निरन्तरता किन नपाउने ? म आयोजना सञ्चालन गर्ने संस्था र दातादुबै विकास साझेदारलाई आयोजनालाई निरन्तरता दिन जोडदार अपील गर्दछु ..... .....  प्रमुख अतिथि, मन्त्रालयका जिम्मेवार पदाधिकारी प्रभावित भएर अत्यन्त सकारात्मक मन्तव्य बडो जोडदार तरिकाले दिए ।  
—प र र र ..... ..... हलतालीले गुञ्जियो । सधै सरकारको आलोचना गर्नु आफ्नो धर्म ठान्ने गैर सरकारी संस्थापनि सरकारले आफ्नो प्रशंसा गरोस् भन्ने चाहन्छन् 

प्रमुखअतिथिको सकारात्मक मन्तव्य सुनेर चिफअफ द पार्टीको अनुहार खुसीले धपक्क बल्यो । प्रमुख अतिथिलाई यो कार्यक्रममा ल्याउन उसले श्रम, समय र मोटो रकम लगानी गर्नु परेको थियो । उसले सोच्यो त्यो सबको राम्रै असुली भयो । खेर गएन ।
—सरकारको यो सद्भाव प्रतिआ भारी छौं, नेपाल सरकार र दाताको आदेशपालना गर्न हामी सदैब तत्पर छौं ..... ..... उसले मौका खेर जानदिएन । दातालाई ताकेर गतिलै बल्छी हान्यो ।
—हाम्रा करदाताको पैसा पिछडिएका समुदायको जीवनमा सार्थक परिवर्तन ल्याउन यसरी सदुपयोग भएको देख्दाअत्यन्त सन्तुष्ट छु । नेपाल सरकार र नेपाली जनतास“ग हातेमालो गर्न हामी सधै तत्पर छौं । म आयोजनाको लगानीलाई निरन्तरता दिने प्रयास गर्नेछु ।
दातृसंस्थाको हाकिम पनि प्रफुल्ल देखिन्थ्यो । उसको प्रफुल्लताले हलका धेरै अनुहारहरुमा अझ बढी प्रफुल्लता ल्यायो ।
यो सब आधा घण्टा अघिसम्मको कुरा थियो । अहिले औपचारिक कार्यक्रम सकिइसकेको थियो र हलको माहौलपनि फरक भइसकेको थियो ।
उसले चारैतिर हेर्‍यो ।

आधा घण्टा पहिलेसम्म विकास, न्याय र समृद्धि बारे गम्भीर चिन्तन भइरहेको शान्त हलमा अहिले चर्को संगीत र चर्कोहल्ला मात्र थियो । ह्वीस्की थियो, वाइन थियो र बीयर थियो जताततै । सहभागीहरु ससाना समूहमा बाँडिएर ठूलठूलो स्वरमा बोली रहेका थिए । र, कसले के बोल्दैछ भन्ने त्यही समूहमा सामेल भएपछि मात्र बुझ्न सकिन्थ्यो ।

पिउने भएको भए उ पनि दुई चार पेग स्कच लगाएर वादुई चार बोतल बीयर लडाएर कुनै समूहमा चर्कोचर्को बहस गरिरहेको वा नाचेको भ्रममा उफ्रिरहेको हुन्थ्यो होला । तर, स्वास्थ्यको कारण उसले पिउन केही वर्ष पहिलेनै छोडेको थियो । फलतः उ आफूलाई एक्लो र अरु भन्दा अलग महशुस गरिरहेको थियो । लगभग अढाई दशक लामो सरकारी सेवाको अनुभव बोकेर उ संयोगले यो गैरसरकारी संस्थास“ग जोडिन आएको थियो र यो हलका अधिकांश सहभागी जस्तो गैरसरकारी संस्थाको संस्कृतिमा अझै झ्याम्मिइ सकेको थिएन ।

हलको भीड र होहल्लाबाट अलग्गिएर उ पुराना कुरा सम्झिन थाल्यो । लगभग अढाई दशक लामो सेवा अवधिका कुरा, जुन अवधिमा उसले कुनै सरकारी विकासे निकायको जिल्ला देखि केन्द्रसम्मको जिम्मेवारी सम्हालेको थियो । सयौं नियमित समीक्षा गोष्ठीहरुमा सहभागी भएको थियो, कैंयौं गोष्ठीहरुको आयोजना गरेको थियो र धेरै गोष्ठीहरुमा अतिथि भएर सहभागी भएको थियो ।

प्रस्तुतिका तरिकाहरु मौखिकबाट लिथो, टान्सपेरेन्सी पेपर हुदै पावर प्वाइन्ट र भिडियोमा पुगे पनि यस्ता सरकारी गोष्ठीको मूल चरित्रमा भने खासै फरक पाएको थिएन उसले । त्यस्तै शासन व्यवस्था फेरिएर पञ्चायतबाट लोकतन्त्र हुदै गणतन्त्रमा पुगे पनि अन्य कतिपय कुरा जस्तो यस्ता गोष्ठीको चरित्र भने यथावत जस्तै थियो ।आज जस्तै हिजो पनि मोफसलमा आयोजना गरिने गोष्ठीहरु केन्द्रका पदाधिकारीहरुको लागि पिकनिक मनाउने बहाना थिएभने केन्द्रमा आयोजना गरिने गोष्ठीहरु मोफसलवालाको लागि कार्यक्षेत्रबाट भाग्ने राम्रा बहाना ।

—कुन मासु र ड्रिङ्क मन पराइबक्सन्छ होला सचिवज्यू ? 
—डी.जी. साबलाई कुनचामल रुच्छ होला ? —गेष्टरुम गतिलो छैन कुनहोटेलमा राख्ने होला?
आयोजक हुँदा गोष्ठीमा के छलफल गर्नेभन्दा बढी उसको ध्यान पाहुना हाकिमहरुलाई कसरी खुसी राख्ने भन्ने हुन्थ्यो भने आफू गोष्ठीको सहभागी मात्रहुने अवस्थामा केन्द्रका हाकिमहरुलाई के उपहार दिने र उनको आँखामा कसरी आफ्नो छवि सपार्ने भन्ने हुन्थ्यो ।
—मिसावटले हैरान पार्‍यो काठमाडौंमा, तोरीको शुद्ध तेल पाइएला ?
—यहाँको लोकल धान नाम चलेको रहेछ चामल खोज्न सकिएला ?
—यताको मास राम्रो हुन्छ भन्छन बीस पच्चीस किलो खोज्न सक्छौ  ?
—यताको मह अर्गानिक हुन्छ रे हो ?

गोष्ठीमा अतिथि बनेर आउने हाकिमहरुको ध्यान कायक्रमको प्रगति समीक्षातिर कम र उपहार संकलनतिर बढी हुन्थ्यो । उपहार संकलन गर्ने उनीहरुका बहाना पनि पदीय हैसियत अनुसार फरक फरक हुन्थे । हाकिमहरु खुसी नहुदा अपाएक जिल्लामा सरुवा हुन सक्थ्यो । विदेशको तालिम र भ्रमण छुट्न सक्थ्यो । र, सबैभन्दा मुख्य कुरा बढुवा हुन चाहिने कार्य सम्पादन मूल्याङ्कनको नम्वर घट्न सक्थ्यो । अतः हाकिमहरु खुसी हुनु जरुरी थियो र अरुले जस्तै हाकिमहरुलाई खुसी राख्ने प्रयासमै धेरै समय बितायो उसले पनि ।  —आर.डी. (क्षेत्रीय निर्देशक) साबलाई मन नपर्ला कि ? जिल्लास्तरको गोष्ठी भए प्रस्तुतिलाई जिल्ला हाकिमले सेन्सर गथ्र्यो । 
—डी.जी.साब रिसाइसिन्छ कि ? गोष्ठीमा महानिर्देशक आउने भएगोष्ठीको प्रस्तुति क्षेत्रीय निर्देशकले कम्तीमा पनि चार पटक सच्याउथ्यो ।
—सचिवज्यूलाई यस्तो देखाउने !

सचिव सहभागी हुने गोष्ठीको प्रस्तुतिलाई डी.जी.ले सुधार गथ्र्यो भने मन्त्रीज्यूलाई के नजर गराउने र के नजर नगराउने भन्ने टुंगो सचिव आफैले गर्थे । अतः सरकारी गोष्ठीहरुमा जे छ त्यो नदेखाएर माथिकाले के हेर्न चाहन्छन त्यो मात्र देखाइन्थ्यो । इमानदार भएर भन्नुपर्दा तथ्याङ्कहरु तोडमरोड गर्दै, प्रमाणहरु नष्ट वा सिर्जना गर्दै र उपलब्धीका बनावटी कथाहरु रच्दै बिताएको थियो उसले जागीरे अवधि ।

नवौं पञ्चवर्षीय योजना अवधिमा जागीरेको रुपमा देशलाई अगाडि बढाउने हुलमा मिसिएको उसले देशलाई धकेलेर चौधौं पञ्चवर्षीय योजनासम्म पुर्‍याएर सरकारी सेवाबाट विश्राम लिएको थियो र राजधानीमा घरघडेरी जोडेपछि देशलाई झन अगाडि धकेल्न लगातार छ हातबाजी मारेपछि लेनदेन नहुने दाउमा कौडा पारेको जुवाडे जस्तो यो गैरसरकारी संस्थामा पसेको थियो । 

धेरै परिचित अग्रज र समकालीनहरुको अनुहार सम्झ्यो उसले । ती मध्ये धेरै उ जस्तै सामान्य आर्थिक हैसियत भएको परिवारबाट आएका थिए । उसले जस्तै सामान्य जागीरे जीवन सुरु गरेका थिए । र, अहिले असामान्य आर्थिक हैसियत सहित सेवा निवृत्त जीवन आनन्दपूर्वक बिताइरहेका थिए ।
—देश भ्रष्टाचारको आहालमा डुब्यो चुर्लुम्मै ..... ..... उनीहरु सबै देशमा भ्रष्टाचार बढेकोमा चिन्ता भने सधैँ जाहेर गरिरहन्थे । —हाम्रो पालाको जस्तो कहाँ छ र ? लुट कान्छा लुट छ अहिले त ..... ..... र, सधै आक्रोश पनि पोख्थे ।
—कलि र गणतन्त्र एकै भए । कलिमा देवताको र गणतन्त्रमा कानुनको डर रहेन ..... ..... दुख मान्थे र तर्क, तुलना पनि गर्थे । 
—हिजो चप्पल पड्काउनेहरुको जिम्मामा देशको ढुकुटी छ ..... देश नेतैले लुटेर भ्याउने भए ..... ..... एउटा तर्क उठ्थ्यो ।
—नेतालाई सिकाउने कर्मचारी त हुन, लुट्ने काममा को पो पछि छ र ? जबाफमा अर्को तर्क आउथ्यो तुरुन्तै ।
—जे होस्, देश र देशवासीको भविष्य भने चौपट भयो अब ..... ..... 
छलफलको निस्कर्ष हुन्थ्यो । आफू सेवामा रहदासम्म चमचम उज्यालो देखिने देशको भविष्य आफू सेवानिवृत्त भएपछि अध्यारो मात्र देख्थे सब । यस्तै हो त ? उसले ठम्याउन सकेन । टाउको झट्कार्‍यो र सोचाईको कुवाबाट आफूलाई निकाल्ने प्रयास गर्‍यो ।

यो ज्यानलाई सम्झेर च्याप्छु सिरानी ..... ..... 
गीत ज्यादै चर्को थियो । महिला र पुरुष एकअर्कालाई च्यापेर नाचिरहेका थिए । हलमा कोलाहल थियो । स्कच, जिन, वाइन र बीयर जताततै नाचिरहेको, बहस गरिरहेको र सुसेली रहेको थियो ।
के यिनीहरुनै थिए एक घण्टा अघिसम्म विपन्न वर्गको सशक्तिकरण, पिछडिएका समुदायको समुत्थान र उत्पीडितको अधिकारका लामालामा बहस गर्ने ? प्रश्न घन बनेर आफ्नै टाउकोमा बज्रिरहे जस्तो लाग्यो उसलाई ।
—मे आइ ह्याभ योर एटेन्सन प्लिज ?

दुबै हात उठाउदै चिफ अफ द पार्टी माइकमा करायो । चिफ भनेको चिफनै थियो । के भन्न खोज्दैछ हाकिम ? उत्सुकताले थिचेर हल शान्त भयो ।
—वी ह्याभ वक्र्ड हार्ड एण्ड चेन्ज्ड द लाइफ अफ हन्ड्रेड्स अफ पूवर एण्ड भल्नेरेवल फ्यामिलिज्  ....... इट्स टाइम 
टु रिल्याक्स एण्ड सेलिब्रेट द सक्सेस ..... ..... इन्ज्वाए द ह्वीस्की फ्रम माइ साइड ..... ..... चिफले ब्लु लेभलका चारवटा बोतल देखायो आफ्नो तर्फबाट भनेर । हल ताली र सुसेलीले गुञ्जियो ।
काकाकुल झैं भाको छ जिन्दगी, मनको तिर्खा मनैको बन्दगी ..... ..... गीत अझ चर्को भयो । नाच्नेहरु झनझन चम्किएर नाच्न थाले ।

हलभित्रको हल्ला असह्य लाग्यो उसलाई । बाहिर आगनमा निक्लियो र बेञ्चमा बस्यो । उसले विगत सम्झियो । वर्तमान सम्झियो । दुर्गम बस्ती र त्यहाँका बासिन्दाको कष्ट सम्झियो । समाजमा रहेको असमानता र विभेद सम्झियो । प्रत्येक पञ्च वर्षीय योजनाका नाराहरु सम्झियो । राज्यको सांगठनिक संरचना र पुनःसंरचना सम्झियो । र, देशविकास भएको भन्ने प्रत्येक सरकारका दावीहरु सम्झियो । नेपालमा सक्रिय भनिएका पाँचहजार भन्दा बढी गैरसरकारी संस्था सम्झियो । डेढ दुई सय अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु पनि सम्झियो । गरीब नेपालीको नाममा तिनले देशमा ल्याउने रकम सम्झियो । तिनले वर्षेनी तयार गर्ने चिल्ला प्रगति प्रतिवेदनहरु सम्झियो ।

गौरी शंकर हिमाल शृंखला देखिन्छ कि ? उसले उत्तरतिर परपरसम्म हेर्‍यो । बादलले छेकिएको हिमाल देखिएन । हिमाल नदेखेपछि तल पाँचखाल र आसपासका बस्तीहरु नियाल्न खोज्यो । विद्युत आपूर्तिमा समस्या थियो शायद । अध्यारो मात्र थियो जता हेरे पनि । उज्यालो कतै थिएन । उ भित्रैदेखि  निराश भयो ।
गलबन्दी च्यातियो तिम्ले तानेर ..... .....

भित्रहलमा चर्को गीत, चर्को संगीत र ह्विस्कीको खोलो बीच आयोजना सफल भएको पार्टी उत्कर्षतिर बढिरहेको थियो । उसलाई वाक वाकी लाग्न थाल्यो ।