२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

फोहोरमैलाको दिगो व्यवस्थापन गर्न नगरपालिकासँग सिद्धार्थ उवासंघको माग

बुधवार , बैशाख १७, २०८२

भैरहवा, १७ वैशाख । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नगरमा फोहोरमैलाको दिगो व्यवस्थापन गर्न सिद्धार्थनगर नगरपालिकासँग माग गरेको छ । संघले वर्तमान फोहोर व्यवस्थापन प्रणालीमा देखिएका विविध संरचनागत तथा कार्यान्वयनगत कमजोरीहरुले नगरको समग्र वातावरणीय स्वास्थ्य, जनस्वास्थ्य तथा सामाजिक जीवनस्तरमा नकारात्मक असर परेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

बुधबार संघले नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँलाई ज्ञापनपत्र बुझाउँदै नगर क्षेत्रमा बढ्दो जनसंख्या घनत्व, तीव्र शहरीकरण र व्यवसायिक क्रियाकलापहरुको विस्तारसँगै दिगो फोहोरमैला व्यवस्थापन एक जटिल र दीर्घकालीन चुनौतीको रुपमा उभिएको भन्दै दिगो व्यवस्थापन गर्न आग्रह गरेको हो ।

संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले सिद्धार्थनगरमा फोहारमैला व्यवस्थापन नहुँदा नगरको पहिचानमै धक्का लागेको बताए । यसले आर्थिक गतिविधिमा प्रभाव पुगेको छ । उनले भने–‘फोहोरकै कारण व्यवसायिक क्षेत्रको आकर्षण घट्दो छ, जसले लगानी र रोजगारीमा नकारात्मक असर पार्दछ ।’

खुल्ला रुपमा फालिने फोहोरका कारण संक्रामक रोगको जोखिम बढ्ने देखिएको उनले बताए । ‘फोहोरका कारण गन्ध, धुलो, रासायनिक चुहावट तथा प्लाष्टीकजन्य प्रदूषणले वातावरणीय क्षति पुर्याइरहेको छ, जसका कारण पर्यटन नगरीमा पर्यटकको आकर्षण कम भएको छ, ’अध्यक्ष आचार्यले भने ।

फोहोरको दिगो व्यवस्थापन गर्न वातावरणमैत्री, सामाजिक रुपमा स्वीकार्य र आर्थिक रुपमा व्यवहारिक तरिकाबाट फोहोरमैला संकलन छुट्याउने, पुनः प्रयोग, पुनः प्रक्रिया (रिसाईकल), कम्पोष्ट बनाउने र सुरक्षित रुपमा नष्ट गर्ने प्रक्रिया गर्नुपर्ने उनको भनाइ छ । यसले दीर्घकालीन रुपमा फोहोरको असर घटाउने, प्राकृतिक श्रोतको संरक्षण गर्ने र स्वच्छ तथा स्वास्थ्य वातावरण बनाउने उद्देश्य साथ अगाडि बढेमा फोहोरमैलाको दिगो व्यवस्थापन हुन सक्ने अध्यक्ष आचार्यले बताए । 

सिद्धार्थ उद्योग वाणिज्य संघले दिगो फोहोर व्यवस्थापनका लागि आवश्यक नीतिगत तथा कार्यगत सुधारहरुमा निरन्तर सहकार्य गर्न तयार रहेको उनले प्रतिबद्धता समेत व्यक्त गरे । संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पर्यटक भित्रिने मुख्य स्थानमै फोहार फाल्दा नकारात्मक सन्देश गएको बताए । उनले नगरपालिका राम्रा काम गर्दा पछाडि हट्न नहुने बताए ।

ज्ञापनपत्र बुझेपछि मेयर खाँले घर र व्यवसायिक प्रतिष्ठानबाट निस्कने (कुहिने र नकुहिने) फोहोर अलग गर्नुपर्ने बताए । उनले सबैको साथ र सहयोगले व्यवस्थापन गर्न सकिने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले फोहोरमैला व्यवस्थापन नगरपालिकाले मात्र चाहेर हुन नसक्ने बताए । उनले यो समस्याको दीर्घकालीन समाधान गर्नैपर्ने बताए । उनले टोल सुधार समितिलाई अझ जिम्मेवारी बनाउनुपर्नेमा जोड दिए ।

ज्ञापनपत्र बुझाउन अध्यक्ष आचार्य, निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु, उद्योग उपाध्यक्ष गोविन्द ज्ञवाली, वाणिज्य उपाध्यक्ष हरि बहादुर थापा, सचिव मंगल भण्डारी, कोषाध्यक्ष कमल प्रसाद मरासिनी, सह–कोषाध्यक्ष पल्लवी न्यौपाने, कार्यसमिति सदस्य रचना क्षेत्री, रमेश घिमिरे सिद्धार्थनगर नगर कार्यपालिकाको कार्यालय पुगेका थिए ।