२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

सिद्धार्थनगरमा फोहरमैला व्यवस्थापन किन बन्यो जटिल ?

बुधवार , बैशाख १७, २०८२

भैरहवा, १७ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा फोहर व्यवस्थापनको विषय जटिल बन्दै गएको छ । फोहर व्यवस्थापनका लागि स्थायी संरचना नहुँदा फोहरको दिगो व्यवस्थापन जटिल बनेको हो । 
विगत लामो समयदेखि फोहर व्यवस्थापनका लागि सिद्धार्थनगर नगरपालिकासहित जोडिएका पालिकाहरुको आपसी समन्वय र समझदारीमा फोहरको दिगो व्यवस्थापन गर्ने भनेपनि परियोजना सुरु गर्ने बेला राजनीतिकरण हुँदा फोहर व्यवस्थापनको काम संकटमा परेको हो । 

फोहर व्यवस्थापनको समस्या सिद्धार्थनगरसहित रोहिणी, ओमसतिया, मायादेवी गाउँपालिका लगायतका अन्य पालिकामा पनि जटिल बन्दै गएको छ । रुपन्देहीका धेरैजसो पालिकामा फोहरमैला व्यवस्थापनका लागि स्थायी संरचना छैनन् । सिद्धार्थनगर नगरपालिकाले पालिकाभित्रबाट संकलन हुने फोहरलाई सिद्धार्थनगरको पर्यटकीय क्षेत्र डण्डा खोलमा फाल्दै आएको छ । 

नगरपालिका आफैले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउँदै आएको डण्डा नदीमा फोहरको बिसर्जन गर्दा स्थलमार्ग बेलहिया हुँदै लम्बिनी आउने पर्यटकदेखि स्थानीय र बाटो वारपार गर्ने बटुवालाई फोहरको दुर्घन्धले सताउने गरेको छ । 

डण्डा नदी छेउमा रहेको प्रतिमान–निमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले फोहरको दुगन्धले पठनपाठनमा समेत समस्या आउने गरेको बताए । के.सी.का अनुसार फोहरको दुर्गन्धले विद्यार्थीसहित नजिकका स्थानीयलाई दिनरात सताउने गरेको छ ।

IMG_3948.JPG
सिद्धार्थनगर नगरपालिकाले पर्यटकीय क्षेत्र डण्डा नदीको छेउमा फालेको फोहर

डण्डा नदीको छेउमा रहेका फोहर डम्पिङ साईट नजिकै साल्ट ट्रेडिङको नुनको गोदाम तथा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुुरक्षा गुल्म (बि.ओ.पी.डण्डा) रहेको छ । फोहरको गन्धले नुनको गोदाममा काम गर्ने कामदारदेखि सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई समेत सताएको छ । 

डण्डास्थित पर्यटकीय गेट नजिकै सुरक्षामा खटिएका सुरक्षाकर्मीले फोरहको गन्धका कारण ड्युटीमा बस्न समेत निकै गाह्रो भएको बताए । सिद्धार्थनगरका लागि  फोहरमैला व्यवस्थापन एक संवेदनशील र जटिल मुद्दा बनेको स्थानीय स्वाती थापाले बताइन् । राजनीतिक स्वार्थको चपेटामा परेका कारण फोहरमैला व्यवस्थापन जटिल बनेको उनको भनाइ छ । 

सिद्धार्थनगर नगरपालिकाले डण्डा खोलामा फालेको फोहरका कारण हवाई सुरक्षामा समेत चुनौती थपेको उनको भनाइ छ । विमानस्थलको १० किलोमिटर वरपरसम्म फोहर फाल्न नपाइने प्रावधान छ । 
भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल अहिले फोहर फालिएको क्षेत्र डण्डादेखि दुई/तीन किलोमीटर हवारी दुरीमा रहेको छ । फोहरमैला डम्पिङ साइटका कारण विमान सुरक्षा र यात्रुहरूको जीवनका लागि खतरा उत्पन्न हुन सक्ने थापाको भनाइ छ । 

बर्ड स्ट्राइक विमान उडानको सुरक्षा सबैभन्दा ठूलो चुनौती रहेको उनले बताइन् । उनका अनुसार फोहरमैला डम्पिङ साइटहरूले पंक्षीहरूलाई आकर्षण गर्न सक्छ र जसले विमानको पंखा र अन्य महत्वपूर्ण भागमा क्षति पुर्‍याउन सक्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) का अनुसार विमानस्थलको ५ किलोमीटरभित्र कुनै पनि ठूलो फोहरमैला डम्पिङ साइट हुनुहुँदैन । यद्यपि, अन्तर्राष्ट्रिय अभ्यासमा फोहरमैला डम्पिङ साइटहरूलाई विमानस्थलदेखि कम्तीमा ७ देखि १० किलोमीटर टाढा राख्न सिफारिस गरिन्छ, जसले बर्ड स्ट्राइकको जोखिमलाई घटाउँछ र विमान सुरक्षा सुनिश्चित गर्छ ।

नगरको सुन्दरीकरणको लागि नियमित सरसफाई, पुष्प, वृक्षरोपणलाई अभियानको रुपमा अगाडि बढाइएको नगरप्रमुख (मेयर) ईश्तियाक अहमद खाँले बताए । मेयर खाँले सिद्धार्थनगरको मुख्य चुनौतिको रुमा फोहोरमैला व्यवस्थापन रहेको बताए । उनले यसको व्यवस्थापनका लागि घरघरबाटै जैविक र अजैविक फोहोरलाई छुट्याई अजैविक फोहोरलाई मात्र व्यवस्थापन गर्ने गरी प्रशोधन केन्द्र निर्माण गरी फोहोरमैला व्यवस्थापन गर्ने सोचबमोजिम नगरपालिका अगाडि बढिरहेको बताए । जैविक फोहोर घरमै कमपोष्ट मलको रुपमा प्रशोधन गरी कौसी खेतीमा प्रयोगमा ल्याउने नीतिबमोजिम कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ । 

सिद्धार्थनगर नगरपालिकाका पूर्व वरिष्ठ इन्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० किलोमीटरभित्र फोहोरमैला व्यवस्थापन गर्न नमिल्ने भएका कारण नगरपालिका भन्दा बाहिर जग्गा खोज्नुपर्ने बाध्यता रहेको बताए । फोहोरमैला व्यवस्थापन गर्न जग्गा किनेर काम गर्न पटकपटक प्रयास  गरे पनि स्थानीयको विरोधका कारण सम्भव हुन नसकेको श्रेष्ठको भनाइ छ । श्रेष्ठले नगरपालिकाले गर्न खोजेको काम नै नबुझी विरोध मात्र भएको गुनासो गरे । उनले डम्पिङ साइट नभएर प्रशोधन केन्द्रको रुपमा विकास गर्न खोजेको कुरा सबैले बुझ्नुपर्ने बताए । 

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले फोहोरमैला व्यवस्थापनको लागि तीनैवटा पालिका मिलेर रोहिणीमा करिब ८ बिगाहा जग्गाको व्यवस्थापन गरे पनि केही राजनीतिक दलका नेताहरुले जनता भड्काउने काम गरेका कारण अवरोध भएको बताए । फोहरमैला सबैजसो पालिकाका लागि साझा समस्या रहेको बताउँदै उनले समाधान पनि साझा तरिकाले खोजिनुपर्ने बताए ।