शुक्रवार , मंसिर १२, २०८२
भैरहवा, १२ मंसिर । रुपन्देहीको भैरहवामा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) मा मंसिर १४ गतेदेखि कुस्ती प्रतियोगिता हुने भएको छ । मंसिर १४ देखि १६ गतेसम्म (तीन दिन) कुस्ती प्रतियोगिता सञ्चालन हुने आयोजक संस्था चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले बताउनुभयो । मंसिर ३ गतेदेखि सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव सुरु भएको छ ।
यस क्षेत्रको रैथाने खेलको रुपमा परिचित कुस्तीको प्रवर्द्धनका लागि प्रत्येक महोत्सवमा कुस्ती प्रतियोगिता आयोजना गरिदै आएको संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले बताउनुभयो ।
‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताउनुभयो । महोत्सवले उद्योगी–व्यवसायी र उपभोक्तालाई जोड्न पुलको काम गर्ने अध्यक्ष रोक्काले बताउनुभयो । उहाँले महोत्सवमा ३ सय वटा स्टल रहेको जानकारी दिनुभयो । यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिसटनेल प्रदर्शन रहेको छ ।
महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको प्रस्तुती रहेको संस्थाका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो ।
सातौं लुम्बिनी महोत्सवमा करिब १ करोड खर्च हुने र करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको संस्थाको महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो । महोत्सवमा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij