
शुक्रवार , बैशाख १९, २०८२
भैरहवा । शान्ति शर्मा एक सफल महिला उद्यमी हुन्। उनी एक दक्ष व्युटिसियनसमेत हुन्, जसले यो पेसालाई व्यवसायको रूपमा दुई दशकअघि सुरु गरेकी थिइन्। हाल उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ शंकरनगरमा ‘कोहिनुर ब्युटी पार्लर’ सञ्चालन गरिरहेकी छन्।
शान्तिले भैरहवाको हनी ब्युटी पार्लरबाट तालिम लिएकी हुन्। तालिमपछि केही समय त्यहीं काम गरिन्। पार्लरमा काम गर्न थालेपछि छिमेकीहरूले “अब यसको विवाह हुँदैन, भनेर हल्ला फैलाए। तर उनी आफ्नो सीप र मेहनतप्रति समर्पित थिइन्। “दुनियाले जे भने पनि, राम्रो कर्म गर्दै भविष्य उज्यालो बनाउने अठोट थियो,” उनले भनिन्।
समाजले प्रश्न गरे पनि परिवारले भने सधैँ साथ दियो। “बुबा–आमा र दाजु–भाइले हौसला दिनुभयो,” उनले सम्झिइन्, “उहाँहरूको साथले मलाई अगाडि बढ्न प्रेरणा मिल्यो।”
सुरुमा उनको आय अत्यन्तै न्यून थियो–आईब्रो मिलाएर जम्मा २० रुपैयाँ पाउँथिन्। त्यही क्रममा शंकरनगरका शंकर पौडेलसँग विवाह भयो। विवाहपछि उनी घर शंकरनगर आइन्, जहाँ नौ जनाको परिवार थियो। साइली बुहारीका रूपमा घरधन्दामै सीमित रहनुपर्यो।
छ वर्षसम्म सीप हुँदाहुँदै पनि आर्थिक अभावका कारण बाहिर निस्कन सकिनन्। “सीप भएर पनि केही गर्न नसक्दा आफूलाई घरभित्रै कैदीजस्तो लाग्थ्यो,” उनी भन्छिन्, “सानो व्यवसाय भए पनि गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो, तर पैसाको अभावले सबै कुरा मनमै राख्नुपर्यो।
त्यही बेला जेठानी दिदी विन्दु शर्माको एक बोलीले उनको जीवन बदलियो। “सिप मर्न दिने हो ? यो उमेरमा पनि घरधन्दामै बस्ने?” भन्ने एक वाक्यले उनको मनमा हल्चल आयो। दिदीको कुराले चिर निद्राबाट ब्युझिएझैँ लाग्यो,” उनी भन्छिन्। आर्थिक सहयोग दिने आश्वासन पाएपछि उनले बुटवल गएर नयाँ तालिम लिइन्। त्यसपछि घरकै सटरमा पार्लर सुरु गरिन्।
१ लाख ५० हजार रुपैयाँ लगानीमा सुरु गरेको व्यवसायको पहिलो दिनमै उनले २० हजार रुपैयाँ कमाइन्, जुन रकम उनले व्यवसाय प्रवर्द्धनमै खर्च गरिन्। अहिले सिजनमा उनी कुनैदिन ५०–६० हजार रुपैयाँसम्म आम्दानी गर्छिन्।
उनको अनुभवमा यो पेशा जति आकर्षक देखिन्छ, त्यति नै चुनौतीपूर्ण पनि छ। “ग्राहक सन्तुष्ट हुनु जरुरी छ,” उनी भन्छिन्, “सानो गल्तीले विश्वास गुम्न सक्छ।” छाला र सौन्दर्य सामग्रीको सही पहिचान, प्रविधिको अद्यावधिक जानकारी, र निरन्तर सुधार यो पेशाको मूल मन्त्र हुन्।
पहिला ‘नक्कल पार्ने’ पेशाको रूपमा हेरिने व्युटिसियन अहिले स्वास्थ्य र सौन्दर्यसँग जोडिएर सम्मानित व्यवसाय बन्दै गएको उनी बताउँछिन्। यही पेशामार्फत उनको सामाजिक र आर्थिक उचाइ बढेको छ। अहिलेसम्म उनको पार्लरबाट करिब १५० महिलाले तालिम लिइसकेका छन्, जसमा केहीले आफ्नै पार्लर सञ्चालन गरेका छन् भने केही विदेश समेत गएका छन्।
शान्ति आफूलाई केवल व्यवसायी नभई सामाजिक अभियन्ताको रूपमा पनि परिचित गराउँदै आएकी छन्। ‘लायन्स क्लब अफ तिलोत्तमा मेरिगोल्ड’की अध्यक्षको रूपमा उनी सामाजिक कार्यमा सक्रिय छन्। क्लबमार्फत १७ जना महिलालाई निःशुल्क तालिम दिएकी छिन्। साथै, घरमै बस्ने महिलालाई मस्यौरा बनाउने तालिम दिइएको र ती महिलाले बनाएको सामग्री औद्योगिक मेलामा बिक्री गरिएको उनले बताइन्। त्यसबाट संकलित रकम वृद्धवृद्धा र असक्तलाई पौष्टिक आहार वितरणमा प्रयोग गरिएको थियो।
उनको विश्वास छ–महिलाले आत्मनिर्भर बन्नैपर्छ। आजको युगमा एक जनाको कमाइले मात्र घर चल्दैन,” उनी भन्छिन्, “महिला–पुरुष मिलेर सँगै काम गरेमा मात्रै साँचो समृद्धि आउँछ।”
पहिला श्रीमानकै भरमा रहेकी शान्ति अहिले आत्मनिर्भर छन्। “अहिले मेरो आम्दानीबाट घर चल्छ, श्रीमान्को आम्दानी बचत हुन्छ,” उनी भन्छिन्, “नेतृत्व गर्ने आँट र आत्मविश्वास पनि बढेको छ।”
त्यसैले म कम्जोर छु, केहि गर्न सक्दिन भनेर धक मान्ने, डराउने गरेर अमूल्य समय खेर फाल्नु हुदैन। हिम्मत गरेर बाहिर निस्कनु पर्छ, आज सफलता नमिल्ला भोलि अवस्य सफलता हात लाग्ने छ।
महिलालाई आर्थिक रुपमा सवल र सक्षम बनाउन छ भने सरकारले उद्यमशीलताको क्षेत्रमा कार्यक्रम गर्ने र कार्य नीति कागजमा नभई व्यवहारमा ल्याउनु पर्दछ। यसले महिलामा मात्रै होईन देशमा पनि आर्थिक समृद्धि ल्याउन टेवा पुर्याउछ।
उनी भन्छन् –महिला कमजोर होइनन्, उनीहरूलाई केवल अवसर र प्रेरणा चाहिन्छ। सरकारले उद्यमशीलताको कार्यक्रम कागजमा मात्र नराखी व्यवहारमै लागू गर्नुपर्छ। त्यसले महिलाको विकाससँगै राष्ट्रको समृद्धिमा समेत टेवा पुग्छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij