२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठी सुरु

शुक्रवार , बैशाख १९, २०८२

बाग्लुङ, १९ वैशाख । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आफ्नो योजना निर्माण तथा दुईवर्षे कार्ययोजना तर्जुमा गोष्ठी शुक्रबारदेखि बाग्लुङको ईला कम्फर्ट होटलको सभाहलमा सुरु गरेको छ ।

गोष्ठीको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल धेरै सम्भावना रहेको देश भएको भन्दै विदेश पलायन हुनबाट युवा पंक्तिलाई रोक्नुपर्ने बताए । उनले निजी क्षेत्रले यसको नेतृत्व गर्न सक्नुपर्ने बताए । ‘हाम्रो देशमा धेरै काम गर्न सक्ने सम्भावना भए पनि देशका युवा वर्ग विदेश जाने क्रम नरोकिएकाले सरकारसँगको सहकार्यमा निजी क्षेत्र जोडिनुपर्छ, ’उनले भने । आफ्नो बाल्यकाल बुवाको अभाव र आमाको सहारामा अगाडी बढ्दै आजसम्म आउँदा नेपाल उद्योग वाणिज्य संघको अध्यक्षसम्म हुन पुगेको उनले बताए । उद्योगी– व्यावसायीलाई सवैक्षेत्रबाट संकट र समस्या पार्ने कार्य नेपालमा हुने गरेको छ 

उनले भने–‘अख्तियारबाट समेत निजी क्षेत्रको अनुसन्धान तथा कारवाहीको जिम्मेवारी दिने गलत कार्य हो । तर, त्यो नीति रोक्न सफल छौं । हामीले परिश्रम र योजना निरन्तर गर्न सके सफलता देशैमा हुन सक्ने भएकाले सवैले देशप्रेमको भावनाका साथ काम गर्नुपर्छ ।’

गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले योजना निर्माण तथा दुईवर्षे कार्ययोजना तर्जुमा गोष्ठीको सफलताको शुभकामना दिए । उनले यो गोष्ठी रुपन्देहीको मात्र नभएर देशकै आर्थिक समृद्धि गर्नेतर्फ निर्माण हुनेमा आफू विश्वस्त रहेको बताए ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ देशको आर्थिक केन्द्रमा रहेको संघ भएकाले यसले निर्माण गर्ने दुईवर्षे कार्ययोजना तर्जुमा गोष्ठीले उद्योगी–व्यापारीको समृद्धिमा सहयोग पुर्याउने खालको हुनुपर्ने सुझाव दिए ।

योजना निर्माण तथा दुईवर्षे कार्ययोजना तर्जुमा गोष्ठी शनिबार सकिनेछ । यसले सिद्धार्थ उद्योग वाणिज्य संघले गर्ने दुईवर्षे कार्ययोजना निर्माण गर्नेछ । 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षता तथा महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा भएको गोष्ठीको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ पर्वत, बाग्लुङका अध्यक्ष तथा पदाधिकारीहरुको पनि सहभागीता थियो । गोष्ठी सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्वअध्यक्ष, कार्यसमितिका सदस्यहरु र सल्लाहकारको सहभागीता छ ।