२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एयरपोर्ट हेरेर बनेका होटल भुतबंगला बन्दै, अरबौ लगानी डुब्ने खतरामा

मंगलवार , बैशाख २३, २०८२

भैरहवा, २३ वैशाख । इलेक्ट्रीक व्यवसायमा जमेका राम थापा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटन व्यवसायमा लोभिए । विमानस्थलमा अवतरण हुने विमानस्थलसँगै पर्यटकको लर्को लाग्ने ठानेर होटल व्यवसायमा सम्भावना देखे । आफूसँग भएको रकममा बैंक कर्जा थपेर स्वीट पूर्णिमा प्रा.लि.को निर्माण सुरु गरे । विमानस्थल बन्यो, तर पर्यटकको लर्को लागेन ।
बन्दै गरेको होटलमा भविष्य नदेखेर बैंकले लगानी रोकेपछि अहिले न उनको होटल पूरा भएको छ न त सपना । विमानस्थल हेरेर नै ठूलो लगानी खनाइयो, थापा भन्छन् – ‘अहिले बन्दै गरेको होटलको संरचना हेरेर बस्नुपरेको छ । ’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित लुम्बिनीरोडमा थापाको २२ करोड लगानीमा ८ तलाको भवन ढलाई भइसकेको तीन बर्वा बितिसक्यो । निर्माण कार्य रोकिंदा भूतबंगला बनिरहेको होटल अन्तर्राष्ट्रिय एयरपोर्ट हेरेर सुरु भएको थियो । विमानस्थल सञ्चालन नहुँदा लगानी डुब्ने भयमा छन् थापा ।  

भैरहवाका प्रतिष्ठित उद्यमी राजकुमार पोख्रेलले पनि लुम्बिनीसँगै अन्तर्राष्ट्रिय एयरपोर्टले पर्यटन व्यवसायमा ठूलो सम्भावनाको ढोका खोल्ने देखे । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा बुद्ध स्टार होटलको निर्माण सुरु गरे । अहिलेसम्म उनको होटलमा १ अर्ब रुपैया लगानी भइसकेको छ । अन्तर्राष्ट्रिय उडान नियमित नभएका कारण बैंकहरु लगानी थप्न हिच्किचाउँछन्, जसले गर्दा व्यवसायी घर न घाट हुने अवस्था उत्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय उडान नहुँदा यस क्षेत्रको पर्यटन व्यवसायमा धक्का लाग्ने व्यवसायी पोखरेल आशंका गर्छन् । उनी भन्छन्–‘सरकारले लुम्बिनी क्षेत्रलाई समृद्धशाली बनाउनका लागी पनि यो एयरपोर्ट सञ्चालन गर्नैपर्छ ।’
एयरपोर्टलाई नै हेरेर भैरहवा, लुम्बिनी, बुटवल र आसपासका क्षेत्रमा १ खर्ब बढी रकम होटल व्यवसायमा लगानी भएको छ । तर, बनेको तीन वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान नभएका कारण सबै लगानी डुब्ने जोखिम छ ।

बैंकले ब्याज छोड्दैन कोठा रित्तै राखेर कसरी होटल चलाउने ? सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ भन्छन् । सरकारले पूर्वाधार विकास र जग्गा अधिग्रहण गरी ५० अर्ब लगानी गरेको विमानस्थलकै कारण निजी क्षेत्रले होटल क्षेत्रमा मात्रै एक खर्ब बढी लगानी गरेको हो ।

सञ्चालनमा आएका होटलमा अकुपेन्सी न्युन छ । बन्दै गरेका होटल भुतबंगला बनिरहेका छन् । एयरपोर्ट नचलेपछि कतिपय व्यवसायीहरु होटल बेचेर बाहिरिने अवस्थामा छन् । अध्यक्ष श्रेष्ठ भन्छन्–‘सरकारले नै एयरपोर्ट चलाउन खोजेको छैन, जसले गर्दा हौसिंएर होटलमा लगानी गरेका व्यवसायीमा पलायनको खतरा छ ।’ काठमाणैं केन्द्रित मानसिकता र केही व्यवसायीको स्वार्थमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसकेको उनको दावी छ ।

नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंकको ६२.६ प्रतिशत लगानीमा २०७१ माघ १ मा निर्माण शुरु भएको गौतमबुद्ध विमानस्थल २०७९ जेठ २ गते सञ्चालनमा आएको हो । त्यसको झण्डै एक वर्षसम्म अन्तर्राष्टिय उडान हुन सकेन । पछि खाडी मुलुकका श्रमिक ओसार्न केही अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान सुरु गरे पनि निरन्तरता भने पाउन सकेन ।

गत कार्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि आंशिक बन्द हुँदा जजिरा एयरवेज, फ्लाइ दुबई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले उडान गरेपनि निरन्तरता दिएनन् । त्यसयता कुनै पनि व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल सञ्चालन गर्न नागरिक उडड्यन प्राधिरण र सरोकारवाला मन्त्रालयले पहल नगरेकै कारण यो अवस्था आएको होे ।
प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवालाहरुले निरन्तर दबाब दिदै आएका छन् । विमानस्थल सञ्चालन गर्न स्थानीयले दबाब भने बारम्बार दिइरहेका छन् । लुम्बिनी प्रदेश सरकारले विमानस्थल चलाउन संघीय सरकारलाई घच्घचाइरहेको छ ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्नको लागी आफूले प्रधानमन्त्री, अर्थमन्त्रीदेखि लिएर नागरिक उड्डयन प्राधिकरणसम्म छलफल गरेको बताउँछन् ।  लुम्बिनी प्रदेशको विकासको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न अपरिहार्य रहेको उनको भनाइ छ । मुख्यमन्त्री आचार्य भन्छन्–‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर यस क्षेत्रमा व्यवसायीहरुको अरबौ लगानी भएको छ, प्रदेश सरकारले मनन र आत्मसात गरेको छ । विमानस्थल चलाउनको लागि प्रदेश सरकार गम्भिर छ, संघीय सरकारसँग छलफल गरिरहेका छौं ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ विमानस्थल उद्घाटन भएको तीन वर्ष बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन नसक्नु यस क्षेत्रका लागि दुःखद र पीडादायी रहेको बताउँछन् ।
अन्तर्राष्ट्रिय उडान नियमित गराउन नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेलाई ध्यानाकर्षण गराएको र नगरपालिकाले नै नेतृत्व गरेर दबाब सिर्जना गर्न बाध्य हुने अवस्था सिर्जना नगराउनसमेत पत्रमार्फत पर्यटन मन्त्रीलाई सचेत गराएको छ ।

यहाँका व्यवसायीहरु भने जसरी पनि विमानस्थल चल्नुपर्ने पक्षमा छन् । हरेकजसो क्रियाकलापमा विमानस्थलको मुद्दा जोड्ने गरेको बताउँदै चेम्बर अफ कमर्श रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ विमानस्थललाई तत्काल पूर्ण र नियमित रुपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छन् । अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरूलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने र निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई यही विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने नीति हुनुपर्नेमा श्रेष्ठको जोड छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्य राज्यको उपेक्षाका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन नभएको दावी गर्छन् । ‘निजी क्षेत्रको अहिलेको मुख्य एजेण्डा विमानस्थल सञ्चालन हो, संघ सुझबुझका साथ अगाडि बढ्छ, अब राजनीतिक दल र संघ–संस्थाहरुसँग छलफल गर्छौं ’ उनले भने । ‘जबसम्म श्रम स्वीकृतिदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण, भिसा सेन्टर लगायतका भौतिक पूर्वाधार यही उपलब्ध हुँदैन तबसम्म विदेश जानेहरुका लागी झमेला हुन्छ र अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले यात्रु पाउँदैनन् । सरकाले नै यी पूर्वाधार थप्न नीतिगत निर्णय नगर्नु विमानस्थल सञ्चालन नहोस् भन्ने मनसाय हो ।’ उनले दावी गरे । 

यस क्षेत्रबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु भने विमानस्थल चलाएरै छाड्ने दृढता व्यक्त गर्छन् । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल भन्छन्– ‘सुरुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चाहिन्छ भन्नेमै विवाद थियो, बन्दै गर्दा पनि पूरा हुन सक्दैन कि भन्ने थियो, सम्पन्न पनि गर्यौं र अहिले पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, ।’ उनले थपे, ‘अहिले फेरि विमानस्थल पूर्णरुपमा सञ्चालन हुन सक्दैन, लगानी खेर गयो भनिएको छ । तर, यो सत्य होइन । अब छिट्टै पूर्ण क्षमतामा सञ्चालन गरेर देखाउँछौं ।’यहाँबाट पूर्णरुपमा अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई विशेष छुट सुविधाको प्याकेज ल्याएर छिट्टै पूर्ण क्षमतामा सञ्चालन गरिने पौडेलको दावी छ ।

२०७९ जेठदेखि विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । तर, अहिले व्यवसायिक उडान ठप्प छ । यो आयोजनामा सुरु सम्झौता ३० अर्ब ९१ करोड रहेकोमा निर्माण अवधि लम्बिएपछि लागत पनि बढ्यो । बढेको लागत मूल्य अभिवृद्धि करसहित रु.३५ अर्ब ६६ करोडमा सम्पन्न भएको थियो । यति ठूलो धनराशी खर्चेर विमानस्थल निर्माण गरिएपनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गौतमबुद्ध विमानस्थलको काम अगाडि बढाइएको थियो । यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा हेरिए पनि कहिलेदेखि नियमित सञ्चालनमा आउने हो निश्चित देखिदैन ।