
बुधवार , बैशाख २४, २०८२
भैरहवा, २४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी जिल्ला अदालत, परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियालाई घुससहित नियन्त्रणमा लिएको छ । बुधबार आयोगको कार्यालय बुटवल, रुपन्देहीबाट खटिएको टोलीले बनियालाई रु. दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीबाट घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–३ स्थित बेलासपुर चोकबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
प्रवक्ता पौडेलका अनुसार लागूऔषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग कम्प्युटर अपरेटर बनियाले छुटाई दिन सहजीकरण गर्ने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन अख्तियारमा परेको थियो । थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij