२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेसका १२ नेताले भने– ‘नेतृत्व लिन तयार छौं’

मंगलवार , श्रावण २७, २०७७

काठमाडौं, २७ साउन ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका दर्जन युवा नेताले सभापति शेरबहादुर देउवाले पछिल्लो समय गरेका नियुक्तिप्रति कडा असन्तुष्टि जनाएका छन् । 

मंगलबार १२ युवा नेताले संयुक्त विज्ञप्ति निकाल्दै हरेक प्रश्नको जवाफसहित नेतृत्व लिन समेत तयार भएको बताएका छन्। 
‘अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफसहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सहि दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेका महाधिवेशन नजिकिरहेका बेला हालै देउवाले विभिन्न विभागहरुमा नियुक्ति गरेका छन् भने दर्जन भातृ संगठनको म्याद थपिदिएका छन्।

युवा नेताहरुले चाहिँ यसलाई देउवाले महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गरेको रुपमा व्याख्या गर्दै ती तत्काल रोकिनुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका सबै तहको मिति तोकिसके पश्चात् विभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गर्नु हो । तसर्थ विभाग गठनका कार्य तत्काल रोकिनुपर्छ र गठन गरिएका औचित्यहीन विभागहरु खारेज गरिनुपर्छ ।’ 

विज्ञप्ति प्रकाशित गर्ने युवा नेताहरुमा डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव र किरण यादव छन् ।