
सोमवार , बैशाख २९, २०८२
रुपन्देही जिल्लाको दक्षिणी भेगमा पर्ने मर्चवार क्षेत्र विगत लामो समयदेखि विकासको पर्खाइमा छ । भारतको सीमानासँगै जोडिएको यस क्षेत्रमा धेरै सम्भावना हुँदाहुँदै पनि सरकारी वेवास्ता, योजनाको असमान कार्यान्वयन र स्थानीय नेतृत्वको कमजोरीका कारण यहाँका जनता अझै पनि आधारभूत सेवासुविधाबाट वञ्चित छन् । विशेष गरी सडक तथा शिक्षा क्षेत्रमा देखिएको लापरवाहीले स्थानीय बासिन्दाको दैनिकी नै कष्टकर बनेको छ ।
मर्चवार क्षेत्रमा प्रमुख सवारीसाधनको मार्ग मानिने मुख्य सडकमा अहिले पनि खाल्डाखुल्डी, हिलो र धुलो छ । वर्षायाममा सडकमा हिंड्नै नसकिने अवस्थामा पुग्छ भने गर्मीयाममा धुलोको मुस्लोले स्थानीयको स्वास्थ्यमा असर पुर्याइरहेको छ । यो अवस्था दशकौंदेखि छ । स्थानीय तहदेखि प्रदेश सरकारसम्मका प्रतिनिधिहरूले पटकपटक आश्वासन दिदै आएका छन्, तर कामको गति कछुवाको जस्तै छ । बजेट विनियोजन भए तापनि त्यसको कार्यान्वयनमा पारदर्शिता र प्रतिवद्धताको अभाव देखिन्छ ।
यस क्षेत्रका बासिन्दाको मुख्य पेशा कृषि हो । किसानहरूले खेतमा उत्पादन गरेको अन्न, तरकारी र फलफूल बजारसम्म पुर्याउन सडकको भर पर्नुपर्ने हुन्छ । तर, सडकको बेहाल अवस्थाले गर्दा उत्पादनको मूल्य पाउन मुस्किल पर्छ, जसले गर्दा कृषक निराश छन् । उखु, धान, गहुँ, तरकारी आदि ढुवानी गर्न नसक्दा व्यवसायीहरू पनि मर्चवार क्षेत्रको कृषि उत्पादनप्रति आकर्षित हुन सकेका छैनन् । यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको छ । मुख्य सडक निर्माण त भएको छ, तर कतिपय भित्री सडकहरुको अवस्था भने राम्रो छैन ।
सडक मात्र होइन, मर्चवार क्षेत्रको शिक्षा क्षेत्रमा पनि समान रूपमा समस्याहरू जरो गाडेर बसेका छन् । सामूदायिक विद्यालयहरूमा भवनको अवस्था जर्जर छ, शैक्षिक सामग्रीको अभाव छ र शैक्षिक गुणस्तरमा सुधार हुन सकेको छैन । धेरै विद्यालयहरूमा पर्याप्त शिक्षक छैनन् । शिक्षाको नाममा धेरै कार्यक्रमहरू गरिए पनि शिक्षाको गुणस्तरमा भने सुधार हुन सकेको छैन ।
विद्यार्थीहरू पढ्न मन लागे पनि विद्यालयमा आवश्यक स्रोतसाधनको अभावले उनीहरूमा उत्साह घटेको गुनासो छ । माध्यमिक विद्यालयसम्म पुग्दा धेरै विद्यार्थीहरू बीचमै पढाइ छोड्न बाध्य छन् । छात्रारूलाई त झन् झनै गाह्रो हुन्छ, किनभने शिक्षा नपाएको कारण कम उमेरमै विवाह गर्ने परिपाटी अझै कायमै छ । शिक्षा नपाउँदा युवा पुस्ताले रोजगारीका अवसर पाउन सक्दैनन्, जसको परिणामस्वरूप वैदेशिक रोजगारतर्फ आकर्षण बढ्दो छ । शिक्षाको आधार नहँुदा सीप विकास पनि हुन सकेको छैन ।
मर्चवारको अवस्था यस्तो छ कि स्वास्थ्य, खानेपानी, बिजुली, सिँचाई लगायतका आधारभूत आवश्यकताहरूमा समेत स्थानीयहरू संघर्षरत छन् । तर, सबैभन्दा गम्भीर अवस्था भने सडक र शिक्षामा देखिएको छ, जुन कुनै पनि क्षेत्रको समग्र विकासका लागि आवश्यक पूर्वाधार हुन् । विकासका नाममा आएका कतिपय योजनाहरू कागजमै सीमित छन्, कार्यान्वयनमा तिनको प्रभाव कमजोर छ ।
स्थानीयबासीहरु विगतमा सडक सुधारको लागि आन्दोलनमा उत्रिए पनि ठोस परिणाम नआएको गुनासो गर्छन् । ‘हामीले नेता, सांसद्, स्थानीय तहका जनप्रतिनिधिहरु सबैलाई गुहार्यौँ, आश्वासन पाइरहेका छौं, तर सडक उस्तै छ,’ एक स्थानीयले भने । अर्का स्थानीय थप्छन्, ‘बालबालिकाहरू विद्यालय जान चाहन्छन् । तर, विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउन सकेको छैन ।
युवा पुस्ता, जसले परिवर्तन ल्याउने सम्भावना राख्छ, उनीहरू या त विदेशिएका छन् या त आफ्नै गाउँमा बेरोजगार छन् । यो स्थिति लामो समयसम्म रहिरहेमा मर्चवारको सामाजिक संरचना नै कमजोर हुँदै जान सक्छ । नेतृत्व, जनप्रतिनिधि तथा नीति निर्माताहरूले अब गम्भीर भएर यो क्षेत्रतर्फ ध्यान दिन जरुरी छ ।
अहिले पनि सम्भावना मरेका छैनन् । मर्चवारलाई अन्नभण्डारको क्षेत्र पनि भनिन्छ । मर्चवारको कृषि उत्पादन तथा यहाँको जनशक्ति ठुलो सम्भावनाको सूचक हो । यदि यी क्षेत्रहरूमा सरकारी लगानी गरियो भने मर्चवार समृद्ध हुन धेरै समय लाग्दैन । सडक मर्मत, शैक्षिक पूर्वाधारमा सुधार, शिक्षकको नियमितता, तथा युवालाई लक्षित सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरियो भने मर्चवार पनि विकसित क्षेत्र बन्न सक्छ । हामीले सधै मर्चवारलाई पिछडिएको क्षेत्र भन्नु पर्दैन ।
तर, यी सबै प्रयासहरूका लागि दृढ इच्छाशक्ति, जनउत्तरदायी नेतृत्व र समुदायको सक्रिय सहभागीता आवश्यक छ । अब पनि ढिला नगरिए समयमै सुधार सम्भव छ, अन्यथा मर्चवार जस्ता क्षेत्रहरू विग्रह, विस्थापन र विकासविहीनताको चक्रबाट कहिल्यै ननिस्किने खतरामा पर्न सक्छन् । तसर्थ समयमै मर्चवारको विकासमा ध्यान दिन अत्यन्तै जरुरी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij