२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बोधिसत्व सिद्धार्थको जन्मकथा

सोमवार , बैशाख २९, २०८२

मायादेवीको स्वप्न
सन्तानको प्रतीक्षामा लामो समय बितिसकेको थियो । शाक्य राजा शुद्धोदनका सन्तान थिएनन् । समृद्ध कपिलवस्तुमा असार पूर्णिमालाई भव्य उत्सवका रुपमा मनाउने चलन थियो । पूर्णिमाको सात दिन अघिबाटै मायादेवीले मद्यपान गरिनन् । चन्दन, माला आदिले सजिएर उत्सवको आनन्द लिइन् । पूर्णिमाको बिहानै नुहाइन्, व्रत बसिन्, दानपुण्य गरिन् । चार लाख मुद्राको महादान गरिन् । उनको शरीरमा आभूषणको अभाव थिएन । स्वादिष्ट भोजन गरी खोपीमा आराम गर्न जाँदा उनको मन आध्यात्मिक भावले पुलकित थियो ।

मध्यरातमा दिव्य शरीर भएका चार देवताहरु आए । उनीहरुले मायादेवीलाई पलङ्सहित हिमालयतर्फ लगे । सात योजन अग्लो सालको वृक्षमुनि एक आसन थियो । साठी योजन फैलिएको मनोशिला भनिने आसन । त्यसमा उनलाई राखेर देवताहरु गए । त्यत्तिकैमा देवकन्याहरूको समूह आयो । उनलाई अनोतप्त दहमा लगेर दिव्य स्नान गराइयो । नुहाएपछि मायादेवी मनुष्य गन्धले रहित भइन् । दिव्य वस्त्र पहि¥याइयो । चन्दनको लेप लगाइदिए देवीहरुले । मायादेवी दिव्यफूलहरुले सजिइन् । नजिकै चाँदीको पर्वतमा सुनको विमान थियो । त्यसभित्र पूर्वतिर सिरान पारेर देवकन्याहरूले मायादेवीलाई सुताइदिए ।

सुनको अर्काे पर्वतबाट यौटा सेतो हात्ती ओर्लियो । एकछिन यताउता टहलियो र त्यही चाँदीको पर्वतमा उक्लियो । हात्तीको चाँदी जस्तो सेतो सूँडमा सेतै कमल थियो । हात्ती मायादेवी रहेको विमानमा प्रवेश ग¥यो, पलङ्लाई तीनपटक प्रदक्षिणा गरी दाहिने कोखबाट पेटमा प्रवेश ग¥यो । यो सबै सपना थियो ।

स्वप्न विश्लेषण
मायादेवीले सपना बारे राजालाई सुनाइन् । भोलिपल्ट राजाले चौँसट्ठी मूल ब्राह्मणहरुलाई आमन्त्रण गरे । भुईं गोबरले पोतियो । लावा र फूल आदिले सजाइयो । बहुमूल्य आसनहरु बिछ्याइए । आसनस्थ ब्राह्मणहरुलाई सुन र चाँदीका थालमा घ्यू, मह र सख्खर मिसाइएको खीर दिइयो । नयाँ वस्त्र र गाई दानसमेत गरियो । ब्राह्मणहरु सन्तृपत भए । राजाले सपना बारे बताएर सोधे, ”किं भविस्सति“ ? अर्थात्, सपनाको फल के हुनेछ ?

ब्राह्मणहरुले सपना विश्लेषण गरे । भने–– भय मान्नुपर्दैन महाराज, तपाईंकी देवीको कोखमा गर्भ प्रतिष्ठित भएको छ । त्यो पुरुष गर्भ हो, स्त्रीगर्भ होइन । छोरा जन्मनेछन् । ती पुत्र घरमा बसे भने चक्रवर्ती सम्राट् बन्नेछन् । यदि घरबाट निस्केर प्रव्रजित भए भने परम ज्ञानी बुद्ध बन्नेछन् ।
यसरी असारको पूर्णिमामा बोधिसत्वले गर्भप्रवेश गर्नुभयो । त्यो दिन उत्तराषाढ नक्षत्र परेको थियो । त्यस समयमा बत्तीस किसीमका शुभलक्षणहरु प्रकट भए । यस प्रसङ्गको विस्तार जातकनिदानमा पाइन्छ ।

मायादेवीको अलौकिक स्वभाव
बोधिसत्व गर्भमा प्रतिष्ठित भएदेखि चार देवपुत्रहरुले पहरा दिए । बोधिसत्वकी मातालाई कुनै सड्ढट नआओस् भन्ने उद्देश्यले । त्यस यता मायादेवीलाई पुरुषप्रति आसक्ति उत्पन्न भएन । वहाँले धेरै लाभ र इज्जत हासिल गर्नुभयो । थकानको अनुभूति भएन । कुनै रोगले छोएन । कोखमा रहेका बोधिसत्व बारे सोच्दा सेतो मणिमा बेरिएको पहँलो धागाजस्तै आकृृति मष्तिष्कमा घुम्थ्यो । तथापि राजाले सुसारेहरुको सङ्ख्या भने बढाइदिएका थिए ।

मायादेवी माइत जाँदै
मायादेवीले दश महिनासम्म बोधिसत्वलाई गर्भमा धारण गर्नुभयो । कुनै भाँडोमा तेल राखिएजस्तै । दश महिना बितेको पत्तै भएन । रानीले माइत जाने इच्छा प्रकट गरिन् । राजासँग भनिन्, इच्छामहं देव, कुलसन्तकं देवदहनगरं गन्तुं । हुन्छ, राजाले भने । कपिलवस्तुदेखि देवदहसम्मको बाटो सम्याइयो । केराका स्तम्भहरुले सजाइयो । भरिएका घडाहरु राखिए । ध्वजा र पताकाहरु फर्फराइए । सुनको पाल्की तयार भयो । एक हजार कर्मचारीहरुको समूहसहित विशाल सेवकमण्डली पनि साथमा जाने भयो ।

लुम्बिनीमा जन्म
वैशाख पूर्णिमाको दिन । सुनको पाल्कीमा  रानीको सवारी चल्यो । कपिलवस्तु र देवदहको बीचमा पर्छ लुम्बिनी उद्यान । बुद्धवंश–अर्थकथाकार उल्लेख गर्छन्, द्विन्नं पन नगरानं अन्तरे उभयनगरवासिनंपि लुम्बिनीवनं नाम मंगलसालवनं अत्थि । लुम्बिनीको वनलाई मङ्गलसालवन भनिन्थ्यो । फेददेखि टुप्पैसम्म ढकमक्क फुलेको वन । हाँगा र फूलहरुमा पाँच किसिमका भमराहरुको मधुर ध्वनी गुञ्जिरहेको थियो । चराहरुको चिर्बिरले सौन्दर्य स्वयं सुशोभित भएझैं लाग्थ्यो । लुम्बिनीवन स्वर्गीय चित्तलतावनजस्तै शोभायमान भइरहेको थियो । मानौँ कुनै प्रतापी राजाको भव्य बजारजस्तै । लुम्बिनी ऐश्वर्यले भरिभराउ देखियो ।

वनक्रीडाको रहर भयो रानीलाई । मन्त्रीहरुले मायादेवीलाई सालवनमा लिएर गए । रानी मङ्गलसालमुनि पुगिन् । उनलाई सालको हाँगा समाउन मन लाग्यो । निदानकथा उल्लेख गर्छ, सा मङ्गलं सालमूलं गन्त्वा सालसाखायं गण्हितुकामा अहोसि । सालको हाँगा झुकेर उनको हात नजिकै आइपुग्यो ।  दाहिने हात फैलाएर हाँगो समाइन् मायादेवीले । त्यही समयमा प्रसव वेदना उत्पन्न भयो । साडीको पर्दा बनाइयो । पुरुषहरु त्यहाँबाट पर गए ।

पुत्रलाभ भयो । चार महाब्रह्मा सुनको जालो लिएर त्यहाँ उपस्थित थिए । उनीहरुले बोधिसत्वलाई त्यस जालोमा लिए । माता मायादेवीका अगाडि उपस्थित भएर महाब्रह्माले भने–  खुसी हुनुहोस् माता, तपाईंलाई महाप्रतापी पुत्रलाभ भएको छ। 

मानौँ, भर्खरै प्रवचन सकेर धर्मासनबाट ओर्लँदै गरेको प्रवक्ताजस्तै । सिँढीबाट ओर्लंदै गरेको व्यक्तिजस्तै  । दुवै हात र पाउहरु फैलिएका । शुद्ध रेशमी कपडामा राखिएको चम्किलो मणिजस्तै । बोधिसत्व रगतादि फोहरसहित जन्मनुभएन । आकाशबाट दुई पानीका धाराहरु प्रकट भए । एउटा चिसो र अर्काे उष्ण । बोधिसत्व र वहाँकी मातालाई शितलताको अनुभूति भयो ।  
चार महाराजहरुले मृगको सुकोमल छालामा बोधिसत्वलाई लिए । त्यसपछि मानिसहरुले दोसल्लाले बनेको गद्दामा बोधिसत्वालाई लिए । मानिसहरुको हातबाट मुक्त भएर बोधिसत्व उभिनुभयो । र, पूर्वदिशामा हेर्नुभयो ।

अनन्त ब्रह्माण्ड मानौँ एक आँगनजस्तै बनेर बोधिसत्वमा केन्द्रित भयो । देवता र मनुष्यहरुले चन्दन र फूल वर्षाएर पूजा गरे । उनीहरुले भने– ”महापुरुष, यहाँ तपाईंसमान नै कोही छैन भने तपाईंभन्दा ठूलो को नै होला ? यसै क्रमले बाँकी तीन दिशामा पनि बोधिसत्वले निरीक्षण गर्नुभयो । आफूसमान कोही देखिएन ।

त्यसपछि बोधिसत्व उत्तरदिशामा सात पाइला हिँड्नुभयो । महाब्रह्माले सेतो छाता ओढाए । सुयाम नामक देवताले चँवर हम्किए । अन्य देवताहरुले बाँकी राजकीय सामग्रीहरुका साथ अनुगमन गरे । सातौँ पाइलापछि वहाँले उद्धोष गर्नुभयो– अग्गोहमस्मि लोकस्स, जेट्ठोहमस्मि लोकस्स, सेट्ठोहमस्मि लोकस्स, अयमन्तिमा जाति, नत्थिदानि पुनब्भवो । अर्थात्, लोकमा अग्र पुरुष म नै हुँ, लोकमा ज्येष्ठ पुरुष म नै हुँ, यो अन्तिम जन्म हो, यसपछि कुनै जन्म हुनेछैन ।

जम्मा तीन पटक बोधिसत्वले जन्मँदासाथ बोल्नुभएको छ । पहिलो, महोसध पण्डितका रुपमा जन्म लिँदा । दोस्रो, वेस्सन्तर राजकुमार भएर जन्मिँदा । तेस्रो, यो अन्तिम जन्ममा ।

यस पटक पनि बत्तीस शुभ लक्षणहरु देखा परे । माताको गर्भमा प्रतिष्ठित हुने बेलामा जस्तै । राहुलमाता यशोधरा त्यही दिन जन्मिइन् । सारथि छन्न, अमात्य कालुदायी, राजकुमार आनन्द पनि । हात्ती आजानीय र  घोडा कन्थक जन्मिँदा उता महाबोधि वृक्ष अङ्कुराउँदै थियो । बहुमूल्य रत्नले भरिएका चार घडाहरु फेला परे । कपिलवस्तु र देवदह दुवै तिर विशेष खुसियाली छायो । बोधिसत्वलाई कपिलवस्तु लगियो । 

कपिलवस्तुमा कालदेवल
कपिलवस्तुमा शुद्धोदन महाराजलाई पुत्र प्राप्ति भएको छ । ती कुमार बोधिवृक्षमुनि बसेर बुद्ध बन्नेछन् । यस्तो भन्दै देवताहरुले उत्सव मनाइरहेका थिए । 

असित कालदेवल शाक्यकुलका पुरोहित थिए । शुद्धोदनका पिता सिंहहनुकै पालादेखि । शुद्धोदन राजकुमार हुँदा उनले शिल्पाचार्यको कार्यसमेत गरे । शुद्धोदन राजा हुँदा पनि उनी नै पुरोहित थिए । एकदिन उनले राजालाई भने, महाराज, प्रब्रजित हुन्छु । उनका लागि अलग्गै उद्यान तयार गरियो । त्यहीँ साधना गर्न थाले । कपिलवस्तुको राजपरिवारमा भोजनपान गर्थे । दिवाविहारका लागि हिमालयदेखि देवलोकसम्म पुग्थे । 

त्यस दिन कालदेवल देवलोक पुगेका थिए । देवताहरुलाई त्यति धेरै खुसी देखेर उनले सोधे– किन हो तपाईंहरु यति धेरै सन्तुष्ट भएर क्रीडा गरिरहनुभएको ? त्यसको कारण बारे मलाई पनि बताउनुहोस् । देवताहरुले भने– मित्र, शुद्धोदन राजाका छोरा जन्मिए । उनी बोधिवृक्षमुनि बुद्ध बन्नेछन् । र, धर्मचक्रप्रवर्तन गर्नेछन् । तिनको अनन्त बुद्धलीला देख्न र धर्म सुन्न पाइने भयो  । यसैले हामी यति खुसी छौँ ।

तपस्वी कालदेवल तुरुन्त कपिलवस्तु तर्फ हानिए । उनी शुद्धोदनको दरबारमा प्रवेश गरे । र, निर्धारित आसनमा बसे । कालदेवललाई हतार थियो । भने, महाराज, तपाईंलाई पुत्रलाभ भएछ, हेरौँ । 

राजाले छोरालाई कालदेवलतर्फ बढाए । शिशुका पाउ कालदेवलका जटामा परे । कालदेवलका पनि वन्दनीय बोधिसत्व । बोधिसत्वको शिर कालदेवलको पाउमा राख्नुहुँदैनथ्यो । त्यस्तो भएको भए उनको शिर टुटेर सात टुक्रा हुन्थ्यो । तपस्वीले पनि जानाजान आफूलाई नष्ट गर्न चाहेनन् । उठेर बोधिसत्वलाई अञ्जलिबद्ध प्रणाम गरे । यो सबै देखिरहेका राजा स्वयंले पनि पुत्रको वन्दना गरे । 

कालदेवलको शोक 
कालदेवलले शरीरलक्षण विचार गरे । र, आवर्जन गरे, बुद्ध बन्छन् कि बन्दैनन् ?  । निश्चय गरे कि अवश्य बुद्ध बन्नेछन् । तपस्वी मन्द मुस्कुराए । फेरि विचार गरे– यिनी बुद्ध बन्दा मैले देख्न पाउँछु वा पाउँदिनँ ? देख्न पाउँदिनँ । अगाडि नै मृत्यु हुनेछ । र, अरुपलोकमा जन्मनेछु । त्यहाँ हजारौँ बुद्धहरु गए पनि ज्ञानप्राप्त गर्न असम्भव छ । यस्ता अद्भुत पुरुष बुद्ध बनेको मैले देख्न नपाउने भएँ । यसले मलाई धेरै हानि हुने भयो ।

कालदेवल रुन थाले । मानिसहरुलाई अचम्म लाग्यो । अघि भर्खर मुस्काएका तपस्वी आँशुका धारा बगाइरहेका थिए । भन्ते, हाम्रा आर्यपुत्रलाई कुनै सड्ढट त छैन ? मानिसहरुले सोधे । 
यिनलाई कुनै सड्ढट छैन । अवश्य बुद्ध बन्नेछन् । ऋषिको सहज उत्तर ।
त्यसो भए तपाईं किन रुनुभएको हो ?
यस्ता अद्भुत पुरुष बुद्ध बनेको देख्न पाउनेछैन । यो मेरो लागि ठूलो हानि हो । म मेरै बारे चिन्ता गरेर रोएको हुँ ।
भाञ्जा नालकलाई भावी बुद्धका नाममा प्रब्रजित हुन प्रेरित गरे कालदेवलले । अनि सुरु गरे हिमालयको यात्रा ।

नामकरण र भविष्यवाणी  
पाँचौँ दिनमा नामकरण गर्ने शाक्यकुलको परम्परा थियो । बोधिसत्वलाई पनि पाँचौँ दिनमा नुहाइयो । चार किसिमका सुगन्धले राजभवन लिपियो । लावासहित पाँच किसिमका फूलहरुले साजइयो । पानी नमिसाइएको दूधमा खीर पकाइयो । एक सय आठ ब्राह्मणहरु आमन्त्रित थिए । उनीहरुलाई राजभवनमा सत्कार गरियो । बसालियो । अनि सोधियो बोधिसत्वको लक्षण बारे– के हुनेछ यिनको भविष्य ?

त्यो समय आठ ब्राह्मणहरु प्रसिद्ध थिए । वेदका छ अङ्गमा पारङ्गत । उनीहरु– राम, ध्वज, लक्ष्मण, मन्त्री, कौडिन्य, भोज, सुयाम तथा सुदत्त हुन् । 

बोधिसत्व गर्भमा प्रतिष्ठित हुँदा पनि यिनीहरुले नै लक्षण विचार गरेका थिए । तीमध्ये सात ब्राह्मणहरुले दुई औँला उठाए । र, दुई सम्भावनाको भविष्यवाणी गरे, यस्ता लक्षण भएको पुरूष घरमा बसे चक्रवर्ती सम्राट् हुनेछन् । गृहत्याग गरेर प्रव्रजित भए भने बुद्ध बन्नेछन् । साथै, उनीहरुले चक्रवर्ती सम्राट्को वैभव बारे पनि चर्चा गरे । 

तीमध्ये कौडिन्य सबैभन्दा कान्छा थिए । उनले एक  औँला उठाएर भने– निश्चय नै यिनी बुद्ध बन्नेछन् । यिनको घरमा रहने कुनै सम्भावना नै छैन । 

उनको जन्मका कारण मातापिता र राज्यको कामना सिद्ध भएको थियो । अतः बालकको नाम सिद्धार्थ राखियो । पालिमा भनिएको सिद्धत्थको संस्कृतकरण सिद्धार्थ हो ।  यही नाम धेरैको मानिसको आध्यात्मिक प्यास मेटाइदिनाले अझ सार्थक बन्यो ।

लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयका उप–प्राध्यापक हुन् ।