
आइतवार , जेठ ५, २०८२
भैरहवा, ४ जेठ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) आधुनिक सहरको रुपमा विस्तार हुँदैछ । पूर्वाधार विकास तीव्र गतिमा अघि बढिरहेको छ । नगरलाई ‘सफा’, ‘हरियाली’ र ‘वातावरणमैत्री’ देशकै नमूना शहर बनाउने नगरपालिकाको अभियान छ । आर्थिक, पर्यटकीय र व्यापारिक गतिविधिमा तीव्रता आउँदा सवारी पार्किङ्गमा भने समस्या देखिएको छ । नगर क्षेत्रमा व्यवस्थित पार्किङ्ग स्थलको अभाव छ । सवारीसाधनहरु सडकमै पार्किङ्ग हुँदा दुर्घटनाको जोखिम उत्तिकै छ ।
बढ्दो यातायातको चापले ट्राफिक जाम हुने, पसल अगाडी पार्किङ्ग हुँदा किनमेलमा समस्या हुने, गाडी गुड्ने सडक ओगटेर पार्किङ्ग हुँदा सडक साँघुरो भइ यातायात सञ्चालन तथा पैदलयात्रीलाई हिंड्डुलमा कठिनाइ व्यहोर्नुपरेको छ । सवारी पार्किङ्गलाई व्यवस्थित गर्न नसके भविष्यमा ठूलो समस्याको रुपमा देखा पर्ने स्थानीय नारायण प्रसाद कोइराला बताउँछन् । उनी भन्छन्–‘अहिले सडकको एकतर्फ पार्किङ्गको लागि प्रयोग भइरहेको छ । तर, यो दिगो व्यवस्थापन होइन, सवारीको चाप बढ्दै जाँदा सडकले थेग्न सक्दैन ।’ समस्या बल्झिएपछि समाधानतर्फ लाग्नुभन्दा पहिले नै सवारी पार्किङ्गको मापदण्ड कार्यान्वयन गर्नुपर्ने उनको तर्क छ ।
भैरहवाको बुद्धचोकमा स्टेशनरी व्यवसाय गर्दै आएका कृष्ण खनाल अव्यवस्थित सवारी पार्किङ्गले दुर्घटनाको जोखिम बढाएको बताउँछन् । सर्विस लेनमा अटो÷टेम्पोहरु पार्किङ्ग र चालकहरुले जथाभावी यात्रुहरु तान्ने प्रवृतिले दैनिकजसो सानातिना दुर्घटनाहरु हुने गरेको उनले बताए । उनी भन्छन्–‘बसस्टप नजिक अटो चालकहरुको तछाडमछाड नै देखिन्छ, जसले गर्दा अन्य सवारीसाधन आवतजावतमा समस्या छ ।’ सवारीसाधनको पार्किङ्ग समस्यालाई दिगो रुपमा सम्बन्धित निकायले समाधान गर्नुपर्ने उनको भनाइ छ ।
विगत ७ वर्षदेखि अटो–रिक्सा चलाउँदै आएका सन्तवली पासी अटो–रिक्सा पार्किङ्गको निश्तित स्थान नभएको बताउँछन् । ‘यात्रुहरु जहाँ भेटिन्छन् त्यही जाने हो, बाटोमा पार्किङ्ग गर्दा कहिलेकाही ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेको छ ।’ अटो तथा रिक्साहरुलाई सम्बन्धित निकायले व्यवस्थित रुपमा चलाउने वातावरण मिलाउनुपर्ने उनले बताए ।
तीनपांग्रे सवारीसाधनलाई व्यवस्थित गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले २०७८ सालमा कार्यविधि बनायो । कार्यविधि अनुसार नगरमा सञ्चालित ई–रिक्सा÷अटोहरुले नगरपालिकाबाट सञ्चालन अनुमति लिनुपर्ने थियो । जसका लागि सवारी दर्ता, सवारीचालक अनुमति पत्र र स्थानीय हुनुपर्ने मुख्य बुँदा उल्लेख गरिएको थियो । कार्यविधिमा सञ्चालन अनुमति, रुट अनुमति पत्र, नवीकरण, भाडादर निर्धारण, सवारीधनी तथा चालकका लागि राहत कोषको व्यवस्था लगायतका विषयहरु समावेश गरिएको थियो । उल्लेखित विषयहरुमा सहमत भएका व्यवसायीहरु अन्यत्र दर्ता भएका सवारीसाधन नगर क्षेत्रमा सञ्चालनमा रोक लगाउने विषयमा भने सहमत हुन सकेनन् । नगरबाहिरका व्यवसायीहरुले आन्दोलनकै घोषणा गरेर पटकपटक नगरपालिकामा धर्ना समेत दिए ।
यता नगरपालिकाले नगरको सुन्दरीकरण गर्नका लागि भन्दै ई–रिक्सा, ठेला व्यवस्थापन गर्न खोज्दा आफ्नो अधिकार र व्यवसायमा धक्का लागेको बताउँदैै व्यवसायीहरुले चरणबद्ध आन्दोलन गरे । उनीहरुले भाडादरको समस्या, बाटोरुटको समस्या, करमा समस्या, सडक दुर्घटनाका कुरा, नवीकरणमा देखिएको समस्यालगायतका विषयमा समाधानको बाटो खोज्न नगरपालिकामा माग राखे ।
विवादकै बीचमा केही लचिलो बनेर भए पनि समाधानतर्फ लाग्ने नगरपालिकाको प्रयासले भने अहिले सार्थकता पाउँदै गएको छ । प्रमुख प्रशासकीय अधिकृत जनक थापा भन्छन्– ‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार अधिकार प्रयोग गरी कार्यविधि बनायौं । तर, कार्यान्वयनमै सकस भयो, अहिले कार्यान्वयनको चरणमा छौ ।’ सिद्धार्थनगरको एक्लो प्रयासले समाधान नभएपछि छिमेकी पालिकाहरुको समन्वय बैठक बसेर समाधान निकाल्ने प्रयास गरेको थापाले बताए । प्रमुख जिल्ला अधिकारीको रोहबरमा सियारी, मायादेवी, रोहिणी र ओमसतिया गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षा समिति, कर्मचारी र सरोकारवालाहरुको पटकपटक बसेको बैठकले समाधान दिएको उनले बताए ।
अहिले सिद्धार्थनगर नगरपालिकामा ४ सय ७३ वटा रिक्साले सञ्चालन अनुमति लिइ सञ्चालनमा रहेका छन् । दोस्रो चरण अन्र्तगत १ सय ८८ वटा निवेदन आएको थापाले बताए । त्यस्तै छिमेकी पालिकाहरुले पनि रिक्सा सञ्चालन अनुमतिका लागी दर्ता खुल्ला गरेको उनले जानकारी दिए । पहिलो चरणमा दर्ता, अभिमुखीकरण र रुट अनुमतिको काम भएको थापाले बताए । दोस्रो चरण अन्र्तगत सवारीसाधनहरुको सञ्चालन व्यवस्थापन तथा भाडा निर्धारण र नियमनका विषयमा गठित समितिले वर्कआउट गरिरहेको र छिट्टै कार्यपालिकाबाट निर्णय हुने उनले बताए ।
सिद्धार्थनगर नगरपालिकाले स–शुल्क निजी सवारी पार्किङ्गस्थल सञ्चालन मापदण्ड, २०७९ र ठेला व्यवस्थापन कार्यविधि २०७९ पनि बनाएको छ । सडकमा सवारीसाधनको पाकिङ्गले गर्दा नागरिकलाई परेको अवरोध तथा सो बाट उत्पन्न हुने दुर्घटनाबाट बच्नका लागी मापदण्ड बनाइएको हो । व्यापार व्यवसायमा समेत परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्नका लागि निजी क्षेत्रको सहभागीतामा स–शुल्क रुपमा सवारी पार्किङ्ग स्थान सञ्चालन गर्नका लागी मापदण्ड जारी गरिएको प्रस्तावनामा उल्लेख छ ।
सवारी पार्किङ्ग स्थल सञ्चालन भएपछि सडक खुल्ला हुने, सामानहरु खरीद गर्न आउने मानिसहरुका लागि हिंड्डुल गर्न पाउने भइ व्यापार व्यवसायमा वृद्धि हुने, सडक दुर्घटनामा न्यूनीकरण हुने उल्लेख गरिएको छ। त्यस्तै नगरको सौन्दर्यतामा वृद्धि हुने, सडक सूचना पाटी÷ट्राफिक चिन्हहरु देखिने, नगर क्षेत्रमा रहेका सडकहरु सरसफाईमा सहज हुने, व्यवसायका लागि उपयुक्त स्थानको विकास हुने, नगरको सडक सुरक्षित रहने तथा सवारीसाधन हराउने घटनामा कमी आउने’ उल्लेख छ । त्यस्तै नगर क्षेत्रमा तोकिएको स्थान, समय र संख्यामा मात्र ठेला व्यवसाय सञ्चालन गर्नका लागि समेत मापदण्ड बनाइएको छ ।
साघुँरो सडक, खुल्ला स्थान नहँनु, सार्वजनिक जग्गाको अभावले मापदण्ड अनुसार पार्किङ्ग व्यवस्थापन र ठेला व्यवस्थापनमा चुनौती रहेको प्रमुख प्रशासकीय अधिकृत थापा बताउँछन् । ‘अहिले सडकको एकतर्फ मार्किङ्ग गरी सवारी पार्किङ्गको व्यवस्था गरेका छौं, ठेला व्यवसायीको लागि नगरको दुई स्थानमा अनुमति दिएका छौं’ थापा भन्छन्–‘नगरपालिकाले सम्बन्धित व्यवसायीहरुसँग छलफल गरिरहेको र व्यवस्थापनका लागि गठित समितिले समेत अध्ययन गरिरहेको थापाले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले अटोरिक्सा र पार्किङ्गको समस्या जिल्लाभरी नै देखिएको बताइन् । अटो–रिक्साको हकमा सवारीचालक अनुमति पत्र र सवारीदर्ता प्रमाणपत्र (ब्लुबुक) को चेकजाँच गर्ने काम भइरहेको जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij