
बिहिवार , चैत्र १२, २०७७
बैतडी, १२ चैत ।
भागरथी हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तको डिएनए रिपोर्ट ‘म्याच’ आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए ‘म्याच’ भएको हो ।
प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाबको म्याचिङ्ग मिलेको जनाइएको छ। घटना लगत्तै केहीदिनपछि मात्र पक्राउ परेका दिनेशलाई पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा राखिएको छ ।
अभियुक्त दिनेशले आफ्ना बाबुसँग आफुले बलात्कार र हत्या नगरेको जिकिर गरेको कुरा बाहिर आएको थियो । उता गाउँपालिकाकै एक कर्मचारीले आफूलाई धम्क्याएर अपराध स्वीकार्न लगाएको पनि उनले बताएका थिए ।
तर भागरथीसँग दिनेशको डिएनए म्याच भएपछि दिनेश नै उक्त घटनामा संलग्न रहेको प्रमाण बलियो भएको प्रहरीले ठहर गरेको छ। दिनेशले पुर्पक्षका लागि सुधारगृह नपठाउँदासम्म आफूले नै बलात्कारपछि हत्या गरेको बयान दिएका थिए । यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो ।
गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा भोलिपल्ट स्थानीय जङ्गलमा वीभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो । प्रहरीले फागुन ५ गते दिनेशलाई पक्राउ गरि सार्वजनिक गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij