
बुधवार , जेठ ८, २०८२
भैरहवा, ७ जेठ । मुलुकको आर्थिक अवस्थालाई सुधार्न पर्यटन क्षेत्रको विकासलाई नै प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा पर्यटन क्षेत्रको धेरै सम्भावना रहेकोले यसको विकासका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उनीहरुले जोड दिए ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयको अध्ययन अवलोकन भ्रमण–२०८२ का क्रममा गोरखामा आयोजित छलफल कार्यक्रममा उनीहरुले पर्यटनबाटै अर्थतन्त्रको विकास हुने बताएका हुन् ।उनीहरुले आर्थिक समृद्धिको मुख्य आधार पर्यटन भएकोले पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिए अगाडि बढाउनुपर्ने बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनैपर्ने बताए । ‘अहिले उद्योगी–व्यवसायीको अवस्था ठीक छैन, मुलुकको अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रको विकास अपरिहार्य छ, ’उनले भने ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहेका यादवले निर्माणसम्पन्न भइसकेका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन भए पर्यटकको संख्यामा वृद्धि हुने र मुलुकको अर्थतन्त्रमा समेत सुधार ल्याउने बताए । उनले गौतमबुद्धको जन्मस्थल लुम्बिनी र लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर नगरपालिकामा आउन गोरखा जिल्लाबासीलाई आग्रह र निमन्त्रणा गरे ।
त्यस्तै गोरखा नगरपालिकाका सामाजिक विकास अधिकृत विजय भक्त उपाध्यायले पर्यटकको बसाई लम्ब्याउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले भैरहवा आउने पर्यटकलाई गोरखा र गोरखा आउने पर्यटकलाई भैरहवा लैजाने वातावरण बनाउनुपर्ने बताए । ‘गोरखा पवित्रभूमि र ऐतिहासिक स्थल हो, यहाँ धार्मिक पर्यटनको धेरै सम्भावना छन्, ’उनले भने ।
गोरखा होटल संघ, गोरखाका निवर्तमान अध्यक्ष निधि प्रसाद तिमिल्सिनाले गोरखा नगरपालिकाले गोरखा पर्यटन वर्ष सन् २०२५ मनाइरहेको बताए । उनले पर्यटन वर्षमा गोरखा भ्रमणमा आउने पर्यटकलाई विभिन्न छुट सुविधा रहेको बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव धनेश चन्द्र गुरुङ्ग लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij