२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बजेटको तयारीमा अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावमा विशेष ध्यान

बिहिवार , जेठ ९, २०८२

काठमाडौं, ८ जेठ । अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । विभिन्न क्षेत्रहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा व्यस्त भएको हो । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधनस्रोतको सीमा र प्राप्त सुझावहरुलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उहाँको टीम बजेट निर्माणमा केन्द्रित छ । 

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे मन्त्रालयहरु, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको थियो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग परामर्श गर्नुभएको थियो ।
अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरुसँग समेत परामर्श गरेको थियो ।

त्यसै गरी पूर्व अर्थ सचिवहरु, अर्थ विद्हरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका विषयतगत संघसंस्थाहरुसँग छलफल गरेको थियो । विकास साझेदारहरुसँग पनि छलफल भएको थियो । 

बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका पदाधिकारीहरु, नागरिकहरुले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । अर्थ मन्त्रालयले बजेट सम्बन्धी सुझाव दिनका लागि सार्वजनिक रुपमा आह्वान गरेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथिमकताबारे संसदमा छलफल भइसकेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा लगायतलाई क्षेत्रगत प्राथमिकतामा राखिएको छ । 

जेठ १४ गते संसदमा आर्थिक सर्वेक्षण र १५ गते बजेट वक्तव्य पेश हुनेछ ।