२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

तिलोत्तमामा एक वडा एक किलोमिटर कालोपत्रे सडक

शनिवार , जेठ ११, २०८२

  • 868
    Shares
  • 868
    Shares
  • तिलोत्तमा, १० जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राथमिकताका आधारमा सडक पुर्वाधार निर्माणमा जोड दिएको छ । नगरपालिकाले नगरस्तरीय गौरवका आयोजना तथा प्राथमिकताका आधारमा योजना छनौट गरी कार्यान्वयन गर्दै आएको छ । 

    नगरपालिकाले देखिने गरी विकास निर्माणका काम गर्ने उद्देश्य राखेर एक वडा एक किलोमिटर पक्की बाटोको अवधारणा लागू गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षबाट लागू गरेको योजनाअनुसार १७ वटा वडामा १७ वटा सडक निर्माण गरेको छ । 

    वडाबाट छनौट भएर आएका योजनालाई योजना बैंक हुंँदै कार्यान्वयनमा जाने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ५ वर्षमा कम्तीमा पनि एउटा वडामा ५ वटा राम्रो योजना बनुन भन्ने हिसाबले नगर प्राथमिकता प्राप्त योजनाको अवधारणा ल्याइएको नगरपालिकाले जनाएको छ । 

    एक किलोमिटर सडक निर्माणका लागि नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ । एक करोडभित्र ठेक्का सम्झौता गरी निर्माणको काम थालनी गर्ने गरेको नगरपालिकाका पूर्वाधार विकास शाखाका वरिष्ठ इञ्जिनियर प्रदिप वनले जानकारी दिनुभयो । 

    Tilottama Sadak 2.jpg


    गत आर्थिक वर्षबाट सुरु भएको ‘एक वडा एक बाटो, एक करोड एक किलोमिटर सडक’ कालोपत्रे गर्ने योजनालाई तिलोत्तमा नगरपालिकाले यस आर्थिक वर्षमा पनि तीव्रता दिएको छ । गाउँ–गाउँमा सहजरूपमा यातायात सुविधा पुर्याउने उद्देश्यले नगरपालिकाले १७ वडाका ग्रामीण सडकमा कालोपत्रे गर्ने काम सुरु गरेको हो । 

    नगर परिषद्ले निर्णय गरी गत आर्थिक वर्षबाट सञ्चालित अभियान अन्तर्गत चालु आर्थिक वर्ष २०८१/०८२ बाट बहुवर्षीय कार्यक्रम अन्तर्गत काम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले पहिलो चरणमा नगरपालिकाको प्राथमिकताका आधारमा छनौट भएका एक वडा एक किलोमिटर सडक कालोपत्रे हुने बताउनुभयो । यसबाहेक पनि क्रमशः सबै वडाका सबै सडक कालोपत्रे हुँदै जाने नगरप्रमुख खाणले जानकारी दिनुभयो । हरेक वडामा समयमै निर्माणसम्पन्न गर्ने गरी कामले गति लिएको नगरप्रमुख खाणको भनाइ छ ।

    ‘नगरपालिकाले सबै वडामा समान ढगंले विकास निर्माण गर्नुपर्दछ भन्ने मान्यता राख्दछ, कम्तीमा पनि ५ वर्षमा नगरमा देखिने खालका योजना बनुन्, नागरिकले पनि विकासको महसुस गर्न सकुन भनेर हामीले प्राथमिकताका आधारमा योजना छनौट गरी कार्यन्वयन गरेका हौं, मेयर खाणले भन्नुभयो ।’

    निर्माणमा गुणस्तरीयता कायम गर्न प्रयोगशाला परीक्षण गरिएका निर्माण सामग्री प्रयोग हुने गरी अस्फाल्ट प्रविधिबाट सडक निर्माण भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडामा कच्ची सडक निर्माणसँगै बाह्रै महिना सहजरूपमा यातायात सञ्चालनका लागि सडक कालोपत्रे गर्ने काम गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ ।

    गत आर्थिक वर्षमा १७ वटा वडा भित्र एक एक किलोमिटर सडक निर्माण भइ १७ किलोमिटर सडक कालोपत्र भएको छ । यस वर्ष पनि थप १७ किलोमिटर सडक कालोपत्रे हुनेछन् । नगरपालिकाले सुरु गरेको प्राथमिकतामा आधारित योजनाले वडाबासीमा खुसी ल्याएको छ । यस्ता खालका योजनाले टुक्रे योजनालाई बिस्थापित गर्न सहयोग गर्ने स्थानीय कृष्ण बस्यालको भनाइ छ । ‘अहिले पनि अधिकांश योजनाहरु टुक्रे योजनाको रुपमा रहेका छन्, उहाँले भन्नुभयो–‘सकेसम्म टुक्रे योजनालाई अन्त गर्दै देखिने खालका योजना निर्माण गर्नुपर्दछ ।’

    नगरपालिकाले सुरु गरेको एक वडा एक किलोमिटर कालोपत्रे सडकले नगरपालिकामा सडक पूर्वाधार निर्माणमा टेवा पुर्याएको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का स्थानीय शेरबहादुर थापाले बताउनुभयो । उहाँले विकासमा पछाडि परेका स्थानलाई लक्षित गरेर योजना छनौट गर्नुपर्नेमा जोड दिदै समावेशी विकासमा विशेष ध्यान पुर्याउनुपर्ने उल्लेख गर्नुभयो ।

    नगरपालिकाले यसका अलवा नगर गौरवका योजना तथा अन्य स–साना योजना पनि छनौट गरी कार्यान्वयनमा लगेको छ ।