
आइतवार , जेठ १२, २०८२
बुटवल, ११ जेठ । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गत रिजन पाँचका रोटरी क्लबहरूको संयुक्त पहलमा कर सचेतनासम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले उद्घाटन गर्दै करसम्बन्धी जानकारीमूलक प्रस्तुति दिनुभएको थियो । कर प्रणालीप्रति जनचेतना अभिवृद्धि भइरहेको भन्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन जरुरी रहेको उहाँले बताउनुभयो । कतिपय कर सम्बन्धी अनभिज्ञतालाई उजागर गर्न कार्यक्रम सफल रहेको समेत उहाँको दावी छ ।
कार्यक्रममा कर शिक्षा, पारदर्शीता र उत्तरदायित्वका विषयमा बृहत छलफल गरिएको थियो । कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले क्लबहरूबीचको समन्वयलाई संस्थागत गर्दै अगाडि बढ्ने प्रतिवद्धता अनुसार रचनात्मक कार्यहरुमा जोड दिदै आएको बताउनुभयो । यसप्रकारको कार्यक्रमबाट साझा उद्देश्यतर्फ उन्मुख बनाउन मद्दत मिल्ने समेत उहाँले बताउनुभयो ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले समुदायमा ७ वटा लक्षित क्षेत्रमा रहेर रोटरीबाट परियोजनाहरु चलाउँदै आएको बताउनुभयो । सामाजिक उत्तरदायित्वका साथसाथै आर्थिक शुद्धतामा समेत टेवा पुर्याउने गरी संयुक्त रुपमा कार्यक्रम गर्न सफल भएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा एजी खिमानन्द पाण्डेले रोटरी क्लबहरू केवल सेवा मात्र होइन, जिम्मेवार नागरिक निर्माणमा पनि भूमिका खेल्न सक्षम रहेको बताउनुभयो । करबारेको जानकारी नागरिक सचेतनाको महत्वपूर्ण आधार भएको भन्दै उहाँले यस किसिमको कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।
कार्यक्रममा रोटरी क्लब बुटवल चौतारीका नुमलाल पौडेलले यस्तो सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा अझै उपयोगी र व्यवहारिक कार्यक्रम ल्याउने समेत बताउनुभयो । चार्टड एकाउन्टेन्ट प्रमोद खनालले सहजीकरण गरेको कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गत रिजन पाँचका १९ वटा रोटरी क्लबहरूका करिब २ सय बढी रोटरीयनहरु सहभागीता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij