२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रशासनको निर्णयले बेलहिया नाका सुक्ने चिन्ता

सोमवार , जेठ १३, २०८२

भैरहवा, १२ जेठ । सडक संरचना कमजोर भएको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीसहितका सुरक्षा निकायले भन्सार विन्दुमै भारमिलान गर्ने निर्णयले भन्सार नाका सुक्दै गएको उद्योगी–व्यवसायीहरुले बताएका छन् । लामो समयको आर्थिक मन्दीकाबीच बल्लतल्ल उठ्न लागेको उद्योग व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने गरी प्रशासनले निर्णय गरेको उद्योगी–व्यवसायीहरुले दावी गरेका छन् । 

नेपाल भन्सार एजेन्ट महासंघ तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रेस विज्ञप्ती जारी गर्दै प्रशासनको निर्णयले उद्योगी व्यवसायीसहित लगानीकर्ताहरु निरुत्साहित भएको बताएका छन् । भन्सार महासंघले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भन्सार विन्दुमै भारमिलान गर्न निर्देशन दिएपछि अहिले भन्सार परिसरमा मनलाग्दी जरिवाना काट्न लागेको जनाएको छ । 

महासंघले विज्ञप्ती निकाल्दै ओभरलोडको नाममा भन्सार विन्दुमा नै मालबाहक ट्रक अन्यत्र जान रोक लगाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय अव्यवहारिक भएको जनाएको छ । महासंघका अनुसार भैरहवा क्षेत्रमा सञ्चालित उद्योगी तथा व्यवसायीहरुले भारतबाट आयात गर्ने औद्योगिक कच्चा पदार्थ एवं खाद्यान्न लगायतका अन्य मालसामान बोकेका ढुवानीका साधनहरु विगत केही दिनदेखि जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार ओभरलोडका नाममा रोक लगाइएको छ ।

‘प्रशासनको २०८२ जेठ ६ गतेको च.नं. ९०५३ को पत्र तथा यातायात व्यवस्था कार्यालय (सवारी) रुपन्देहीको जेठ ७ गतेको बिना चलानीको पत्र सामाजिक संजालबाट प्राप्त भए अनुसार भन्सार विन्दुमा आइसके पछि ओभर लोडको नाममा भन्सार विन्दुमा नै रोक लगाएको विषयमा यस क्षेत्रका उद्योगी व्यवसायीहरुबाट पर्न आएको गुनासोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘विगतको विषम परिस्थितिमा समेत यस नाकाले निर्वाध रुपमा आपूर्ति व्यवस्था सहज बनाई राष्ट्रकै प्रमुख व्यापारीक नाकाको रुपमा स्थापित भएको थियो । तर, हाल ओभरलोडका नाममा गरिएको निर्णय अव्यवहारिक छ ।’

महासंघका अध्यक्ष प्राचिन थैवद्वारा जारी विज्ञप्तीमा उद्योगको लागि चाहिने कच्चा पदार्थहरुलाई भन्सार विन्दुमा रोकिदिँदा र मालवस्तुहरु पल्टी गर्दा चाहिने कामदार र पूर्वाधारको अभावको कारण पल्टी गरेर लैजाउ भन्ने नीति उद्योगी व्यवसायीहरुको लागि एकदमै अव्यवहारिक देखिने जनाइएको छ । ‘देशका अन्य भन्सार नाकाहरुबाट समेत बिना अवरोध भारत तथा अन्य मुलुकबाट आयात गरिएका मालवस्तुहरु ढुवानी भइरहेको छ, भारतीय बाटो हुँदै हजारौं किलोमिटर यात्रा तय गरी आएका ढुवानीका साधनहरुलाई सीमा नाकादेखि एकदमै छोटो दुरीमा रहेको स्थानसम्म सामान लैजानका लागि पनि सामान पल्टी गर्न थप गाडी, आवश्यक पूर्वाधार तथा नाकाबाट मालसामान आयात गर्दा लोजेष्टिक कस्ट बढ्ने भएकोले लगानीकर्ताहरु निरुत्साहित हुन पुगेका छन्’, विज्ञप्तीमा भनिएको छ ।

महासंघले भारतीय गाडीहरुलाई आरसी बुक (ब्लुबुक) मा भएको तौललाई समेत मान्यता नदिइ आरसीअनुसारको तौलमा ओभरलोड भयो भनि हडल्स गर्ने, दुःख दिने, प्रदेश ऐन भन्दै १० हजार जरिवाना गरिएको जनाएको छ । ‘भन्सार कार्यालयबाट निस्कने सामानहरुमा समेत १–२ टन बढी भएमा जरिवाना गर्ने गरिएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘उद्योगको कच्चा पदार्थ लगायत उपभोग्य तथा सबै किसिमका मालसामानहरु बोकेका ढुवानीका साधनहरुलाई नीतिगत रुपमा सुधार गरी व्यवहारिक रुपमै मालसामान बोकेका ढुवानीका साधनहरु आफ्नो प्रतिष्ठानसम्म लैजाने व्यवस्था तथा अन्य अव्यवहारिक व्यवस्थालाई समेत सहज व्यवसायिक वातावरण निर्माणका लागि सहजीकरणका गर्न अपील गर्दछौं ।’

यता सिद्धार्थ उद्योग वाणिज्य संघले पनि स्थानीय प्रशासनको अव्यवहारिक निर्णयले उद्योग व्यवसाय संकटमा पर्न थालेको जनाएको छ । संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले प्रशासनले व्यवहारिक पक्ष ख्याल नगर्दा उद्योग तथा व्यवसायीहरु मर्कामा परेको बताउनुभयो । प्रशासनले ओभरलोड नियन्त्रणका नाममा प्रतिगाडी १० हजार जरिवाना तिराए बेलहिया नाका नै सुक्न सक्ने उहाँले बताउनुभयो ।