२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरोकारवाला निकायहरुसँग अन्तरक्रिया

बिहिवार , जेठ १६, २०८२

भैरहवा, १५ जेठ । माइती नेपाल भैरहवाले सरोकारवाला निकायहरुसँग अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बुधबार भैरहवामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विषयमा अन्तक्रिया गरेको हो । 

मानव बेचविखन तथा ओसारपसारको वर्तमान अवस्था तथा चुनौतीका बारेमा माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका लुम्बिनी प्रदेशका प्रमुख हरि ज्ञवाली, सिद्धार्थनगर नगरपालिका सामाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरी, इन्सेक रुपन्देही प्रतिनिधि रीमा बिसी, गैरसरकारी संस्था महासंघ रुपन्देही उपाध्यक्ष समिता मल्ल, सिविनकी विष्णु पौडेल, अधिवक्ता हेमा न्यौपाने, गोविन्द पन्थी, मनु नेपाली, पत्रकार कल्पना तिवारी, ईलाका प्रहरी कार्यालयका प्रतिनिधिहरु, सशस्त्र प्रहरीका प्रतिनिधिहरु लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । 

अशिक्षित, गरीब, घरेलु हिंसामा परेका एकल महिला, बेसहारा, रोजगारीको खोजीमा भौतारिरहेका महिला तथा युवती बेचबिखनको जोखिममा पर्ने गरेको कार्यक्रममा जनाइएको थियो । 

यौन व्यवसाय, घरेलु कामदार र श्रम शोषण, कृषि, कलकारखाना, उत्तेजक नाच, होटल रेष्टुरेष्ट, मसाज, पार्लर, सर्कस, माग्ने बनाउने, मानव अंग खरिदविक्रीका लागि  बेचबिखन ओसारपसार गरिने गरेको पाइएको कार्यक्रम संयोजक क्षेत्रीले बताउनुभयो । 

खासगरी प्रमुख गन्तव्यका रुपमा भारतको मुम्बई, दिल्ली, कोलकाता, पुना, सिलगुढी जस्ता ठाउँहरु ब्ोचबिखनका मुख्य गन्तव्य हुने गरेकोमा नयाँ गन्तव्यका रुपमा खाडी देशहरु कुबेत, साउदी अरब, बंगलादेश, चीन, दुबई, इराक पर्ने गरेका छन । 
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिलाई नेपालको कानूनमा १ महिनादेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यसै गरी ५० हजारदेखि ५ लाखसम्म जरिवानाको पनि व्यवस्था रहेको उहाँले बताउनुभयो ।  नियन्त्रणका लागि थुप्रै चुनौती रहेको पनि उहाँले बताउनुभयो । विगत दुई दशक अघिदेखि यसै क्षेत्रमा काम गरिरहनुभएकी संयोजक क्षेत्रीले सूचना प्राप्त गर्न गाह्रो हुनु, साक्षी गवाह र सबुद प्रमाणहरु संकलन गर्न ज्यादै कठिन हुनु, स्थानीयस्तरमा प्रतिकार र दबाब समूहको सक्रियताको अभाव जस्ता चुनौती रहेको उहाँ स्ष्पष्ट पार्नुभयो । समन्वयको अभाव, दक्ष जनशक्तिको अभाव, लैंगिक विभेद, घरेलु हिंसा, धार्मिक तथा सामाजिक कुरीतिहरु चुनौती रहेको उहाँले जानकारी दिनुभयो ।