
शुक्रवार , जेठ १७, २०८२
बुटवल, १६ जेठ । सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटप्रति सकारात्मक प्रतिक्रिया दिंदै नेपाल चेम्वर अफ कमर्स लुम्बिनीले स्वागत गरेको छ । बजेट उत्पादनमुखी कार्यक्रम, पूर्वाधार विकास, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनमा केन्द्रित रहेको भन्दै चेम्बरले खुसी व्यक्त गरेको हो ।
चेम्बर लुम्बिनीका अध्यक्ष टंक पोखरेलद्वारा जारी वक्तव्यमा निजी क्षेत्रले दिएका अधिकांश सुझावहरु समेटिएको बजेट पहिलो भएको उल्लेख गर्दै निराश बनेको निजी क्षेत्रलाई उत्साहित बनाएकोप्रति सरकारलाई धन्यवाद दिइएको छ ।
वक्तव्यमा सरकारले बजेटमार्फत निजी क्षेत्रलाई सहयात्रीको रुपमा लिएको सन्देश दिएको भन्दै आर्थिक मन्दिलाई हटाएर अर्थतन्त्र चलायमान बनाउन बजेटले भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरिएको छ ।
बजेटले कृषि, पर्यटन, उर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिदै विदेशी तथा स्वदेशी लगानी आकर्षणका उपायहरु अवलम्बन गरेकोले यस्ता कार्यक्रमबाट उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने अपेक्षा गरिएको वक्तव्यमा जनाइएको छ ।
त्यस्तै दीर्घकालिन आर्थिक वृद्धि र स्वदेशी उत्पादन विस्तारमा टेवा पुग्ने अपेक्षा गरिए पनि कार्यान्वयन हुनेमा आशंका ब्यक्त गरिएकोे छ । राजस्व संकलनका कतिपय योजनाहरु महत्वाकांक्षी देखिएकाले वजेट कार्यान्वयनमा चुनौती रहेको आशंका गरिएको छ ।
मूलतः युवा लक्षित स्टार्टअप कार्यक्रम, इतिहासमा पहिलोपटक छुट्याइएको शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्वाधार लगानीको ठूलो बजेटका साथै अनुत्पादक क्षेत्रमा हुने लगानीहरुलाई निरुत्साहित गरेकोप्रति चेम्बरले खुसी व्यक्त गरेको छ ।
त्यसै गरी साना व्यवसायीलाई लक्षित गरेर एक्जिम कोडका लागि आवश्यक पर्ने धरौटी खारेजी, दोहोरो कर खारेजी र कम्पनी दर्ता र नवीकरणमा लाग्ने महसुल हटाइएको भन्दै स्वागत गरिएको छ । त्यस्तै डिजिटल सेवामा लाग्ने भ्याट हटाइएको, विद्युतीय सवारी कर नबढाइएकोप्रति धन्यवाद दिइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij